होटल तथा रेस्टुराँ उद्योगमा निजी क्षेत्रको ५ खर्ब ४३ अर्ब २५ करोड लगानी रहेको छ भने १ लाखलाई प्रत्यक्ष रोजगारी मिलेको छ।
What you should know
काठमाडौँ — दसैंतिहारमा भीडभाड र भरिभराउ हुने सोल्टी होटल पस्ने कालीमाटीको सडक यस पटक शान्त छ । सुइट र कोठा गरेर २ सय ८५ वटा रुम भएको नेपालकै गौरव मानिने यो पाँचतारे होटलमा गत वर्ष यही समयमा कम्तीमा ८० प्रतिशत अकुपेन्सी थियो । बैंक्वेट हलमा डिनर, चौरमा सम्मेलन भइरहेका हुन्थे । तर, जेन–जी आन्दोलनपछि करिब ५० देखि ६० प्रतिशत अकुपेन्सीमा सोल्टी होटल चलिरहेको छ ।
कारण हो, जेन–जी आन्दोलन र त्यसपछिको मनसुनजन्य प्राकृतिक विपत्तिले नेपालको आतिथ्य सत्कार उद्योगमा पारेको असर । होटल संघ नेपालका अनुसार, सोल्टीको जस्तै अकुपेन्सी दरमा यतिबेला नेपालका पाँचतारे र पर्यटकस्तरका होटल चलिरहेका छन् । दसैंतिहारमा झिलिमिली बत्तीमा झकिझकाउ हुने सोल्टीमात्रै होइन, काठमाडौंका भव्य होटलहरू याक एन्ड यती, बौद्धस्थित हयात होटल, नयाँ बानेश्वरको एभरेस्ट होटललगायतका लबीहरू यतिबेला ‘सुनसान’ जस्तै देखिन्छन् ।
झन्डै ८ अर्ब लगानी भएको भनिएको काठमाडौंको नक्सालस्थित हिल्टन होटल जेन–जीको आन्दोलनको भोलिपल्ट भड्किएको प्रदर्शनमा आगजनीमा परेर बन्द छ । ‘जेन–जी आन्दोलनमा झन्डै देशभरका ३० होटलमा पूर्ण वा आंशिक क्षति भएको प्रारम्भिक तथ्यांक छ,’ संघका सीईओ टेक महतले कान्तिपुरसँग भने, ‘आगलागी र लुटपाटमा २५ अर्बको क्षति अनुमान गरेका छौं ।’
राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणले नेपालमा होटल तथा रेस्टुराँ उद्योगमा निजी क्षेत्रको ५ खर्ब ४३ अर्ब २५ करोड लगानी भइसकेको जनाएको छ । वार्षिक ३ खर्ब हाराहारीको होटल क्षेत्रले सेवा उत्पादन गर्दै आएको थियो । तर, सशस्त्र विद्रोहपछिका वर्ष नेपालमा हुने प्राकृतिक विपद् र आन्दोलनको प्रत्यक्ष असर होटल उद्योगमा पर्दै आएको व्यवसायी बताउँछन् ।
देशमा परिवर्तन चाहने र समृद्धि चाहने दुवै समूहको आन्दोलन वा हडतालको पहिलो निसाना होटल क्षेत्र नै हुने गरेको होटल एम्ब्यासडरका सञ्चालक योगेन्द्र शाक्यले जनाए । उनका अनुसार होटल क्षेत्रमा राजनीतिमा संलग्न व्यक्तिहरूले पनि लगानी गरेकै कारण यस पटकको आन्दोलनमा होटल क्षेत्र प्रदर्शनकारीको तारो बन्यो ।
जेन–जी आन्दोलनअघिसम्म भैरहवाबाहेक काठमाडौंसहित अन्य स्थानमा होटलको अवस्था राम्रै थियो । ‘जेन–जी आन्दोलनलगत्तै ३० देखि ४० प्रतिशत बुकिङ रद्द भएको थियो,’ सोल्टी होटलका उपाध्यक्ष तथा होटल संघ नेपालका सदस्य सुदर्शन चापागार्इंले भने, ‘तर जेन–जी आन्दोलन धेरै नतन्किएकाले ३–४ दिनमै होटल बिजनेसले पिकअप लियो । रद्द दर पनि घट्यो ।’
