चालु आर्थिक वर्षमा तातोपानी भन्सारले २ अर्ब ७५ करोड ८६ लाख राजश्व संकलन गरिरहँदा रसुवागढी नाकाबाट राजश्व संकलन भने शून्य छ ।
What you should know
काठमाडौँ — मुस्ताङको कोरला नाका सञ्चालनमा आएको ३८ दिनमा ११९४ वटा विद्युतीय गाडी भित्रिएका छन् । त्यस्तै लत्ताकपडा, जुत्ता चप्पल पनि यही नाका भएर भित्रि रहेको छ । रसुवागढी नाका भने असार २४ देखि ठप्प छ । त्यताबाट आउने सामान पनि अहिले कोरला नाका हुंदै भित्रिरहेको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका पनि अरनिको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरो गएर लामो समय बन्द रह्यो । गत असोज ८ बाट पहिरो पन्छाएपछि नाका सञ्चालनमा आएको थियो । यो नाका पनि लामो समय बन्द भएकाले दसैंका सामान कोरला नाका हुँदै नेपाल भित्राइयो । कोरला नाका सञ्चालनमा आएपछि राजस्व २ अर्ब २४ करोड ३ लाख रुपैयाँ संकलन भएको छ ।
यो नाका गत भदौ २१ देखि सञ्चालनमा आएको हो । चीनको लिजीसम्म चीनकै कन्टेनरले सामान ल्याउँछन् । त्यसपछि नेपालबाट गएका कन्टेनरले त्यहाँबाट सामान लोड गरेर मुस्ताङको कोरालासम्म ल्याउँछन् । चाडबाडका लागि विद्युतीय सवारी साधन बढी भित्रिए । दसैंपछि सामान लिन गएका १ सय ५८ वटा कन्टेनर चीनतर्फ गएकामा केही आएका र केही सामान लोड गरेर आउने क्रममै रहेको मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले बताए ।
‘चिसोले गर्दा समस्या भएको छ,’ उनले भने, ‘सामान लिन गएका कन्टेनरमा स्टार्ट नहुने समस्या रहेको र बीचबाटोमै रोकिने गरेका छन् ।’ यो नाकाबाट विद्युतीय गाडी धेरै आइरहेको उनको भनाइ छ । विद्युतीय गाडी चलाएर ल्याउन भने समस्या छैन । ‘हाईअल्टिच्युडले गर्दा कन्टेनरलाई सामान लिएर आउन समस्या भएको हो,’ उनले भने, ‘सडकको समस्या भने छैन, केही समय अघि पानी परेर सबैतिर समस्या हुँदा यहाँ केही भएन, निर्वाध रुपमा सामान आइरह्यो ।’ मुस्ताङबाट पोखरा जान पनि समस्या नभएको उनले बताए ।
चीनसम्म सामान लिन मुस्ताङका चालकहरु मात्र जान पाउँछन् । नाका कोरलामै हो र यहाँबाट चीनको लिजी ५ सय मिटर दूरीमा पर्ने उनले बताए । भन्सार कार्यालय भने नेचुङमा छ, जुन ३ हजार ९ सय मिटर उचाइमा पर्छ । नेचुङबाट कोरला नाका १४ किलोमिटर दूरीमा छ, जुन ४ हजार ६ मिटर उचाइमा छ । ‘सडकको समस्या नहुँदा सामान आयात गर्न समस्या छैन, तर चिसोले गर्दा सामान लिन गएका सवारी साधन विच सडकमै रोकिँदा भने समस्या हुने देखिएको छ,’ उनले भने, ‘जाडोमा नाका चलाउन गारो पर्छ कि जस्तो भएको छ ।’ विद्युतीय गाडीका लागि भने चार्जिङ स्टेसनको समस्या छ । सीमित कम्पनीले मात्र चार्जिङ स्टेसन राखेएको उनले बताए ।
यता तातोपानी नाका भने पटक–पटक पहिरोका कारण सडक अवरुद्ध भई बन्द भएर असोज ८ बाट पुनः सञ्चालनमा आएको छ । अहिले यो नाकाबाट सामान आरहेको तातोपानी भन्सार कार्यालय, लार्चाका भन्सार अधिकृत एवं सूचना अधिकारी रमेश साहले बताए । ‘चीनले थोरै १५/२० वटा मात्र कन्टेनर दैनिक छाड्ने गरेको छ,’ उनले भने, ‘जसमा धेरै फलफूल आउने गरेको छ ।’ विद्युतीय गाडीहरु थोरैको संख्यामा आइरहेको छ । बीचमा दसैंले गर्दा नाका बन्द रह्यो ।
‘दसैंपछि १९ गतेबाट नाका चल्यो,’ उनले भने, ‘अहिले विद्युतीय गाडी दैनिक २/३ वटा आउने गरेको छ ।’ चीनतर्फबाट गाडी कम छाडेको गुनासो व्यवसायीहरुबाट आएपछि यसबारे चिनियाँ पक्षसँग कुरा गरिरहेको उनले बताए । दैनिक नेपालबाट खाली कन्टेनर २० वटा जाने र त्यति नै संख्या उताबाट कन्टेनर आउने गरेका छन् । ‘अहिले तिहारका लागि बढी मात्रमा ओखर आइरहेको छ,’ उनले भने, ‘त्यसपछि विद्युतीय गाडी, लत्ताकपडा, जुत्ता चप्पल आइरहेको छ ।’ चालु आर्थिक वर्षको मंगलबारसम्म २ अर्ब ७५ करोड ८६ लाख राजश्व संकलन भएको उनले बताए । ‘चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड हो,’ उनले भने, ‘धेरै समय नाका बन्द भएकाले लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको हो ।’
रसुवागढी भन्सार नाका तीन महिनादेखि ठप्प छ । नाका जोड्ने बेलिब्रिज र सडक अझै बनीसकेको छैन । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै अहिले रसुवागढी नाका ठप्प बनेको हो । नाका सञ्चालनमा आउन पहिला ल्हेन्दे खोलामा बेलिब्रिज बन्नुपर्ने र त्यसपछि रसुवागढीदेखि–स्याफ्रुबेसी जोड्ने सडक सहज हुनु पर्छ ।
तिहारमा नाका खुल्न गारो रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । ‘बेलिब्रिज बनिसकेको छैन, ’ उनले भने, ‘समय लागिरहेको छ, नेपालतर्फको सडक पनि बनिसकेको छैन ।’ चीनबाट तयारी वस्तुहरु यो नाका हुँदै नेपाल आउँथ्यो । दैनिक करिब एक सय कन्टेर यो नाकाबाट ओहरदोहर गर्थे ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । ‘अहिलेसम्म १२ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य थियो, तर नाका नखुल्दा सम्भव भएन,’ उनले भने, ‘नयाँ आर्थिक वर्ष सुरुभएता राजश्व संकलन शून्य छ ।’
