राष्ट्रपति थार्मानले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार तथा खुल्लापनमा लगानी बढाउन अर्थमन्त्री खनाललाई विशेष सुझाव दिएका छन् ।
काठमाडौँ — विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा रहेका अर्थमन्त्री रामेश्वर खनालले आज कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मान शनमुगारात्नमसँग भेटवार्ता गरेका छन् ।
भेटमा राष्ट्रपति थार्मानले देशको तीव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।
अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरूप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए ।
अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष सहितका अधिकारीहरूसँग समेत अन्तर्क्रिया गरेका छन् । सो अवसरमा उनले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा सह्राना गरेका थिए ।
अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरेको बताए । अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरूले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिँदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकीय प्रबन्धहरूमा सुधारको खाँचो रहेको बताए ।
प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धहरूमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने आश्वासन दिए ।
