राजनीतिक हस्तक्षेप, प्रशासनिक आडमा स्थानीयले आयोजनामाथि गरेको आक्रमण, आन्तरिक अव्यवस्था, भूकम्प, बाढीपहिरो, कोभिडलगायतका घटनाले ढिलाइ भएको आयोजनाले दैनिक १०२ मोगावाट उत्पादन गरिरहेको छ ।
What you should know
काठमाडौँ — विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्धक रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । २०६८ मा विद्युत खरिद सम्झौता (पीपीए) भएर अनेक आरोह–अवरोह खेप्दै आएको आयोजनाले दैनिक १०२ मेगावाट विद्युत उत्पादन सुरु गरेको हो ।
राजनीतिक हस्तक्षेप, प्रशासनिक आडमा स्थानीयले आयोजनामाथि गरेको पटक–पटकको आक्रमण, आयोजनाको आन्तरिक अव्यवस्था, भूकम्प, बाढीपहिरो, कोभिडलगायतका घटनाले निर्माणमा ढिलाइ भएको आयोजनाले अहिले लक्ष्यअनुसार नै पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । तिब्बतबाट तातोपानी नाका हुँदै वहने भोटेकोशी नदीलाई भोटेकोशी गाउँपालिका–५ चाकुमा बनाएको बाँधबाट ७.५ किमि सुरुङमार्फत बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्माण गरेको विद्युतगृहमा पानी पठाएर १०२ मेगावाट विद्युत उत्पादन सुरु गरिएको हो ।
परीक्षणका रुपमा रहेको उक्त आयोजनाको विद्युत प्राधिकरणले खरिद गर्न थालेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीका अनुसार गत भदौ २७ बाट परीक्षण उत्पादन सफलतापूर्वक भइरहेको थियो । प्राधिकरणले उत्पादित विद्युत खरिद सुरु भएको जानकारी बिहीबार दिएको थियो ।
सिवाकोटीका अनुसार प्राधिकरणले गत असोज २० देखि नै उत्पादित विद्युतको भुक्तानी पाउने जानकारी दिएको छ । पूर्ण क्षमतामा उत्पादन भएमा मध्य भोटेकोशीले विद्युत बिक्रीबाट दैनिक करिब १ करोड २० लाख आम्दानी गर्नेछ । प्राधिकरणले बर्सातमा ४ रुपैयाँ ८० पैसा र सुक्खा मौसममा ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्नेछ । पुसदेखि चैतसम्मलाई सुक्खा मौसम मानिने गरेको छ ।
आयोजनाले विद्युत बिक्री गरेर पहिलो पटक असोजमा झन्डै १२ करोड आम्दानी गर्नेछ । उत्पादित विद्युत न्यु खिम्ती ट्रान्समिसन लाइनमार्फत ढल्केबर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको छ । पछिल्लो समय स्थानीयले विभिन्न माग राख्दै १४ महिनासम्म ट्रान्समिसन लाइन बनाउन नदिएपछि उत्पादनमा थप ढिलाइ भएको थियो । सुरुमा १२ अर्ब ३३ करोड २८ लाख लागत अनुमान गरिएको आयोजना तोकिएको समयमा पूरा गर्न नसक्दा लागत बढेर झन्डै साढे २२ अर्ब पुग्ने अनुमान गरिएको छ ।
सीईओ सिवाकोटीले लागत अहिले अनुमान मात्र गर्न सकिने बताए । मुख्य त कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको ब्याज र अमेरिकी डलरको दर वृद्धिका कारण आयोजनाको लागत बढेको उनको भनाइ छ । लागत वृद्धिका कारण नै प्रतिमेगावाट उत्पादन लागत २२ करोड पुग्ने अनुमान गरिएको छ । आयोजनाले कर्मचारी सञ्चयकोषलाई मात्र ब्याजसमेत झन्डै १५ अर्ब बुझाउनुपर्छ । सञ्चाय कोषबाट ९ अर्ब ऋण लिएकामा निर्माण ढिलाइ भएका कारण ब्याज मात्र ६ अर्ब पुगेको छ ।
सञ्चाय कोषको सावाँ-ब्याज ४० किस्तामा तिरिसक्नुपर्ने सम्झौता रहेको छ । किस्ता तिर्ने समय बढाउन सकिने आयोजनाले जनाएको छ । वार्षिक ५४ करोड २२ लाख विद्युत उत्पादन हुने लक्ष्य रहेको आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड आम्दानी हुने अनुमान रहेको छ । आयोजनाबाट सुक्खा मौसमका सबैभन्दा कम ३५ र बर्सातका बेला ११० मोगावाटसम्म उत्पादन गर्न सकिने सिवाकोटीले जानकारी दिए ।
भोटेकोशी कम्पनीमा चिलिमे, कर्मचारी सञ्चय कोष, स्थानीय लगानीकर्ता, प्रभावित बासिन्दा, विद्युत प्राधिकरण तथा सर्वसाधारणको सेयर रहेको छ । आगामी वर्ष सेयर सदस्यलाई निश्चित प्रतिशत बोनस दिन सकिने आयोजनाले जनाएको छ ।
उक्त आयोजना २०६८ मा भोटेकोशी कम्पनीका तत्कालीन सीईओ कुलमान घिसिङले सुरु गरेका हुन् । सुरुवाती चरणमा नै आयोजना अघि बढाउन निकै कठिन भएको थियो । आयोजनाको निर्माण भइरहेका बेला राधा ज्ञवालीले आफू ऊर्जामन्त्री भएका बेला घिसिङलाई आयोजनाको सीईओबाट हटाएकी थिइन् । उनलाई हटाएको भन्दै केही समय कर्मचारीले नै आयोजनाको काम नै बन्द गरेका थिए । त्यसैले अनेक अवरोधले घेरिएका कारण सन् २०१३ मा सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेकामा आयोजना पूरा गरेर विद्युत उत्पादन गर्न झन्डै डेढ दशक लागेको छ ।
आयोजना निर्माणका क्रममा संरचनामाथि स्थानीय राजनीतिक दलका कार्यकर्ताले आक्रमणसमेत गरेका थिए भने घिसिङलाई दुर्व्यवहार गरिएको थियो । स्थानीय सहयोग कहिल्यै नपाएको उक्त आयोजनाको आन्तरिक व्यवस्थापनको नेतृत्व सही रुपमा हुन नसक्दा पनि समस्या आउने गरेको थियो । आयोजनाको सुरुङलगायतका ‘सिभिल वर्क’को निर्माण चीनको ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरेको थियो ।
