शरदकालीन हिमाल आरोहण : राजश्वमा नयाँ रेकर्ड, १२ सय विदेशी आरोही हिमालमा

यो सिजनमा नेपालसहित विभिन्न ७८ देशका १२ सय ३ आरोहीले ५१ वटा हिमाल आरोहण गर्न अनुमति लिएका छन् ।

आश्विन ३०, २०८२

सुरज कुँवर

Autumn mountaineering: New record in revenue, 1,200 foreign climbers in the mountains

What you should know

काठमाडौँ — नेपालमा भएका राजनीतिक अस्थिरता र मनशुनजन्य विपद्को उथलपुथलका बावजुद हिमाल आरोहणको क्षेत्रमा निरन्तर वृद्धि देखिएको छ । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार, २०२५ को शरद ऋतुमा विदेशी र घरेलु आरोहीहरूको संख्या बढेका कारण राजश्व पछिल्ला दुई वर्षको दाँजोमा बढेर झण्डै तेब्बरले वृद्धि भएको छ।

असोज २९ (बुधबार) सम्म नेपालसहित ७८ देशका १२ सय ३ आरोही (महिला २ सय ८३ र पुरुष ९ सय २०) ले ५१ वटा हिमाल चुचुरो आरोहण गर्न अनुमति लिएका छन् । यो संख्या अघिल्लो शरदयामको दाँजोमा थोरै कम भएपनि राजश्व संकलनमा झण्डै तेब्बर हो । अघिल्लो वर्ष विभागले १२ सय ८० जनालाई आरोहण अनुमति जारी गरेको थियो । जसबाट ७ करोड ६३ लाख सलामी दस्तुर संकलन गरेको थियो । 

पर्वतीय पर्यटनमा आवद्ध व्यवसायीहरूले सरकारले सलामी दस्तुर हेरफेर गरेपनि शदरयामको दस्तुर वशन्तकालीन सिजनको दाँजोमा थोरै भएको तर विभिन्न देशहरूले नेपालमा भ्रमणका लागि आफ्ना नागरिकहरूलाई ट्राभल एड्भाइजरी जारी गरेकै अवस्थामा अमेरिका, क्यानडा, चीन लगायत ७८ देशका विदेशी हिमाल आरोहणमा सहभागीता जनाउनुलाई धेरै सकारात्मक मानेका छन् । 

देशअनुसार हेर्दा चीन (१ सय ३), जर्मनी (१ सय), बेलायत (९२), फ्रान्स (८२) र नेपाल (८०) शीर्ष पाँच स्थानमा छन् । त्यसपछि रुस (७७), अमेरिका (७६) र पोल्याण्ड (६४) जना छन् । कुल मिलाएर ७८ देशका आरोहीहरूको सहभागिताले नेपालको साहसिक पर्यटनको निरन्तर लोकप्रियता देखाउने गरेको बताउँछिन् पाटा नेपालकी सदस्य सरिता लामा ।

‘पर्यटकलाई सही सूचना प्रवाह गरेर सरकारले सहजीकरणमा निजी क्षेत्रसँग समन्वय गरीदिए यो संख्या अझै बृद्धि हुन्छ,’ अफ द वाल ट्रेकिङ कम्पनीकी संचालक लामाले कान्तिपुरसंग भनिन् । यो सिजनमा विदेशी आरोहीहरूको सर्वाधिक रोजाईमा उत्तरी गोरखाको मनास्लु हिमाल सबैभन्दा लोकप्रिय चुचुरो बनेको छ ।

जहाँ बुधबारसम्म ३ सय ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । त्यसैगरी खुम्बु क्षेत्रको आमादब्लाम, हिमलुङ हिमाल, चुलु फार ईस्ट र सारीकुङ जस्ता चुचुरोहरूमा पनि ठूलो संख्यामा आरोहीहरूको सहभागिता रहेको छ । कुल राजश्वमध्ये सर्वाधिक राजश्व संकलन हुनेमा मनास्लु हिमालबाट १५ करोड ७६ लाख, आमा दब्बलबाट ३ करोड ८९ लाख र हमलुङबाट ९४ लाख सलामी दस्तुर संकलन भएको छ । 

पर्यटन विभागका अधिकारीहरूले बताएअनुसार, राजनीतिक उतारचढावका बाबजुद शरदयामको आरोहणकालागि अझै विदेशी नागरिकहरूको अनुमती लिने प्रक्रियामा छन् । जेन-जी आन्दोलनबीच पनि नेपालको शरद ऋतु पर्यटन बलियो देखिएको नेपाल पर्वतारोहण संघकी कोषाध्यक्ष सुमी मोक्तानले बताइन्।

‘जेन-जीको प्रदर्शनका बाबजुद पनि नेपालको शरद ऋतु पर्यटन सिजन मजबुत देखियो’, उनले भनिन्, ‘आरोहण अभियान र अनुमति बढेका छन्। नयाँ नीति, सुरक्षा मापदण्ड र अनुमति शुल्कमा सुधार आएको छ । भदौंको प्रदर्शन शहरकेन्द्रीत रहेपनि प्रमुख हिमाली मार्ग र पदयात्रा क्षेत्र प्रभावित देखिएन ।’ व्यवसायीहरूले आगामी वर्षको वसन्त सिजनमा पनि आरोहण अनुमति र सहभागितामा संख्या अझै वृद्धि हुने भनेका छन् ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully