चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०९, गैरमदिराजन्य पेय पदार्थको ३.९७ र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ — गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) औसत १.८७ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो वृद्धिदर ३.८६ प्रतिशत रहेको थियो ।
सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको ३.७० प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०९, गैरमदिराजन्य पेय पदार्थको ३.९७ र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७४, मरमसलाको ६.३१ र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.७७, शिक्षाको ७.६७, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ ।
सोही अवधिमा बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।