डेढ दशकको प्रयासपछि मध्य भोटेकोशीले सुरु गर्‍यो व्यावसायिक उत्पादन

राजनीतिक हस्तक्षेप, प्रशासनिक आडमा स्थानीयले आयोजनामाथि गरेको आक्रमण, आन्तरिक अव्यवस्था, भूकम्प, बाढीपहिरो, कोभिडलगायतका घटनाले ढिलाइ भएको आयोजनाले दैनिक १०२ मोगावाट उत्पादन गरिरहेको छ ।

आश्विन ३१, २०८२

ऋषिराम पौड्याल

After a decade and a half of efforts, Madhya Bhotekoshi begins commercial production

What you should know

काठमाडौँ — विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्धक रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । २०६८ मा विद्युत खरिद सम्झौता (पीपीए) भएर अनेक आरोह–अवरोह खेप्दै आएको आयोजनाले दैनिक १०२ मेगावाट विद्युत उत्पादन सुरु गरेको हो । 

राजनीतिक हस्तक्षेप, प्रशासनिक आडमा स्थानीयले आयोजनामाथि गरेको पटक–पटकको आक्रमण, आयोजनाको आन्तरिक अव्यवस्था, भूकम्प, बाढीपहिरो, कोभिडलगायतका घटनाले निर्माणमा ढिलाइ भएको आयोजनाले अहिले लक्ष्यअनुसार नै पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ ।  तिब्बतबाट तातोपानी नाका हुँदै वहने भोटेकोशी नदीलाई भोटेकोशी गाउँपालिका–५ चाकुमा बनाएको बाँधबाट ७.५ किमि सुरुङमार्फत बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्माण गरेको विद्युतगृहमा पानी पठाएर १०२ मेगावाट विद्युत उत्पादन सुरु गरिएको हो । 

परीक्षणका रुपमा रहेको उक्त आयोजनाको विद्युत प्राधिकरणले खरिद गर्न थालेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीका अनुसार गत भदौ २७ बाट परीक्षण उत्पादन सफलतापूर्वक भइरहेको थियो । प्राधिकरणले उत्पादित विद्युत खरिद सुरु भएको जानकारी बिहीबार दिएको थियो ।

सिवाकोटीका अनुसार प्राधिकरणले गत असोज २० देखि नै उत्पादित विद्युतको भुक्तानी पाउने जानकारी दिएको छ । पूर्ण क्षमतामा उत्पादन भएमा मध्य भोटेकोशीले विद्युत बिक्रीबाट दैनिक करिब १ करोड २० लाख आम्दानी गर्नेछ । प्राधिकरणले बर्सातमा ४ रुपैयाँ ८० पैसा र सुक्खा मौसममा ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्नेछ । पुसदेखि चैतसम्मलाई सुक्खा मौसम मानिने गरेको छ । 

आयोजनाले विद्युत बिक्री गरेर पहिलो पटक असोजमा झन्डै १२ करोड आम्दानी गर्नेछ । उत्पादित विद्युत न्यु खिम्ती ट्रान्समिसन लाइनमार्फत ढल्केबर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको छ । पछिल्लो समय स्थानीयले विभिन्न माग राख्दै १४ महिनासम्म ट्रान्समिसन लाइन बनाउन नदिएपछि उत्पादनमा थप ढिलाइ भएको थियो । सुरुमा १२ अर्ब ३३ करोड २८ लाख लागत अनुमान गरिएको आयोजना तोकिएको समयमा पूरा गर्न नसक्दा लागत बढेर झन्डै साढे २२ अर्ब पुग्ने अनुमान गरिएको छ । 

After a decade and a half of efforts, Madhya Bhotekoshi begins commercial production

सीईओ सिवाकोटीले लागत अहिले अनुमान मात्र गर्न सकिने बताए । मुख्य त कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको ब्याज र अमेरिकी डलरको दर वृद्धिका कारण आयोजनाको लागत बढेको उनको भनाइ छ । लागत वृद्धिका कारण नै प्रतिमेगावाट उत्पादन लागत २२ करोड पुग्ने अनुमान गरिएको छ । आयोजनाले कर्मचारी सञ्चयकोषलाई मात्र ब्याजसमेत झन्डै १५ अर्ब बुझाउनुपर्छ । सञ्चाय कोषबाट ९ अर्ब ऋण लिएकामा निर्माण ढिलाइ भएका कारण ब्याज मात्र ६ अर्ब पुगेको छ । 

सञ्चाय कोषको सावाँ-ब्याज ४० किस्तामा तिरिसक्नुपर्ने सम्झौता रहेको छ । किस्ता तिर्ने समय बढाउन सकिने आयोजनाले जनाएको छ । वार्षिक ५४ करोड २२ लाख विद्युत उत्पादन हुने लक्ष्य रहेको आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड आम्दानी हुने अनुमान रहेको छ । आयोजनाबाट सुक्खा मौसमका सबैभन्दा कम ३५ र बर्सातका बेला ११० मोगावाटसम्म उत्पादन गर्न सकिने सिवाकोटीले जानकारी दिए । 

भोटेकोशी कम्पनीमा चिलिमे, कर्मचारी सञ्चय कोष, स्थानीय लगानीकर्ता, प्रभावित बासिन्दा, विद्युत प्राधिकरण तथा सर्वसाधारणको सेयर रहेको छ । आगामी वर्ष सेयर सदस्यलाई निश्चित प्रतिशत बोनस दिन सकिने आयोजनाले जनाएको छ । 

उक्त आयोजना २०६८ मा भोटेकोशी कम्पनीका तत्कालीन सीईओ कुलमान घिसिङले सुरु गरेका हुन् । सुरुवाती चरणमा नै आयोजना अघि बढाउन निकै कठिन भएको थियो । आयोजनाको निर्माण भइरहेका बेला राधा ज्ञवालीले आफू ऊर्जामन्त्री भएका बेला घिसिङलाई आयोजनाको सीईओबाट हटाएकी थिइन् । उनलाई हटाएको भन्दै केही समय कर्मचारीले नै आयोजनाको काम नै बन्द गरेका थिए । त्यसैले अनेक अवरोधले घेरिएका कारण सन् २०१३ मा सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेकामा आयोजना पूरा गरेर विद्युत उत्पादन गर्न झन्डै डेढ दशक लागेको छ ।

आयोजना निर्माणका क्रममा संरचनामाथि स्थानीय राजनीतिक दलका कार्यकर्ताले आक्रमणसमेत गरेका थिए भने घिसिङलाई दुर्व्यवहार गरिएको थियो । स्थानीय सहयोग कहिल्यै नपाएको उक्त आयोजनाको आन्तरिक व्यवस्थापनको नेतृत्व सही रुपमा हुन नसक्दा पनि समस्या आउने गरेको थियो । आयोजनाको सुरुङलगायतका ‘सिभिल वर्क’को निर्माण चीनको ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरेको थियो । 

ऋषिराम पौड्याल

Link copied successfully