भैरहवाको आकाशमा नयाँ पाइलटको उडान अभ्यास

नेपाल वायुसेवा निगमका लागि एयरबसका प्रशिक्षक पाइलट दिपुराज जुआर्चनले नवप्रवेशी पाइलटहरू सुजन पुरी र अंकुल अर्यालाई काठमाडौँबाट खाली जहाज भैरहवामा लिएर त्यहाँबाट तालिम दिएका हुन् ।

आश्विन २८, २०८२

सुरज कुँवर

A new pilot's flight practice in the skies of Bhairahawa

What you should know

काठमाडौँ — नेपाल वायुसेवा निगमले एयरबस ए–३२० उडानमा प्रवेश गरेका नयाँ पाइलटलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बेस ट्रेनिङ (वास्तविक उडान तालिम) दिएको छ ।

निगमका लागि एयरबसका प्रशिक्षक पाइलट दिपुराज जुआर्चनले नवप्रवेशी पाइलटहरू सुजन पुरी र अंकुल अर्यालाई काठमाडौँबाट खाली जहाज भैरहवामा लिएर त्यहाँबाट तालिम दिएका हुन् । काठमाडौँमा अत्यधिक जहाजको चाप हुने र वरिपरि पहाड भएकाले खाली जहाजमा नयाँ पाइलटहरूलाई उडान तालिम दिन चुनौतीपूर्ण मानिन्छ ।

निगमको आन्तरिक उडान अन्तर्गत ट्विनअटर विमानका कोपाइलट पुरी र अर्यालाई फ्लिट प्रोगोसन (बढुवा) प्रक्रिया अन्तर्गत जहाजमा राखेर तालिम दिनुपर्ने भएपछि निगमले आइतबार भैरहवामा ट्रेनिङ फ्लाइट गरेको थियो । नेपालभित्रै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि निगमले जेट विमानका पाइलट कालागि भैरहवामा तालिम दिएको यो दोस्रो पटक हो ।

यसअघि निगमले २०७९ कार्तिकमा एयरबसको ए–३२० का दुई नयाँ पाइलटहरू महेशराज पाण्डे र कौशल थापालाई भैरहवामा लिई सैद्धान्तिक ज्ञानलाई वास्तविक जहाज उडानमा राखेर अभ्यास गराएको थियो । एयरबसको ए३२० न्यरोबडी जहाज कालागि नेपाल नागरिक उड्डयन प्राधिकरणको डेजिगनेटेड चेक पाइलट (परीक्षक पाइलट) र इन्स्ट्रक्टर पाइलट (प्रशिक्षक) पाइलटसमेत रहेका जुआर्चनले दुवै जना नयाँ पाइलटलाई पालैपालो ककपिटमा राखेर जहाज उडान र अवतरणको तालिम दिएका थिए । यस्तो उडानमा प्रशिक्षक पाइलटले नयाँ पाइलटलाई नै जहाज टेकअफ, क्लाइब र ल्यान्डिङ अभ्यास गराउँछन् । 

'पाइलटलाई तालिम दिँदा भैरहवाबाट उडेर १५ सय फिट उचाइमा उड्दै जहाज अवतरण गरायौँ,' प्रशिक्षक पाइलट जुहार्चनले कान्तिपुरसँग भने, ‘भैरहवामा अरू आन्तरिक जहाजको उडान नभएका बेला भैरहवाको आकाशमा फन्को लगाउँदै तालिम दिइएको हो ।’ तालिमका बेला जहाजलाई भैरहवा विमानस्थलको ५ किलोमिटर वरिपरिको आकाशमा उडाइएको थियो ।

नयाँ पाइलटहरुकालागि हुने यस्तो तालिमलाई बेस तालिम भनिन्छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुअघि नेपालमा यस्तो तालिम नियमित थिएन । भइहाले भारत लगायत तेस्रो मुलुकहरूमा हुने गरेको प्रशिक्षक पाइलट जुहार्चनले बताए । यो तालिम कालागि पहिले २ महिनाको सिम्युलेटर तालिम अनिवार्य लिनुपर्छ । सिम्युलेटरमा वास्तविक उडान हुँदैन । त्यहाँ सिकेको भर्चुअल तालिमको ज्ञानलाई व्यवहारमा उतार्न बेस तालिम नेपालको नागरिक उड्डयन प्रणालीले पछिल्ला वर्षहरूमा अनिवार्य गराएको छ ।

बेस तालिममा सहभागी पाइलटहरूको दक्षताको जाँचको प्रगति प्रतिवेदन प्राधिकरणलाई बुझाइसकेपछि मात्रै नयाँ पाइलटहरू व्यावसायिक उडानमा कोपालटका रूपमा तयार हुन्छन् । निगमले यस्तो तालिममा जहाज पटाउँदा एक घण्टाको कम्तीमा १५ लाख रुपैयाँ लगानी लाग्छ । यस्तो उडानमा उडान सुरक्षाको पालनामा अत्यधिक चनाखो हुनुपर्छ । 

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully