रेमिट्यान्स ३३ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो साढे ३ खर्ब

गत भदौमा मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

आश्विन २९, २०८२

यज्ञ बञ्जाडे

Remittance increased by 33 percent, 3.5 billion was received in two months

What you should know

काठमाडौँ — गएको साउन र भदौमा मात्र रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । यस्तै, मासिक रूपमा हेर्दा गत भदौमा मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । 

मासिक रूपमा गत असारमा हालसम्मकै सबैभन्दा धेरै १ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको थियो । यद्यपि त्यसअघि र पछिका महिनामा पनि उच्च दरले रेमिट्यान्स आप्रवाह बढिरहेको छ । पछिल्लो दुई वर्षयता हरेक महिना खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्नुका साथै नेपालीको मुख्य श्रम गन्तव्य मुलुकका अर्थतन्त्रमा सुधार आएकाले नेपाल भित्रिने रेमिट्यान्स लगातार बढिरहेको अर्थविद्हरू बताउँछन् । 

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो बढी हो । गत वर्षको पहिलो दुई महिनामा ७६ हजार ४ सय ८५ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । 

केही महिनायता निर्यात बढिरहे पनि पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । यस्तो अवस्थामा रेमिट्यान्समा आएको निरन्तरको सुधारले अर्थतन्त्रका बाह्य सूचकहरू विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थिति लगातार बलिया बन्दै गएका छन् । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सबल बन्दै जाँदा सरकारलाई ढुक्क भएर पूर्वाधार निर्माण, पुनर्निर्माण तथा विकास खर्च विकासका लागि राम्रो अवसर प्राप्त भएको छ । सरकारले खर्च बढाउँदा आयात बढ्ने र आयातका लागि मुलुकमा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले अहिले धेरैभन्दा धेरै खर्च गर्नुपर्ने जानकार बताउँछन् ।

गत भदौसम्म मुलुकको विदेशी विनिमय (मुद्रा) सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा कुल विदेशी मुद्रा सञ्चिति ७.६ प्रतिशतले बढेको हो । गत असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले यस वर्ष सात महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो । 

त्यसो त मुलुकको विदेशी मुद्रा सञ्चितिले गएको ३६ महिना (३ वर्ष) देखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । रेमिट्यान्स बढिरहेको, आयात बढे पनि निर्यात उच्चदरले बढेको, पर्यटनलगायत क्षेत्र बिस्तारै सुध्रिँदै गएकाले तीन वर्षदेखि विदेशी मुद्रा सञ्चितिले हरेक महिना कीर्तिमान बनाउँदै आएको हो ।

जेन–जीको आन्दोलनले सिर्जना गरेको नयाँ परिस्थितिमा सरकारले चालु खर्चमा किफायती उपाय अवलम्बन गर्नुपर्ने र पुँजीगत खर्च बढाउनुपर्ने बेला लगातार बढिरहेकाले रेमिट्यान्स, बलिया बाह्य सूचक र न्यून ब्याजदर सरकार र निजी क्षेत्रका लागि लगानी विस्तार गर्ने सुनौलो अवसर भएको जानकार बताउँछन् । यस्तो अवस्थामा सरकारले फजुल खर्चमा पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ । यसका लागि व्यक्तिगत, संस्थागत तहबाटै खर्च प्रणालीमै किफायती चाहिन्छ । तर, विकास खर्चमा नियन्त्रण गर्नु हुँदैन र जथाभाबी खर्च गर्न नहुने विज्ञहरू बताउँछन् ।

गत भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) औसत १.८७ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो वृद्धिदर ३.८६ प्रतिशत थियो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको ३.७० प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ र ३.१९ प्रतिशत थियो । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०९, गैरमदिराजन्य पेय पदार्थको ३.९७ र दुग्ध पदार्थ तथा अन्डाको २.६६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७४, मरमसलाको ६.३१ र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ । 

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.७७, शिक्षाको ७.६७, कपडाजन्य तथा जुत्ता–चप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । सोही अवधिमा बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तै, गत भदौमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको भदौ मसान्तमा ४१ करोडले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा ९३ करोडले बचतमा छ । गत साउन र भदौमा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड थियो ।

यसैगरी, गत भदौ मसान्तमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully