३ महिनामा पुँजीगत खर्च ४.७ प्रतिशत मात्र

चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा १९ अर्ब १८ करोड ३४ लाख मात्र पुँजीगत खर्च, गत वर्ष यस्तो खर्च २९ अर्ब ४४ करोड ७५ लाख थियो ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Capital expenditure only 4.7 percent in 3 months

What you should know

काठमाडौँ — गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ८.३६ प्रतिशत पुँजीगत खर्च भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २१.७५ प्रतिशत चालु खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो खर्च गत वर्षको पहिलो त्रैमासको तुलनामा केही बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २ खर्ब ३० अर्ब १४ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २०.१८ प्रतिशत चालु खर्च भएको थियो । चालु आर्थिक वर्षमा चालु खर्च शीर्षकमा सरकारले ११ खर्ब ६६ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

गएको तीन महिनामा सरकारले २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको १६.८३ प्रतिशत हो । असोजसम्म सरकारले ३ खर्ब २१ अर्ब ५३ करोड र वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो । तीन महिनामा संकलन भएको राजस्व गत वर्षको सोही अवधिको तुलनामा थोरैले कम हो । गत वर्षको तीन महिनामा सरकारले २ खर्ब ५० अर्ब ४६ करोड अर्थात् वार्षिक लक्ष्यको १७.६५ प्रतिशत राजस्व संकलन भएको थियो ।

अहिलेको अप्ठेरो अवस्थामा पनि यत्तिको राजस्व संकलन हुनुलाई सन्तोषजनक मान्नुपर्ने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । ‘अहिलेको अवस्थामा पनि गत वर्षको भन्दा निकै कम मात्र राजस्व घटेको छ, । यसलाई सन्तोषजनक नै मान्नुपर्छ,’ उनले भने, ‘जेन–जी आन्दोलनमा निजी क्षेत्र पनि धेरै प्रभावित भएको अवस्थामा यत्तिको राजस्व संकलन हुनुलाई नराम्रो भन्न सकिँदैन ।’

जेन–जीले गरेको आन्दोलन र क्षतिको असर अर्थतन्त्रमा देखिन बाँकी नै रहेकाले अहिल्यै सरकारी वित्तको विश्लेषण गर्न नसकिने अर्थविद् डिल्लीराज खनालले बताए । उनका अनुसार यो आन्दोलन अघि पनि सरकारी वित्तको अवस्था सन्तोषजनक थिएन र अहिले पनि त्यसमा सुधार नभएको तथ्यांकमा देख्न सकिन्छ । आन्दोलनको प्रभाव राजस्व संकलन, पुँजीगत खर्चलगायत सबैमा पर्ने उनको भनाइ छ ।

‘यद्यपि नयाँ सरकारले सुधारको प्रयास गरेको देखिए पनि त्यसको सकारात्मक नतिजा आइसकेको छैन,’ उनले भने, ‘जेन–जीको आन्दोलन र त्यसको मार्गदर्शनअनुसार सरकारी वित्तमा मात्र नभएर समग्र सरकारी सेवामै जुन किसिमको सुधार हुनुपर्ने हो त्यो भएको छैन ।’ तेस्रो पुस्ताको आन्दोलनको बलमा आएको सरकार भएकाले सुधार र विकासको गतिले तीव्रता पाउने गरी काम गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, गएको तीन महिनामा सरकारले सरकारी ऋणको साँवा भुक्तानी र सार्वजनिक संस्थानमा लगानी (वित्तीय व्यवस्था शीर्षकमा) का लागि ८८ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक विनियोजित बजेटको २३.६१ प्रतिशत हो । यो खर्च पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले वित्तीय व्यवस्था शीर्षकमा ६९ अर्ब ९७ करोड रुपैयाँ अर्थात् १९.०५ प्रतिशत खर्च भएको थियो ।

यसैगरी, गएको तीन महिनामा सरकारको कुल आम्दानी (प्राप्ति) २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ छ । यो यस वर्षको वार्षिक लक्ष्यको १६.५१ प्रतिशत हो । तर, गत वर्षको तुलनामा भने यस वर्षको प्राप्ति सामान्य कम हो । गत वर्षको पहिलो तीन महिनामा सरकारको कुल प्राप्ति २ खर्ब ५५ अर्ब अर्थात् वार्षिक लक्ष्यको १७.३४ प्रतिशत हो । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानी (प्राप्ति) राजस्व उठाउने लक्ष्य राखेको छ ।

गएको तीन महिनामा सरकारको कुल खर्च पनि गत वर्षको सोही अवधिको तुलनामा बढी हो । यस वर्षको पहिलो तीन महिनामा सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको छ । जबकि गत वर्षको सोही अवधिमा यस्तो खर्च ३ खर्ब २९ अर्ब ५६ रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा करिब सवा खर्ब रुपैयाँले सरकारी वित्त घाटामा छ । उल्लिखित तथ्यांकका आधारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी वित्त १ खर्ब ११ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सरकारले कुल विनियोजित बजेटको १८.५६ प्रतिशत मात्र खर्च गरेको छ । जसअनुसार असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित बजेटको करिब साढे १८ प्रतिशत मात्र हो । यस वर्षको तीन महिनामा भएको कुल सरकारी खर्च गत वर्षको सोही अवधिको भन्दा केही बढी हो । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ कुल खर्च भएको थियो । यस वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully