अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । त्यसो त राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा झिक्दै आएको छ ।
सोही क्रममा आज पनि ५० अर्ब झिक्न लागेको हो । आज नियमित पैसा निकाल्ने दिन रहेकाले राष्ट्र बैंकले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । बजारबाट पैसा निकाल्नका लागि आज दिउासो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पााच करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।
