शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण गरियो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
What you should know
काठमाडौँ — सुनको मूल्यमा दिनहुँ नयाँ नयाँ रेकर्ड बन्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उत्तारचढावले स्थानीय बजारमा प्रत्यक्ष असर परेको छ । एक सातायता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ३४५ अमेरिकी डलरले बढेको छ । नेपाली बजारमा प्रतितोला २० हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले असोज २५ मा सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४०१८ अमेरिकी डलरमा कारोबार भइरहेको थियो । महासंघले नेपालमा प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोक्यो । शुक्रबार स्थानीय बजारमा मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३६० अमेरिकी डलरमा कारोबार भइरहेको थियो । यहाँ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण गरियो । शुक्रबारको मूल्य अहिलेसम्मकै उच्च हो ।
‘सुनको मूल्यले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा २०२६ डिसेम्बरसम्म प्रतिऔंस ५ हजार अमेरिकी डलरसम्म पुग्ने बताएका छन्, त्यसले थप अन्योलता छाएको छ,’ गहना विज्ञ तेजरत्न शाक्यले भने, ‘प्रतिऔंस ५ हजार अमेरिकी डलर पुगे नेपाली बजारमा तोलाकै ३ लाख रुपैयाँसम्म पुग्न सक्छ ।’
महासंघकै तथ्यांक अनुसार एक महिनाको अवधिमा प्रतितोला ४२ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ६७८ अमेरिकी डलर बढेको छ । महासंघले असोज १ मा मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३६८२ अमेरिकी डलरमा कारोबार भएको थियो । असोज १ मा यहाँ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । त्यसपछि निरन्तर बढ्दै असोज ३० मा प्रतितोला साढे २ लाख नाघ्यो । शुक्रबार मूल्य फेरि नयाँ रेकर्ड बनाउँदै प्रतितोला ७ हजार १ सय रुपैयाँ बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको हो ।
महासंघका अध्यक्ष अर्जुन रसाइलीले पनि अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले स्थानीय बजारमा अन्योल छाएको जनाए । उनले बजार मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको बताए । तीव्र रुपमा मूल्यवृद्धि भइरहँदा तिहार (मुख्यत धनतेरस)को कारोबार प्रभावित हुने व्यवसायीहरु बताउँछन् । लक्ष्मीपूजामा मुख्यतः सुनचाँदीका गहना पूजा गरिन्छ । सर्वसाधारणले आफ्नो क्षमता अनुसार सुनचाँदीको गहना, मूर्ति, सिक्का लगायत खरिद गर्छन् । तर मूल्यमा भइरहेको भारी वृद्धिले ढिक्का सुन खोज्ने सर्वसाधारण बढे पनि गहनाको बिक्री घटेको उनीहरु बताउँछन् । ‘ढिक्का सुनको माग बढे पनि कानुन अनुसार बिक्री गर्न मिल्दैन, तर गहनाको माग छैन,’ शाक्यले भने, ‘बेरुवा औँठी, सिक्का बिक्री भएपनि मूल्यमा आएको अस्वभाविक वृद्धिले धनतेरसमा सोचेजस्तो व्यापार हुने देखिँदैन ।’
यी कारणले बढ्यो सुनको मूल्य
व्यवसायीका अनुसार सुनको भाउ बढ्नुमा विभिन्न कारण छन् । विश्व अर्थतन्त्र अस्थिर हुँदा सुरक्षित लगानीका लागि लगानीकर्ताहरु सुनतर्फ आकर्षित छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुक भन्सार बढाउँदा पनि असर पर्यो । अर्को कारण अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)को नीति पनि हो । ‘बैंकले ब्याजदर रेट घटाउँदै ४ देखि ४.२५ बनाएको छ । अमेरिका बाहेक क्यानडा, बेलायत, युरोपियन युनियन, अस्ट्रेलिया, मेक्सिको, रूसलगायतका केन्द्रीय बैंकले पनि ब्याजदर घटाएका छन्,’ शाक्यले भने, ‘घट्दो ब्याजदरको कारण उच्च प्रतिफलको लागि लगानीकर्ताहरु सुनमा लगानी गरे ।’
यी बाहेक अर्को कारण भूराजनीतिक पनि हो । विभिन्न राष्ट्रबीच जारी युद्धले लगानीकर्ताहरु सुरक्षित लगानी गर्न सकेका छैनन् । लगानीकर्ताले कुनैपनि मुलुकको मुद्राको विश्वास गर्न सकेका छैनन् । यही कारण पनि सुनमा लगानी बढ्दो छ । माग बढ्दो छ । जसले गर्दा मूल्य बढाउन सहयोग गरेको शाक्यको भनाइ छ ।
‘विश्वका शक्तिशाली राष्ट्रले पनि डलरको सञ्चिति बढाउनुको सट्टा सुनमा लगानी गरेका छन्, सुनको मौज्दात बढाएका छन्, त्यही कारणले पनि मूल्य बढ्यो,’ शाक्यले भने, ‘बिहीबार सुनको मूल्य घट्ने संकेत देखिएता पनि राति अमेरिकी बजार खुल्दा मूल्य बढ्यो । कारण हो, न्युयोर्कमा आर्थिक मन्दीको हल्ला । त्यही कारण फेरि मूल्य बढ्यो ।’
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार गत वर्ष २०२४ मा विश्वका केन्द्रीय बैंकहरुले १०४५ टन खरिद गरेका छन् । विगत केही वर्षदेखि केन्द्रीय बैंकहरुले प्रत्येक वर्ष १००० टन हाराहारी सुन खरीद गर्दै मौज्दात गर्ने गरेका छन् । यसले पनि सुनको माग बढाउन र भाउ बढ्न सहयोग गरेको छ ।
एक सातायता सुनको मूल्य
असोज २५ – २ लाख ३८ हजार
असोज २६ – २ लाख ३८ हजार
असोज २७ – २ लाख ४० हजार ४ सय
असोज २८ –२ लाख ४० हजार ५ सय
असोज २९ – २ लाख ४८ हजार ९ सय
असोज ३० – २ लाख ५० हजार ९ सय
असोज ३१ – २ लाख ५८ हजार
