जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : ऊर्जामन्त्री घिसिङ

ऊर्जा आयोगको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाको मूल्य निर्धारण प्रतिस्पर्धी, पारदर्शी र सर्वसुलभ बनाउन निर्देशन दिए ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Let's set a competitive rate for electricity purchase of hydropower projects: Energy Minister Ghisingh

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई आग्रह गरेका छन् ।

आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याए ।

आयोगका अध्यक्ष रामप्रसाद धितालले बुधबार प्रतिवेदन ऊर्जामन्त्री घिसिङसमक्ष पेस गरेका थिए ।

आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पीपीएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत् आयोजनाको पीपीएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पीपीए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस् ।’

नेपाल विद्युत् प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युत् आयोजनाको पीपीए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमश : ४.८० र ८.४० रुपैयाँ छ ।

नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रीत हुन आग्रह गरे ।

कान्तिपुर

Link copied successfully