विपद् र आन्दोलनको गहिरो घाउ बोकेर बन्द भएका होटलहरू बिस्तारै खुल्दै छन् । रद्द हुने भनिएका बुकिङहरू पुनः फिर्ता भइसकेका छन् । ‘विदेशीहरू नेपाल आउने कन्फिडेन्समा कमी देखिन्छ । तर बुकिङ फेरि पुरानै लयमा फर्किन खोजेको देखिन्छ,’ उपाध्यक्ष चापागाईंले भने ।
काठमाडौंपछि लक्जरी तथा हाई–इन्ड पर्यटक जाने चितवन हो । ‘गत वर्ष यसै बेला मेघौली, जगतपुरमा कोठा पाइन्थ्यो,’ स्कल इन्टरनेसनल नेपालका द्वितीय उपाध्यक्ष योगेन्द्रबहादुर थापाले भने, ‘चितवन लक्जरी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । अमेरिकन, क्यानेडियन, बेलायतीहरू जति आउनुपर्ने थियो यसपालि देखिएनन् । झन्डै ३५ प्रतिशत बुकिङ रद्द भएको देखिन्छ ।’ बाराही हस्पिटालिटी समूहका निर्देशक थापाले चितवनमा यसपालि भारतीय पर्यटकको संख्या पोहोरको तुलनामा घटेको बताए ।
पर्यटकको संख्यामा धेरै गिरावट आएको भैरहवामा हो । होटल संघ नेपाल (हान) भैरहवाका अध्यक्ष सीपी श्रेष्ठले जेन–जीको आन्दोलनताका ९० प्रतिशतसम्म होटल बुकिङ रद्द भएको बताए ।
‘भैरहवामा भारतीय पर्यटकको बोलवाला हो । बेलिया नाकाबाट पर्यटक आउँथे । तर जेन–जीको आन्दोलनपछि भारतीय सञ्चारमाध्यममा नेपालको आन्दोलनको जसरी नकारात्मक खबर फैलियो, भटाभट बुकिङ रद्द भए,’ अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार, जेन–जीको आन्दोलनको भोलिपल्ट त्यहाँ ८ वटा होटलमा लुटपाट र आगजनी भयो । जहाँ राजनीतिक नेताहरूको नाम जोडिएका होटलमा चोरी र लुटपाट धेरै भएको थियो । उनले भैरहवामा अझै बुकिङको दर सुधार नभएको बताए ।
बुकिङ रद्दलगायतका समस्या होटल उद्योगमा सुनिन थालेपछि आइतबार नेपाल पर्यटन बोर्डले धेरै कामदार बेरोजगार बन्ने अनि पर्यटक नेपाल आउने वातावरणमा असर पर्न सक्ने भएकाले छलफल आयोजना गरेको थियो । पर्यटन बोर्डका सीईओ दीपकराज
जोशीका अनुसार जेन–जीको आन्दोलनपछि ‘माइस टुरिजम’ मा असर देखिएको बताए । माइस टुरिजम भनेको आममानिसहरूको मनोरञ्जनभन्दा बढी व्यवसाय, ज्ञान, नेटवर्किङ आदि उद्देश्यले हुने यात्रा (मिटिङ, इन्सेन्टिभ्स, कन्फ्रेन्स, एक्जिवेसन) विधाअन्तर्गत पर्यटन हो ।
‘माइस पर्यटन एकदमै कम देखिएको छ । बुकिङ रद्द हुनुपर्ने अवस्था त छैन । तर क्यानडा, अमेरिका र अस्ट्रेलियाले नेपालमा आफ्ना नागरिकलाई घुमफिर नगर्न जारी गरेका ट्राभल एडभाइजरीको पनि केही असर देखिन्छ । तर माहोल सुधार हुँदै गएकाले भारतलगायतका कतिपय देशले उनीहरूका ट्राभल एडभाइजरीको पुनःसमीक्षा गर्दै हटाइसकेका छन्,’ उनले भने ।
नेपालमा आउने पर्यटकले उडानमा अत्यधिक प्रयोग गर्नेमा बुद्ध एयरको सेवा पर्छ । बुद्धका निर्देशक रूपेश जोशीका अनुसार, अघिल्लो वर्षको दाँजोमा यसपालि विदेशीले खरिद गर्ने डलर फेयर टिकटमा १५ देखि २० प्रतिशत गिरावट आयो । ‘जेन–जीको आन्दोलनपछि हामीले विदेशीले खरिद गर्ने टिकटमा ५०–६० प्रतिशत असर पर्ने अनुमान गरेका थियौं तर त्यति खराब अवस्था पनि देखिएन ।’ उनका अनुसार, विदेशीहरू अत्यधिक यात्रा गर्ने पोखरा, काठमाडौं, चितवन र पर्वतीय उडानमा हो । बुद्धले दैनिक उडाउने ७ हजार हाराहारी यात्रुमा १३ देखि १५ सय विदेशी हुन्छन् । जो नेपालीले भन्दा झन्डै दोब्बर महँगो दर पर्ने डलर फेयरको टिकट किनेर यात्रा गर्छन् ।
