बीपी राजमार्गको स्थायी निर्माण तिहारपछि

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गर्ने खण्डबाहेकमा ठेक्का भइसकेको छ । तर काम सुरु भएको छैन ।

आश्विन २९, २०८२

विमल खतिवडा

Permanent construction of BP Highway to begin after Tihar

What you should know

काठमाडौँ — गत वर्ष दसैंको मुखमै आएको बाढीपहिरोले बीपी राजमार्गको करिब १२ किलोमिटर बगायो । दसैंमा पूर्वी तराई जान तम्तयार यात्रुलाई यसले बाटो छेकिदियो । गत वर्ष असोज १० देखि १२ सम्म लगातार परेको पानीसँगै आएको बाढीले राजमार्गसँग पूर्वी तराईको सम्पर्क टुटेको थियो । घर जान सर्वसाधारण वैकल्पिक मार्ग खोज्न बाध्य भएका थिए । घण्टौं दुःखकष्ट झेलेर दसैंमा घर पुग्नुपरेको थियो । बाढीले क्षति गरेको १४ दिनपछि असोज २४ फूलपातीबाट सडक सञ्चालनमा आएको थियो । 

खोलो तर्काएर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको थियो । साँघुरो सडकका कारण यात्रुले दैनिक ट्राफिक जामको सास्ती खेप्नुको विकल्प थिएन । बाढी गएको एक वर्ष बित्दा पनि राजमार्गको स्थायी निर्माण सुरु हुन सकेन । सुरुमा बजेटको समस्या र पछि लामो ठेक्का प्रक्रियाले गर्दा समय लम्बिरह्यो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गर्ने खण्डबाहेकमा ठेक्का भइसकेको छ । तर काम सुरु भएको छैन । अहिलेसम्म अस्थायी मर्मतका भरमा राजमार्ग सञ्चालन हुँदै आएको थियो, यस वर्ष असोज १८, १९ र २० मा आएको बाढीले अस्थायी मर्मतका भरमा चलाइएको राजमार्ग फेरि बगाइदिएको छ । 

करिब चार किमि सडक नामनिसाना नरहने गरी बग्यो । बाढीले क्षति गरेको ६ दिनमा शुक्रबारबाट राजमार्ग सञ्चालनमा आएको छ । अहिले खोलो तर्काएरै यातायात सञ्चालन गरिएको छ । ठूलो पानी परे सवारी आवागमन ठप्प बन्ने जोखिम कायमै छ । चाडबाडका बेला यो राजमार्ग भएर करिब १० हजार सवारी साधन गुड्छन् । 

अहिले ३०.५ किलोमिटरमध्ये २५ किलोमिटर सडकमा मात्र ठेक्का भएको छ, बाँकी खण्डमा अझै सम्झौता भएको छैन । राजमार्गको स्थायी निर्माणको काम कहिले सुरु हुन्छ त ? सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेश भन्छन्, ‘केही खण्डको अब थाल्दै छौं, केहीको केही दिनअघिको बाढीले गरेको क्षति हेरेर छठपछि काम अघि बढाउँछौं ।’ केही दिनअघिको बाढीले नयाँ ठाउँमा पनि क्षति गरेको उनले बताए । ‘त्यो पनि हेर्छौं,’ उनले भने, ‘केही थप्नुपरे डिजाइनमा थपेर तिहारपछि काम थाल्छौं ।’ 

राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । हाल काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । 

चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता मितिले दुई वर्षभित्र काम सक्नुपर्ने सडक विभागले जनायो । 

यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्नेछ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको छ । ठेक्का सम्झौता भने अझै हुन सकेको छैन । ‘यस खण्डमा सर्भेको काम सकेर डिजाइन फाइनल हुँदै छ,’ उनले भने, ‘त्यसैले ठेक्का दसैंपछि मात्र हुनेछ ।’ जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्ड निर्माण हुन लागेको हो । ढिलो ठेक्का भए पनि जापानले गर्ने खण्ड सन् २०२७ जुलाईसम्म सवारीसाधन सञ्चालन योग्य बनाउने गरी काम हुने सडक विभागको भनाइ छ । बीपी राजमार्ग हाल इन्टरमिडियट (दुई लेनभन्दा तल) लेनको छ, अब दुई लेनको बन्नेछ ।

पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का आह्वान भई विभागमा आर्थिक तथा प्राविधिक मूल्यांकनका क्रममा रहेको बेला गत भदौको प्रदर्शनमा विभागमा भएको आगलागीबाट जलेर नष्ट भएको छ । फेरि कागजात बनाएर विभागमा पेस गरिएको सडक डिभिजन भक्तपुरका प्रमुख योगेशले जनाए । ‘यो टुंगिन १५ दिन लाग्न सक्छ,’ उनले भने । 

‘अर्को बर्खामा समस्या हुन दिँदैनौं,’ उनले भने, ‘अहिले जहाँ–जहाँ भत्किएको छ, त्यसको डिजाइन तयार छ, गत वर्ष स्रोत सुनिश्चितता पाउन र फेरि डिजाइन गर्न पनि समय लाग्यो, ठेक्का प्रक्रिया पनि लामो हुँदा ढिलाइ भयो ।’ 

बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ हो । यस खण्डको असार दोस्रो सातामा ठेक्का सम्झौता भएको हो । यस खण्डमा पनि छठपछि काम सुरु हुने सडक डिभिजन खाल्टे, सिन्धुलीले जनाएको छ ।

बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको छ । अर्को बर्खामा समस्या हुन नदिने गरी काम अघि बढाइने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘अब काम गर्ने समय हो,’ उनले भने, ‘स्थायी निर्माणको काम धमाधम सुरु हुन्छ, आउने बर्खामा समस्या हुन दिन्नौं ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully