सहिद जेन-जी परिवारका एक/एक जनालाई रोजगार दिने धितोपत्र ब्रोकर एसोसिएसनको घोषणा

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्षले आन्दोलनमा शहिद भएका परिवारका एक सदस्यलाई सदस्य संस्थामा रोजगारी दिने बताएका छन्।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Stock Brokers Association announces employment for one person from the family of martyr Gen-G

काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारका एक/एक जना सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा स्टक ब्रोकर्स एशोसिएसनले गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले आन्दोलनमा सहिद हुनु हुने परिवारका एक जना सदस्यलाई आफूहरूको एसोसिएसन अन्तर्गतका सदस्यको संस्थामा रोजगारीको अवसर प्रदान गरिने घोषणा गरेका हुन् ।  

आगामी कार्तिक ९ गते स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले आफ्नो ३२ औं स्थापना दिवस मनाउँदैछ । सो अवसरमा ब्रोकर्स एशोसिएसनले नेपालको पुँजी बजारको विकास र स्थायित्वका साथै यस मातहतका सदस्यहरूबाट प्रवाह हुने सेवाहरूलाई विस्तारित गरी धितोपत्र बजारको पहुँच विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

एसोसिएसन अन्तर्गत हाल ९० वटा धितोपत्र दलाल व्यवसायी र २ वटा धितोपत्र व्यापारीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्दै आएका छन् । यी धितोपत्र व्यावसायीहरुले नेपालको पुँजीबजारमा संलग्न रहेका ७१ लाखभन्दा बढी लगानीकर्ताहरूलाई धितोपत्र खरिदबिक्री तथा डिपोजिटरी सेवा प्रदान गर्दै आएका छन् ।

कान्तिपुर

Link copied successfully