महंगीको चपेटामा सर्वसाधरण, निर्देशनमा सीमित बनेको बजार अनुगमन

बाणिज्य विभाग भन्छ, ‘गत बर्ष भन्दा महंगी बढेको छैन, कालोबजारी भएको छैन । खुल्ला बजार हो, हस्तक्षेप गर्न मिल्दैन’

आश्विन २८, २०८२

राजु चौधरी

In the grip of high prices, market monitoring is limited to general, directives

What you should know

काठमाडौँ — कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितीले असोज २७ (सोमबार) ब्रोकाउलीको औषत बिक्री मूल्य प्रतिकिलो १९८ रुपैयाँ तोक्यो । करिब ९ किलोमिटर दूरीमा रहेको सुकेधारा तरकारी बजारमा भने ब्रोकाउलीको मूल्य दोब्बर छ । सर्वसाधारणले एक किलो ब्रोकाउली ४ सय ५० रुपैयाँमा खरिद गर्छन्।

बन्दाको मूल्य कालीमाटी बजारमा प्रतिकिलो ५३ रुपैयाँ तोकिएको छ । खुद्रा बजारमा भने किलोको एक सय रुपैयाँमा बिक्री भइराखेको छ । ब्रोकाउली, बन्दा जस्तै स्थानीय काउली, बोडी, तिते करेला, फर्सी, रायो साँग लगायत तरकारीको मूल्य होलसेल नजिकै खुद्रा बजारमा दोब्बरमा बिक्री भइराखेको छ ।

...

किसानलाई चैते धान काट्न चटारो छ । यही बेला चामलको मूल्य बढ्न नपर्ने हो । तर बजारमा चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँदेखी डेढ सय रुपैयाँसम्म बढेको खुद्रा व्यवसायीहरु बताउँछन । एक महिनायता खाने तेलको मूल्य पनि लिटरमै १० रुपैयाँ बढेको छ । होलसेल व्यवसायी व्यवसायी सञ्जय फुयाँलका अनुसार सबै ब्राण्डमा प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढेको छ । होलसेलमा मूल्य बढेपछि खुद्रामा बढिहाल्छ । खुद्रा व्यापार संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले खुद्रामा प्रतिलिटर २० रुपैयाँसम्म बढेको जनाए । मैदा र आटाको मूल्यमा पनि प्रतिकिलो ५ रुपैयाँ बढेको उनले बताए ।

...

उज्यालोको पर्वको रुपमा चिनिने तिहार आउन अब एकसाता मात्रै बाँकी छ । यहीबेला वखर, नरिवल, किसमिस, काजु, बदाम, मखना, सुकमेल लगायतको उपभोग व्यापक हुन्छ । यी बस्तुको मूल्यमा पनि वृद्धि भएको छ । संघका कोषाध्यक्ष श्रेष्ठका अनुसार दूई महिनायता नरिवलको मूल्य किलोमा डेढ सय रुपैयाँ बढेर साढे ८ सय रुपैयाँमा बिक्री भइराखेको छ ।

ओखरको मूल्य किलोमा २० देखी २५ रुपैयाँ बढेर ५ सय रुपैयाँमा बिक्री भइराखेको छ । त्यस्तै, काजुको मूल्यमा किलोको ५०देखी एक सय रुपैयाँ बढेको छ । ‘भारतबाट आयात भएको काजुमा किलोको एक सय रुपैयाँ र भेतनामको काजुमा ५० रुपैयाँ बढेको छ,’ उनले भने, ‘मूल्य बढ्नुको कारण एकिन नभएपनि बाटोको समस्या पनि हुनसक्छ । होलसेलमा बढेपछि खुद्रामा पनि स्वभाविक बढीहाल्छ ।’

माथि उल्लेख गरिएका केही बुदाँहरु उदाहारण मात्रै हुन । चाडपर्व नजिकिएसँगै हरेक वर्ष बजारभाउ आकासिने गरेको छ । चाडपर्वमा खाद्य लगायतको बस्तुको माग बढ्ने हुदाँ व्यवसायीहरुले पनि दूईचार रुपैयाँ नाफा कमाउन मूल्य बढाउँछन । कोही भने चाडपर्वको मौका छोपेर अत्याधिक मूल्य बढाउने गरेका छन । पछिल्लो पटक बजारमा भएको मूल्यवृद्धि भने पूणर्त व्यवसायीले गराएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन ।

‘चाडपर्व नजिकिएलगत्तै विगतमा सरकारी संयन्त्रबाट अनुगमनलाई तिब्रता दिइन्थ्यो । अनुगमनकै लागि सामान्य प्रशासन मन्त्रालयले समेतबाट कर्मचारी खटाइएको अवस्था थियो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर यसपटक चाडपर्व लक्षित अनुगमन नै भएन । अनुगमन भएका फर्ममा कैफियत देखिएपनि निर्देशन बाहेक केही नगर्दा बजारमा अराजकता सिर्जना भयो । जसले गर्दा मूल्य मनोमानी रुपमा बढेको छ ।’