पर्यटकको चहलपहल घटबढ भएको जानकारी दिने नेपालको अर्को क्षेत्र हेलिकोप्टर हो । नेपालमा ११ वटा कम्पनीका ३६ वटा हेलिकोप्टर छन् । मनसुन सकिएलगत्तै हेलिकोप्टरमा विदेशी पर्यटकको बुकिङ बढ्छ । ‘अघिल्लो वर्षको दाँजोमा १५ प्रतिशत हेलिकोप्टर चार्टर बुकिङमा कमी भएको देखिन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने,‘तर बिस्तारै समूहमा नेपाल भ्रमणमा आउने विदेशी बढेका छन् । शुक्रबारमात्रै ८५ जना अमेरिकी नागरिक चार्टर विमानमा नेपाल आएका छन् । बिस्तारै विदेशी बढ्दै गएको विमानस्थलमा देखिन्छ ।’
होटल संघ नेपालले केही समय स्थिर वातावरण भए पर्यटकको संख्या बढ्ने भनेको छ । किनकि यसपालि शरदयाममा गत वर्षको दाँजोमा धेरै आरोही नेपाल आइपुगेका छन् । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार, आइतबारसम्म ४९ वटा हिमाल आरोहणका लागि ७६ वटा देशका २ सय ४१ महिला र ७ सय ६१ पुरुष गरी १ हजार २ विदेशी नेपालका विभिन्न हिमाल आरोहणमा छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया सरकारले पर्यटन क्षेत्र चलायमान गराउन बैंकको ऋण तथा किस्ता बुझाउने तालिकालाई पुनर्तालिकीकरण गर्नुपर्ने बताउँछन् ।
‘सरकारले व्यवसायीलाई बैंकको किस्तामा कुनै स्किम ल्याइदिनुपर्छ,’ नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यसमेत रहेका थपलियाले भने, ‘अर्को महत्त्वपूर्ण निर्णय कार्की सरकारले हालै मितव्ययिताका नाममा सरकारका मन्त्रालयले होटलमा गर्ने इभेन्ट बन्द गरेको छ । यो खुला गरेर निजी क्षेत्रलाई सघाउनुपर्छ । यसको सन्देश राम्रो गएको छैन । यो निर्णयले होटल चलायमान हुन्छन् । सरकारका मन्त्रालयका अधिकांश हल आगलागीमा परेका बेला आएको यो निर्णय निजी क्षेत्रमैत्री भएन ।’
नेपालको होटल उद्योगमा करिब १ लाख व्यक्ति प्रत्यक्ष रोजगारीमा छन् । होटल क्षेत्रले वार्षिक २० अर्ब ६१ करोड कर्मचारी तथा लगानीकर्तालाई तलब, ज्यालालगायतका सुविधामा खर्च गर्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । यसअघि लोडसेडिङ, नाकाबन्दीका कारण इन्धन तथा कच्चा पदार्थको अभाव झेलेको होटल उद्योगले भूकम्प र कोरोना महामारीमा पनि हन्डर झेलेको थियो ।
यस पटकको जेन–जी आन्दोलन र मनसुनजन्य विपद्को असर भने तीनको दाँजोमा कमै भएकाले नेपाली होटल उद्योग भने आशावादी देखिन्छ । यसैको सेरोफेरोमा मंगलबार उनीहरू नेपाल राष्ट्र बैंकका गभर्नरसहितका अधिकारीहरूसँग छलफल गरेका छन् ।
