दिगो आर्थिक विकासमा प्रविधिको योगदानबारे अध्ययन गरेका अर्थशास्त्रीत्रयलाई नोबेल पुरस्कार

अध्ययनको निष्कर्ष– ‘आर्थिक वृद्धि स्वस्फूर्त रूपमा हुँदैन, यसलाई सम्भव बनाउन ‘सिर्जनात्मक विनिर्माण’लाई प्रोत्साहन गर्ने प्रणाली र संयन्त्र जोगाउनुपर्छ, ताकि समाज र विश्व अर्थतन्त्र शिथिलतातिरै फर्किनु नपरोस्’

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Nobel Prize for Economist who studied the contribution of technology to sustainable economic development

काठमाडौँ — यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई र बेलायतका एक गरी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अर्थशास्त्रीत्रयलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । नयाँ प्रविधिले दिगो आर्थिक वृद्धिमा कसरी योगदान गर्न सक्छ भन्ने विषयमा खोज तथा अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारका लागि छानिएका अर्थशास्त्रीमा अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका जोएल मोकिर र ब्राउन विश्वविद्यालयका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप एगियोन छन् । अर्थशास्त्रीत्रयमध्ये आधा (५० प्रतिशत) भाग जोएल मोकिरलाई र बाँकी ५० प्रतिशतमध्ये पिटर होविट एवं फिलिप अगियोनलाई आधा–आधा वितरण गर्ने निर्णय भएको हो ।

निरन्तर रूपमा प्रविधि तीव्र गतिमा अघि बढिरहेको हुन्छ, यसले सबैलाई प्रभावित गर्छ । नयाँ उत्पादन र उत्पादनका तरिका (विधि) ले पुराना वस्तुलाई प्रतिस्थापन गर्छन् । यो चक्र कहिल्यै नरोकिई निरन्तर चलिरहने र यही नै दीर्घकालीन रूपमा दिगो आर्थिक वृद्धिको आधार भएको उनीहरूको भनाइ छ । यसरी प्रविधि विस्तारका कारण विश्वभरका मानिसको जीवनस्तर, स्वास्थ्य र जीवनको गुणस्तरमा सुधार आएको उनीहरूको निष्कर्ष छ ।

तर सधैं यस्तो हुँदैन/थिएन । यसको ठीकविपरीत मानव इतिहासको अधिकांश समय वृद्धिको साटो शिथिल (स्ट्यागनेसन) मै थियो । बीच–बीचमा भएका केही महत्त्वपूर्ण आविष्कारले कहिलेकाहीँ जीवनस्तर र आयमा सुधार ल्याए पनि त्यो वृद्धि अन्ततः एक बिन्दुमा पुगेर स्थिर भइहाल्ने उनीहरूको निष्कर्ष छ ।

दिगो आर्थिक विकासलाई नयाँ प्रविधिले कसरी अघि बढाउन सक्छ अथवा आर्थिक वृद्धिमा प्रविधिले कसरी टेवा पुर्‍याउन सक्छ भन्ने विषयमा अनुसन्धान गरेबापत जोएल मोकिरलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । मोकिरले ऐतिहासिक स्रोतहरूको प्रयोग गरी दीर्घकालीन आर्थिक वृद्धि कसरी ‘सामान्य अवस्था’ बन्यो भन्ने कारण पत्ता लगाएका हुन् । उनका अनुसार प्रविधिको विकास एकपछि अर्को गर्दै स्वस्फूर्त रूपमा निरन्तर अघि बढ्ने प्रक्रिया हो । यस प्रक्रियामा सफल हुन प्रविधिले के काम गर्न भनेर जान्नुको साटो कसरी काम गर्छ भन्नेबारे पनि वैज्ञानिक व्याख्या हुनुपर्ने उनको भनाइ छ । यसकारण नयाँ विचार र प्रविधिप्रति समाज खुला हुनुपर्ने र परिवर्तनलाई स्वीकार गर्न सक्ने संस्कृति विकास गर्नुपर्नेमा उनको जोड छ ।

फिलिप एगियोन र पिटर होविटले पनि दीर्घकालीन आर्थिक वृद्धिका संयन्त्रहरूबारे अध्ययन तथा विश्लेषण गरेका छन् । सन् १९९२ मा प्रकाशित एक लेखमा उनीहरूले ‘सर्जनात्मक विनिर्माण’ (क्रिएटिभ डिस्ट्रक्सन) भनेर चिनिने प्रक्रियाका लागि गणितीय मोडेल (विधि) तयार पारेका थिए । जब कुनै नयाँ र सुधारिएको उत्पादन बजारमा आउँछ, तब पुराना उत्पादन बेच्ने कम्पनी स्वतः पछि पर्ने उनीहरूको भनाइ छ ।

प्रविधि नयाँ र सिर्जनात्मकसँगै विनिर्माणकारी पनि हुने उनीहरूको निष्कर्ष छ । नयाँ प्रविधि (वस्तु) ले पुरानालाई विस्थापित गर्ने भएकाले त्यसलाई विनिर्माणकारी भनिएको हो । यसकारण पनि ‘सिर्जनात्मक विनिर्माण’ले उत्पन्न गर्ने द्वन्द्वलाई सकारात्मक रूपमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ । अन्यथा पुराना संस्था तथा वस्तु अथवा स्वार्थ समूहले नयाँ प्रविधिहरूलाई रोक्ने र त्यसको नकारात्मक असर आर्थिक विकास र समग्र समाजमा पर्ने उनीहरूको भनाइ छ ।

आर्थिक वृद्धि स्वस्फूर्त रूपमा नहुने, त्यसलाई सम्भव बनाउन सिर्जनात्मक विनिर्माणलाई प्रोत्साहन गर्ने प्रणाली र संयन्त्रहरू जोगाउनुपर्ने पुरस्कार प्राप्त गरेका अर्थशास्त्रीत्रयको निष्कर्ष छ, ताकि समाज र विश्व अर्थतन्त्र शिथिलतातिरै फर्किनु नपरोस् ।

कान्तिपुर

Link copied successfully