बजारमूल्यको अनुगमन गर्ने दायित्व बाणिज्य विभागको हो । बजारमा हुने मूल्यवृद्धि , कार्टेलिङदेखी सिलिन्डकेट नियन्त्रण गर्ने जिम्मा बाणिज्यकै हो । तर भदौं २३ र २४ मा भएको जेनजीको प्रदर्शनले अनुगमन नै सुस्त बनेको छ । प्रदर्शनपछि विभागले अनुगमन गरिहाले कैफियत देखिएपनि निर्देशन दिएर उन्मुक्ति दिने गरेको छ । ‘सुधार गर्न निर्देशन मात्रै दिनुको दुई कारण छन, पहिलो कारण व्यावसायीक बाताबरण बिर्गान चाहेको छैन । अर्कोकारण कारबाही गर्दा झडप भए अनुगमन टोलीलाई सुरक्षा कसले दिने भन्ने पनि हो,’ विभागका एक अधिकारीले भने, ‘माथिकै निर्देशन अनुसार अनुगमन हुन्छ । धेरै कैफियत भेटिए सामान्य कारबाही हुन्छ, नभए निर्देशन मात्रै दिने हो ।’

ती अधिकारीका अनुसार यसपटक दसैंको बिदामा अनुगमन नै भएन । १३ गतेदेखि दसैं बिदा भएकाले विभागको टोली बजार अनुगमनमा खटिएन । असोज ११ मा ४ व्यवसायीक फर्ममा अनुगमन गरेर ३ फर्मलाई सुधार गर्न निर्देशन र एक फर्मलाई विभागमा उपस्थित हुन निर्देशन दिएको थियो । त्यसपछि असोज २२ मा अनुगमन गर्यो । २० व्यवसायीक फर्ममा अनुगमन गर्दा एक फर्मलाई ५ हजार जरिवाना गरेको थियो । असोज २३ मा १४ फर्मममा अनुगमन गरेर ४ फर्मलाई सामान्य जरिवाना गरेको थियो । असोज २४ मा पनि १९ फर्ममा अनुगमन गरेर ४ फर्मलाई सामान्य जरिवाना गरेको थियो ।

‘भदौ २३ गतेसम्म अनुगमन राम्रौ थियो । २३ गते २६ व्यवसायीक फर्ममा अनुगमन गरेर ६ वटामा कारबाही भएको थियो । आन्दोलनसगै अनुगमन गर्न कर्मचारीहरु पनि डराए । भदौ ३१ मा एउटा फर्मलाई मात्रै अनुगमन भयो, र सुधार गर्न निर्देशन भयो,’ विभागका अर्का एक अधिकारीले भने, ‘त्यसपछिको बजार अनुगमन कारबाही भन्दा सुधार गर्न निर्देशन दिनेमा केन्द्रित रह्यो । बिगतमा दसैंमा पनि अनुगमन हुन्थ्यो, यसपटक गर्न सकिएन ।’

विभागका सुचना अधिकारी भरत प्रसाद आचार्यले भने मूल्य गतबर्ष भन्दा वृद्धि नभएको दाबी गरे । खुल्ला बजार नीतिका कारण हस्तक्षेप गर्न नमिल्ने जनाए । ‘मूल्य पोहोर भन्दा त्यति बढेको देखिदैन । होलसेलमा मूल्य बढेको छैन । अनुगमनको क्रममा कालोबजारी भएको देखिएको छैन,’ उनले भने, ‘विभागले अनुगमनको क्रममा सेम्पल हेर्ने हो । अनुगमन भएको पसलमा त्यति समस्या देखिएको छैन । व्यवसाय दर्ता भएका छन, समस्या भएकालाई कारबाही पनि गरेका छौ ।’

सामान खरिदमा सर्वसाधारण आफै जागरुक हुनुपर्ने उनले बताए । ‘सामान खरिद गर्दा बिल अनिवार्य लिनुपर्यो,म्याद सकिएको सामान खरिद गर्नुभएन,’ उनले भने । विभागले समस्या नभएको दाबी गरेपनि सर्वसाधारणहरुले भने मंहगीको मारमा छन । उपभोक्ताकर्मीहरु पनि अधिकाश पसलमा समस्या भएको दाबी गर्छन ।

‘विभागले अनुगमन नाम मात्रैको गर्दा केही नभेटिएको हो । बजारमा अधिकाश व्यवसायीक फर्ममा समस्या छ । बजार अराजक बन्दै गएको छ,’ उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली)ले भने, ‘तर अनुगमन नै प्रभावकारी छैन । कालोबजारी ऐन खारेज गरेर बजार मनलाग्दी भएको छ । उपत्यकासगै जिल्लामा व्यापाक ठगी भएको छ ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पनि मूल्यसगै गुणस्तरमा पनि ठगी भएको जनाए । तर बजारमा नियमन नै हुन नसकेको जनाए । ‘पसल अनुसार बस्तुको मूल्य फरक छ । दर्ता, नबिकरण छैन । तर सरकारी निकायबाट मूल्य र गुणस्तरको बिषयमा प्रभावकारी नियमन नै भएन,’ उनले भने, ‘अहिले भएपनि देखावटी मात्रै भएको छ । उपभोक्ताले अनुगमन भएको अनुभूति पाएको छैन ।’

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully