बैंकमा अभूतपूर्व तरलता, लगानीयोग्य रकम ११ खर्ब ६१ अर्ब पुग्दा छैन ऋणको माग

गएका तीन महिनामा बैंकमा १ खर्ब ४० अर्ब निक्षेप संकलन, ३० अर्ब ऋण प्रवाह

आश्विन ३०, २०८२

यज्ञ बञ्जाडे

Unprecedented liquidity in banks, no demand for loans despite investable funds reaching Rs. 1.161 trillion

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिन दुई दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ११ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरैले बढ्न थालेको थियो । 

चालु आर्थिक वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरूमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा गरिएको थियो । सुरुका महिनाहरूमा कर्जा माग बढ्ने संकेत पनि देखिन थालेका थिए ।

बैंकहरूमा प्रतीतपत्र (एलसी) खुल्ने क्रम बढेको पनि थियो । तर २३ र २४ भदौको प्रदर्शनपछि सिर्जना भएको असहज परिस्थितिका कारण कर्जा विस्तार ठप्पजस्तै भएको बैंकहरू बताउँछन् । यही कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप लगातार बढिरहेको छ भने ऋण दिन मिल्ने रकम पनि थुप्रिँदै गएको छ ।

गत साता (यही असोज २६) सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ४४ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.५९ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब २१ रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ६१ अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ ।

तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगदै राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा सीडी अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ । यसकारण बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान (ऋण दिन) पाउँछन् ।

यी तथ्यलाई आधार मान्दा पनि असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थासँग करिब १० खर्ब ८६ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको जानकार बताउँछन् । गत साउनमा बैंक तथा वित्तीय संस्थामा १० खर्ब १२ अर्ब र भदौमा १० खर्ब ४६ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम थियो । असोज तेस्रो सातासम्म आइपुग्दा यस्तो रकम झनै बढेर ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो । 

Unprecedented liquidity in banks, no demand for loans despite investable funds reaching Rs. 1.161 trillion

गएको आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकामा असार मसान्तमा एक्कासि बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो । त्यसपछिका महिनामा पनि ऋण दिन मिल्ने थपिने क्रम रोकिएको छैन । चालु आर्थिक वर्षका अघिल्ला तीन महिना (साउनदेखि असोज २६ सम्म) मा बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

सोही अवधिमा ३० अर्ब मात्र कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप धेरैले बढेको छ भने कर्जा प्रवाह आधाभन्दा धेरैले कम हो । गत आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोज २८ सम्म) निक्षेप १ खर्ब २९ अर्बले बढेको थियो भने कर्जा प्रवाह ९७ अर्ब रुपैयाँ थियो । 

अहिले अर्थतन्त्रका बाह्य क्षेत्र बलिया रहेको, ब्याजदर निकै तल आइसकेकाले अब सरकारले लगानी विस्तारमा जोड दिनुपर्ने वित्तीय क्षेत्रका जानकार बताउँछन् । अर्थतन्त्रमा सुधारका संकेत देखिएको बेला जेन–जी प्रदर्शनपछि सिर्जना भएको असहज परिस्थितिले कर्जा माग बढ्न नसकेको वित्तीय क्षेत्रका जानकार परशुराम क्षेत्री कुँवरको भनाइ छ । ‘यति बेला समग्र समाजकै आत्मविश्वास खस्किएको छ । सबैभन्दा बढी निजी क्षेत्र र प्रहरीको आत्मविश्वासमा कमी आएको देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा कर्जा र लगानी बढ्ने भन्ने हुँदैन ।’

कर्जा माग बढाउने काममा मुख्य भूमिका वित्त नीति (सरकार) को हुन्छ, मौद्रिक नीतिले सहजीकरण गरिदिने हो । यसकारण अहिलेको अवस्थामा कर्जा विस्तार बढाउन सुरुमा सरकारले खर्च बढाउनुपर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । उनका अनुसार अहिले सरकारले ऋण उठाएरै भए पनि ठूला पूर्वाधार, छिटो प्रतिफल दिने राष्ट्रिय गौरवका आयोजनालगायतमा लगानी बढाउनुपर्छ । अर्थतन्त्रका धेरै सूचकले अहिले सरकारलाई लगानी विस्तारका लागि टेवा दिएको अवस्था रहेको उनको भनाइ छ ।

बजारमा लगातार तरलता बढेपछि राष्ट्र बैंकले पनि नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ । सोही क्रममा आइतबार पनि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिकेको छ । दसैंपछिको कार्यालय खुलेको पहिलो दिन गत मंगलबार ९० अर्ब र बुधबार २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । यसरी झिकिएको रकममध्ये आइतबारसम्म राष्ट्र बैंकसँग ७ खर्ब ६५ अर्ब रुपैयाँ छ । उल्लिखित रकम राष्ट्र बैंकले छोटो समयका लागि तानेकाले परिपक्व अवधिपछि सो रकम बजारमा आउनेछ । यसले बजारमा झनै अधिक तरलताको अवस्था सिर्जना हुने देखिन्छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । यो लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्थ्यो । तर गत असारसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा २ खर्ब ५१ अर्ब रुपैयाँले कम थियो ।

चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको राष्ट्र बैंकले गत वर्षका लागि साढे १२ प्रतिशतको लक्ष्य तोकेको थियो । अघिल्ला वर्षहरूमा कर्जा विस्तारको लक्ष्य पूरा नहुँदा नहुँदै पनि यस वर्ष फेरि १२ प्रतिशतको लक्ष्य तय गरिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाका कर्जा प्रवाहको अवस्था ठप्पजस्तै भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘अहिले कर्जा प्रवाह मात्र होइन, साँवा–ब्याज भुक्तानी पनि भएको छैन,’ उनले भने, ‘प्रतीतपत्र खुलेको छैन, ब्याज भुक्तानी भएको छैन, कर्जा माग छैन, समग्र बैंकिङ क्षेत्र ठप्पप्रायः छ ।’ ऋणीले ब्याज तिर्न नसकेको हो कि भनेर कम्तीमा एक महिना म्याद सार्न राष्ट्र बैंकलाई आग्रह गरिएको उनले जनाए । ब्याजदर घटेर ५० महिनायताकै कम अवस्थामा पुगेको छ ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully