प्रदर्शनमा भएको क्षतिको झन्डै दुई अर्ब बिमा भुक्तानी

बिमा कम्पनीहरूमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँबराबरको दाबी परेको छ । त्यसमध्ये १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । यो परेको कुल दाबीको करिब ८.४२ प्रतिशत मात्र हो ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Insurance payout of nearly two billion for damages caused during the demonstration

What you should know

काठमाडौँ — २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको सवा २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा झन्डै २ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । यही असोज २८ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँबराबरको दाबी परेको छ । त्यसमध्ये १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । यो परेको कुल दाबीको करिब ८.४२ प्रतिशत मात्र हो ।

यही २८ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा ३६ करोड २५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । ठेकेदार तथा इन्जिनियरिङ बिमामा ३ करोड ८१ लाख र अन्य बिमामा २२ लाख रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । यो अवधिमा पारवहन बिमामा परेको दाबीमध्ये हालसम्म कुनै भुक्तानी भएको छैन । खासगरी ठूला क्षतिमा मूल्यांकनको काम नसकिएकाले परेको दाबीमध्ये धेरै कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले जनाएका छन् । खासगरी पूर्ण क्षति भएका सवारीसाधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको कम्पनीहरूको भनाइ छ । 

प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले यसअघि नै बताइसकेको छ । गत बुधबारसम्म बिमा कम्पनीहरूमा ३ हजार १ सय ६३ वटा दाबी परेका छन् । तीमध्ये २ हजारभन्दा बढी दाबी साना प्रकृति (२ करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने आफूहरूको तयारी रहेको नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीले बताएका थिए । यद्यपि हालसम्म कति साना दाबी भुक्तानी भए भन्ने तथ्यांक अझै पत्ता लागेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । ‘त्यो क्षतिको २०/२५ प्रतिशत मात्र बिमा भएको देखिन्छ । त्यसमध्ये एक/दुई ठूला दाबी हटाउने हो भने करिब १२/१३ प्रतिशतमा मात्र बिमा पहुँच पुगेको छ,’ क्षेत्रीले भने । सरकारी संरचनाको बिमा नै नभएको र धेरै निजी संरचना पनि बिमाको पहुँचभन्दा टाढा रहेकाले आफूहरूको अनुमानभन्दा धेरै कम मात्र बिमा दाबी परेको उनले बताए ।

प्रदर्शनका क्रममा भएको क्षतिमा परेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि बिमा कम्पनीहरूको भनाइ छ । यसअघि २०७२ सालको भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो । पछिल्लो प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७३.९२ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । हालसम्म बिमा कम्पनीहरूमा कुल २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको ३ हजार १ सय ६३ वटा दाबी सवारी बिमामा परेको छ । हालसम्म सवारी बिमामा मात्र २ हजा २ सय ५६ वटा दाबीमा ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको माग गरिएको छ ।

दाबीको आकलन गर्दा प्रदर्शनका क्रममा धेरै सवारीसाधनमा क्षति पुगेको देखिन्छ । सरोकारवाला भने परेको बिमा दाबीभन्दा धेरै संख्यामा सवारीसाधनमा क्षति भएको बताउँछन् । रकमका आधारमा हेर्दा भने सबैभन्दा धेरै दाबी सम्पत्ति बिमामा परेको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यस बिमाअन्तर्गत ६ सय ७३ वटा बिमा दाबी परेका छन् । यसमा १९ अर्ब ७१ लाख रुपैयाँ माग गरिएको छ । यो परेको कुल दाबीको करिब ८१ प्रतिशतभन्दा केही बढी हो । कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये (संख्या) सवारीसाधन र सम्पत्ति बिमा जोड्दा करिब ९५ प्रतिशत हुन आउँछ ।

प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै बागमतीमा रहेको देखिएको छ । सम्पत्ति धनीले क्षतिबापत् गरेको बिमा दाबीको तथ्यांकले यस्तो देखाएको हो । यसअनुसार बागमतीमा मात्र ५४ प्रतिशत अथवा १ हजार ७ सय ६ वटा दाबी परेका छन् ।

दोस्रोमा, ३ सय ९४ वटा दाबी कोशीमा परेका छन् । तेस्रोमा, मधेशमा ३ सय ६२ वटा दाबी परेका छन् । लुम्बिनीमा २ सय ५६, गण्डकीमा २ सय १३, सुदूरपश्चिममा २ सय ४ र कर्णालीमा २८ वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।

रकमका आधारमा पनि करिब ७७ प्रतिशत दाबी बागमतीमा परेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो तथ्यांकअनुसार परेको साढे २३ अर्ब रुपैयाँ दाबीमध्ये सबैभन्दा धेरै १७ अर्ब ५० करोड ५३ लाख रुपैयाँ बागमतीकै छ । यो कुल दाबी रकमको ७७ प्रतिशत हो । यसरी बिमा दाबीका लागि परेका उल्लिखित तथ्यांकका आधारमा संख्याका हिसाब आधाभन्दा बढी र रकमका हिसाबले करिब ८० प्रतिशत क्षति बागमतीमा परेको विश्लेषण गर्न सकिन्छ ।

अहिले पनि प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी आउने क्रम जारी नै रहेकाले अझै बढ्ने अनुमान छ । करिब २५ अर्ब रुपैयाँ बराबरको दाबी पर्ने बिमा कम्पनीहरूको अनुमान छ ।

कान्तिपुर

Link copied successfully