एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमति लिनुपर्ने

काठमाडौं, पोखरा, विराटनगर लगायतका १६ पालिकामा एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीले अबदेखि अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Companies dealing in real estate worth more than 3 crore rupees at a time should take permission

What you should know

काठमाडौँ — अब एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ । सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै देशभरका महानगर र उपमहानगरपालिकाभित्र कम्पनीमार्फत एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । 

सरकारले महानगर र उपमहानगरभित्र जतिसुकै क्षेत्रफलको घरजग्गा कारोबार कम्पनीमार्फत हुन्छ भने अनुमति लिनुपर्नेछ । सरकारले मालपोत ऐन को दफा २६ को 'क' र 'ख' प्रयोजनका लागि सूचना प्रकाशन गरेको राजपत्रमा उल्लेख छ ।

मालपोत ऐन को दफा २६ को 'क' मा घरजग्गासम्बनधी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने उल्लेख छ । सरकारले राजपत्रमा प्रकाशन गरी तोकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गासम्बन्धी कारोबार गर्दा इजाजत लिनुपर्ने उक्त दफामा उल्लेख छ । 

दफा २६ को 'ख'मा इजाजतपत्रको लागि निवेदन दिनु पर्ने उल्लेख छ । दफा २६ को 'ख' को उपदफा १ मा घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण, कागजात र दस्तुरसहित नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीसमक्ष निवेदन दिनुपर्ने उल्लेख छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई तोकेको छ  ।

सोही दफाको उपदफा ३ मा प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सम्बन्धित अधिकारीले तोकिए बमोजिमका सर्त उल्लेख गरी निवेदकलाई घर जग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र दिनु पर्ने उल्लेख छ । उक्त इजाजतपत्रको अवधि पाँच वर्षका लागि हुने दफा २६ को 'ख' को उपदफा ४ मा उल्लेख छ । 

मालपोत नियमावली २०३६ को दफा २३ को उपदफा 'ञ' मा मालपोत ऐनको दफा २६ को उपदफा क अनुसार प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरुबीच घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने उल्लेख छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले कम्पनीमार्फत हुने ३ करोड रुपैयाँमाथिको घरजग्गाको कारोबारका लागि अनुमति लिनुपर्ने बताए । 'व्यक्ति र कम्पनीबीच, कम्पनी-कम्पनीबीच तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत अनिवार्य गरिएको छ,' उनले भने, 'तत्काललाई व्यक्ति-व्यक्तिबीच हुने घरजग्गा कारोबारका लागि  भने कुनै इजाजत लिनुपर्दैन ।' हाललाई कम्पनीमार्फत हुने कारोबारलाई नियमन गर्ने प्रयास रहेको उनले बताए । 'बिस्तारै व्यक्ति व्यक्तिबीच हुने कारोबारलाई पनि औपचारिक भूमि बजारको संरचनामा ल्याउने सोच हो,' उनले भने ।

यी पालिकामा ३ करोड रुपैयाँमाथिका घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनुमति अनिवार्य :

काठमाडौं महानगरपालिका

ललितपुर महानगरपालिका

विराटनगर महानगरपालिका

विरगञ्ज  महानगरपालिका 

भरतपुर  महानगरपालिका

पोखरा महानगरपालिका

धरान उपमहानगरपालिका

इटहरी उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिका

जितपुर सिमरा उपमहानगरपालिका

कलैया उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिका

बुटवल उपमहानगरपालिका

घोराही उपमहानगरपालिका

तुल्सीपुर उपमहानगरपालिका

नेपालगञ्ज उपमहानगरपालिका

धनगढी उपमहानगरपालिका

कान्तिपुर

Link copied successfully