सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन तिहारपछि, जलेका लाइसेन्सबारे अझै अन्योल

देशभर ४२ वटा यातायात व्यवस्था कार्यालयमार्फत दिइँदै आएको लाइसेन्स सेवा भदौ २३ देखि ठप्प बनेको छ।

आश्विन २४, २०८२

विमल खतिवडा

Online application for driver's license after Tihar, more confusion about burnt licences

What you should know

काठमाडौँ — गत भदौमा प्रदर्शनका क्रममा यातायात व्यवस्था कार्यालयमा आगजनी गरिएसँगै नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिने प्रक्रिया ठप्प छ । आगजनीबाट २२ हजारमध्ये १८ हजार छपाइ भएर बसेका लाइसेन्स जलेको विभागको अनुमान छ । यसमध्ये ३ हजार लाइसेन्स मात्र सुरक्षित भेटिएको छ ।

प्रणाली नचल्दासम्म कति लाइसेन्स छपाइ भएर बसेका थिए भन्ने यकिन नहुने विभागका निर्देशक केशव खतिवडाले बताए । ‘अहिले अनुमानित १८ हजार लाइसेन्स जलेका र हराएका अनुमान छ,’ उनले भने, ‘प्रणाली चलेपछि यकिन तथ्यांक आउँछ ।’

विभिन्न यातायात कार्यालयमा पठाउन तयारी अवस्थामा राखिएका लाइसेन्स पनि आगलागीबाट नष्ट भएका छन् । विभागबाट दुई किसिमका लाइसेन्स छपाइ हुँदै आएको थियो । ‘विदेश जानेको हकमा निवेदन दिएको २४ घण्टामा लाइसेन्स प्रिन्ट गरेर दिइन्थ्यो,’ खतिवडाले भने, ‘अन्य समयमा आवेदन दिएर बसेका २५ लाख सेवाग्राहीलाई आवश्यकताअनुसार प्रिन्ट गरेर दिइएको थियो ।’ अहिले यो दुवै सेवा ठप्प छ । पुरानो लाइसेन्स छपाइ टुंग्याउनेबारे पनि विभागले छलफल चलाइरहेको र तिहारपछि केही निकास निकालिने जनाइएको छ ।

अहिले लाइसेन्सको आवेदनलाई नियमित गर्ने गरी प्रणाली चलाउने तयारीमै रहेको खतिवडाले सुनाए । ‘विभिन्न मन्त्रालय तथा कार्यालयसँग आवश्यक डिभाइसदेखि सरसामान मागेर प्रणाली चलाउने तयारीमा छौं, विभागको डाटा सेन्टर पनि आगलागीबाट ध्वस्त बन्यो, यो चलाउन चार–पाँच करोडको खरिद आह्वान गर्नुपर्छ,’ उनले भने, ‘यो सबै प्रक्रिया पूरा गरेर प्रणाली चलाउन पनि चार–पाँच महिना लाग्छ । नयाँ प्रणालीका लागि खरिद प्रक्रिया चल्दै गर्छ, सेवा दिने गरी अहिले प्रणाली सुरु गर्दै गर्छौं ।’

अहिले प्रणाली नचल्दा ४२ वटा यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्ससम्बन्धी काम ठप्प छ । ‘प्राविधिक समस्या केही नआए तिहारपछि सेवा सुरु गर्ने गरी काम गरिरहेका छौं,’ खतिवडाले भने, ‘विभिन्न कार्यालयसँग सहयोग मागेर प्रणाली सुरु गर्न लागिएकाले यसको गति केही कम हुन सक्छ, यस्तो भए प्रदेशअनुसार समय तोकेर आवेदन दिने व्यवस्था मिलाउँछौं ।’

खरिद प्रक्रियाबाट प्रणाली चलेपछि पूर्ण रूपमा सेवा दिइने उनले बताए । त्यसो भए लाइसेन्स जलेका वा हराएका सेवाग्राहीको हकमा के हुन्छ ? ‘प्रणाली चलेपछि पहिला त्यहाँ हेर्छौं, कति कार्यालयको फेसबुक पेजमा प्रिन्ट भएको अवधिको लाइसेन्स पनि हेर्न मिल्छ, त्यहाँ पनि हेरेर रुजु गर्छौं,’ उनले भने ।

जलेका वा हराएका लाइसेन्सको मुचुल्का गरेपछि सेवाग्राहीलाई निःशुल्क प्रिन्ट गरेर दिने कि भन्ने कुरा पनि रहेको खतिवडाले जनाए । ‘यो छलफलकै क्रममा छ, केही निर्णय भइसकेको छैन,’ उनले भने, ‘जलेका र हराएका सवारी चालकको लाइसेन्सबारे यकिन गरी मुचुल्का उठाएर प्रदेश कार्यालयहरूलाई पठाई थप निर्णय गरिनेछ ।’

नयाँ लाइसेन्सका लागि आवेदन दिन मिल्नेसहितको प्रणाली सञ्चालनको तयारीमा रहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । ‘पहिलो काम लाइसेन्सका लागि आवेदन खुला गर्ने गरी प्रणाली चलाउने हो,’ उनले भने, ‘इम्बोस्ड नम्बर प्लेटमा झन् ठूलो क्षति भएको छ, तयार भएका प्लेट जलेर खरानी भएका छन्, यसबारे सप्लायर्ससँग बसेर छलफल गरिरहेका छौं, थप केही निर्णय भएको छैन ।’

अघिपछि दैनिक सात वटै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि फर्म भर्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । विभागमै आपत्कालीन लाइसेन्सका लागि दैनिक ३ सयसम्म अनलाइन र लिखित रूपमा २ सयले फर्म भरेर लाइसेन्स लिँदै आएका थिए ।

प्रदर्शनकै क्रममा जडानका लागि प्रदेश र सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन तयार गरेर राखिएका सबै इम्बोस्ड नम्बर प्लेट जलेका छन् । विभागका अनुसार गत साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएको थियो । त्योमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयहरूमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै गर्दा आगलागीबाट नष्ट भएको हो ।

अहिले विभागको अनुमानअनुसार ६ लाख १९ हजार नम्बर प्लेट जलेर नष्ट भएको छ । विभाग स्रोतका अनुसार साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully