बढेन ऋणको माग, बैंकमा थुप्रियो साढे ११ खर्ब

गएको तीन महिना बैंकमा २ खर्ब ५६ अर्ब निक्षेप संकलन र ३८ अर्ब ऋण प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा निक्षेप संकलन १ खर्ब २९ अर्ब र कर्जा ९८ अर्ब थियो ।

आश्विन २७, २०८२

यज्ञ बञ्जाडे

Demand for loans increased, 11 and a half billion piled up in banks

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिन पाँच दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ११ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम(अधिक तरलता) थुप्रिएको छ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरैले बढ्न थालेको थियो । चालु आर्थिक वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरुमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा गरिएको थियो ।

सुरुका महिनाहरुमा कर्जा माग बढ्ने संकेतहरु पनि देखिन थालेका थिए । बैंकहरुमा प्रतितपत्र (एलसी) खुल्ने क्रम बढ्को पनि थियो । तर भदौ २३ र २४ को प्रर्दशनपछि सृजना भएको असहज परिस्थितिका कारण कर्जा विस्तार ठप्प जस्तै भएको बैंकहरु बताउँछन् । यहीकारण बैंक तथा वित्तीय संस्थामा निक्षेप लगातार बढिरहेको छ भने ऋणदिन मिल्ने रकम पनि थुप्रिदै गएको छ ।

गत साता (यही असोज २० गते)सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ६० अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.५५ प्रतिशत छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब २९ रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ ।

तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगदै राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा सीडी अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ ।

यसकारण बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान (ऋण दिन) पाउँछन् । यी तथ्यलाई आधार मान्दा पनि असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थासँग करिब १० खर्ब ९१ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको जानकारहरू बताउँछन् । गत साउनमा बैंक तथा वित्तीय संस्थामा १० खर्ब १२ अर्ब र भदौमा १० खर्ब ४६ अर्ब रुपैयाँ ऋण दिनमिल्ने रकम रहेको थियो । असोज तेस्रो सातासम्म आइपुग्दा यस्तो रकम झनै बढेर ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो ।

गएको आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा एक्कासी बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो । त्यसपछिका महिनामा पनि ऋण दिन मिल्ने थपिने क्रम रोकिएको छैन् ।

चालु आर्थिक वर्षका अघिल्ला तीन महिना (साउन देखि असोज २० सम्म)मा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही अवधिमा ३८ अर्ब मात्र कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप धेरैले बढेको छ भने कर्जा प्रवाह आधा भन्दा धेरैले कम हो । गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन देखि असोज २० सम्म) निक्षेप १ खर्ब २९ अर्बले बढेको थियो भने कर्जा प्रवाह ९८ अर्ब रुपैयाँ रहेको थियो ।

अहिले अर्थतन्त्रका बाहृय क्षेत्र बलिया रहेको, ब्याजदर निकै तल आइसकेकाले अब सरकारले लगानी विस्तारमा जोड दिनुपर्ने वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको बेला जेनजी प्रर्दशनपछि सृजना भएको असहज परिस्थितिले कर्जा माग बढ्न नसकेको वित्तीय क्षेत्रका जानकार परशुराम क्षेत्री कुँवरको भनाइ छ । ‘यतिबेला समग्र समाजकै आत्मविश्वास खस्किएको छ । सबैभन्दा बढी निजी क्षेत्र र प्रहरीको आत्मविश्वासमा कमी आएको देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा कर्जा र लगानी बढ्ने भन्ने हुँदैन ।’

कर्जा माग बढाउने काममा मुख्य भूमिका वित्त नीति (सरकार) को हुन्छ, मौद्रि नीतिले सहजीकरण गरिदिने हो । यसकारण अहिलेको अवस्थामा कर्जा विस्तार बढाउन सुरुमा सरकारले खर्च बढाउनुपर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । उनकाअनुसार अहिले सरकारले ऋण उठाएरै भए पनि ठूला पूर्वाधार, छिटो प्रतिफल दिने राष्ट्रिय गौरवका आयोजनालगायतमा लगानी बढाउनुपर्छ । अर्थतन्त्रका धेरै सूचकले अहिले सरकारलाई लगानी विस्तारका लागि टेवा दिएको अवस्था रहेको उनको भनाइ छ ।

बजारमा लगातार तरलता बढेपछ राष्ट्र बैंकले पनि नियमित रुपमा बजारबाट पैसा झिकिरहेको छ । सोही क्रममा आइतबार पनि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाा झिकेको छ । दसैंपछिको कार्यालय खुलेको पहिलो दिन गत मंगलबार ९० अर्ब, बुधबार २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । यसरी झिकिएको रकममध्ये आइतबारसम्म राष्ट्र बैंकले सँग ७ खर्ब ६५ अर्ब रुपैयाँ छ । उल्लिखित रकम राष्ट्र बैंकले छोटो समयका लागि तानेकाले परिपक्व अवधिपछि सो रकम बजारमा आउँने छ । यसले बजारमा झनै अधिक तरलताको अवस्था सृजना हुने देखिन्छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । यो लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाा कर्जा विस्तार गर्नुपथ्यो । तर गत असारसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा २ खर्ब ५१ अर्ब रुपैयाँले कम थियो ।

चालु आिर्थक वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको राष्ट्र बैंकले गत वर्षका लागि साढे १२ प्रतिशतको लक्ष्य तोकेको थियो । अघिल्ला वर्षहरुमा कर्जा विस्तारको लक्ष्य पुरा नहुँदा नहुँदै पनि यस वर्ष फेरी १२ प्रतिशतको लक्ष्य तय गरिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाका कर्जा प्रवाहको अवस्था ठप्प जस्तै भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘अहिले कर्जा प्रवाह मात्र होइन साँवा ब्याज भुक्तानी पनि भएको छैन,’ उनले भने, ‘प्रतितपत्र खुलेको छैन, ब्याज भुक्तानी भएको छैन, कर्जा माग छैन, समग्र बैकिङ क्षेत्र ठप्प जस्तै छ ।’ ऋणीले ब्याज तिर्न नसकेको हो कि भनेर कम्तिमा एक महिना म्याद सार्न राष्ट बैंकलाई आग्रह गरिएको उनले जानकारी दिए ।

ब्याजदर घटेर ५० महिनायताकै कम अवस्थामा पुगेको छ । तर पनि कर्जा विस्तारले गति लिन नसक्नुमा समग्र मागमा आएको कमीमा सुधार नहुनु र उद्योगहरू लक्ष्यको आधाभन्दा कम क्षमतामा मात्र चल्नु पनि कारण रहेको जानकार बताउँछन् । न्यून बजार मागका कारण आर्थिक गतिविधि चलायमान बन्न नसकिरहेका बेला पछिल्लो आन्दोलन पछि झनै समस्या थपिदएकाृ उनीहरुको भनाइ छ ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully