सुनमा लगानी बढाउँदै सर्वसाधारण, राष्ट्र बैंकले बढायो आयात कोटा

अब सुनको दैनिक आयात कोटा २५ किलो, व्यवसायी भन्छन्–‘तिहार नजिकै आएकाले १५ दिनका लागि दैनिक कम्तीमा ४० किलो चाहिन्छ’

आश्विन २४, २०८२

राजु चौधरी

General public increasing investment in gold, National Bank increased import quota

What you should know

काठमाडौँ — सुनको मूल्यले दिनदिनै रेकर्ड बनाएपछि सर्वसाधारणले सुनमा लगानी बढाउन थालेका छन् । सुनको गहना बिक्री नभएपनि सिक्का, बेरुवा औंठी, बेरुवा बाला, साधारण चेनको माग भने अत्याधिक बढेको व्यवसायीहरू बताउँछन् । अन्य क्षेत्रमा लगानीको वातावरण सहज नहुँदा सर्वसाधारणहरू सुनमा लगानी गर्न खोजेको गहना व्यवसायीहरूको भनाइ छ ।

‘मूल्य लगातार बढेको छ । मूल्य बढेपनि बिक्री गर्दा राम्रो मूल्य आओस् भनेर बेरुवा औँठी, सिक्कामा लगानी गर्न खोजेको देखिन्छ । ढिक्का सुन बिक्री गर्न नमिले पनि बेरुवा औँठीको बिक्री राम्रो भएको छ,’ एक गहना व्यवसायीले भने, ‘अन्य क्षेत्रमा लगानीको अवस्था रहेन । त्यही भएर विदेशमा जस्तै नेपालमा पनि हुनेखानेले सुनमा लगानी गर्न खोजेको देखिन्छ ।’

तिहार नजिकिएपछि सुनको माग बढ्छ नै । सर्वसाधारणले आफ्नो क्षमता अनुसार सुनका गहना किन्छन् । पछिल्लो समय मूल्य अस्वाभाविक रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार दसैंको सार्वजनिक बिदापछि बजार खुल्दा सुनको भाउ तोलामै ७ हजार ४ सय रुपैयाँ बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि मूल्य निरन्तर बढेर असोज २३ (बिहीबार) प्रतिकिलो २ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो । असोज २४ (शुक्रबार) मा मूल्यमा केही करेक्सन आएपनि बजारभाउ अझै बढ्ने आकलन गरिएको छ । जसले गर्दा सर्वसाधारणहरू गहना भन्दा ढिक्कामा आकर्षित भएको व्यवसायीहरू बताउँछन् ।

‘बिहीबारको तुलनामा शुक्रबार ४ हजार २ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएपनि मूल्य अझै बढ्ने देखिन्छ,’ ती व्यवसायीले भने, ‘अर्न्तराष्ट्रिय बजारमा मूल्य घटबढ भइराखेको छ । भारतीय सञ्चारमाध्यमले पनि मूल्य बढ्ने बताइरहेका छन्, जसले गर्दा सर्वसाधारणहरू सुनको ढिक्कामा लगानी गर्न खोजे ।’

महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले सुनको भाउ दिनदिनै बढेपछि सुनको माग बढेको जनाए । ‘गहना बिक्री भएको छैन । किनभने गहना खरिदपछि बिक्री गर्दा जर्ति, रिस्क मार्जिनलगायत जोडिन्छ । तर बेरुवा औँठीको हकमा करिब २ प्रतिशत मात्रै काट्छन,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘सुनको मूल्य प्रतितोला १ लाख ९० हजार पुगेपछि मूल्यमा निरन्तर वृद्धि भएको छ । ३ लाख रुपैयाँसम्म पुग्छ कि भन्ने पनि बजार हल्ला छ । त्यही कारण सुनमा लगानी बढेको देखिन्छ ।’ राष्ट्र बैंकको कार्यविधि अनुसार सुनको ढिक्का बिक्री गर्न मिल्दैन । ढिक्काको सट्टा व्यवसायीहरुले  बेरुवा सुन औँठीलगायत बिक्री गरेका छन् । किनभने बेरुवा औँठीमा ज्याला करिब ३/४ सय रुपैयाँ लाग्छ । जर्ति पनि बढीमा ३ लाख हुन्छ । सर्वसाधारणले बिक्री गर्दा रिस्क मार्जिन भनेर व्यवसायीले करिब २ प्रतिशत काट्छन् । ‘बजारमा सुनको माग धेरै आएकाले महासंघकै आग्रहमा राष्ट्र बैंकले दैनिक आयात कोटा पनि ५ किलो बढाएर २५ किलो बनाइदिएको छ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘तर दैनिक माग करिब ४० किलो छ ।’ सुनको भाउ बढेपछि सर्वसाधारणले पुराना गहना पनि बिक्री गर्न आएको उनले जनाए । मागको करिब २८ प्रतिशत पुरानो गहनाले धानेको उनले बताए ।

‘तिहार पनि नजिकै आएकाले दैनिक बिक्री ४० किलो बढी नै हुन्छ । राष्ट्र बैंकमा कम्तीमा ३५ किलो बनाइदिन आग्रह गरेका थियौँ,’ उनले भने । व्यवसायीको माग अनुसार नभएपनि राष्ट्र बैंकले दैनिक ५ किलो बढाइदिएको हो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ । नेपालमा सुन आयात वाणिज्य बैंकले मात्रै गर्न पाउँछन् । बैंकले आयात गरेको सुन गहना व्यवसायीको संघ, महासंघ, संस्थाको सिफारिसमा व्यवसायीले पाउँछन् । गहना विज्ञ तेजरत्न शाक्यले सुनको आयात तिहारमा कोटावृद्धि सकरात्मक भएपनि अहिलेकै अवस्थामा तत्काल आवश्यक नभएको जनाए । ‘सुनको आयात कोटा  बेमौसमको बाजा जस्तै भयो । मूल्य बढेर गहना बिक्री छैन । ढिक्का सुनको मात्रै माग बढ्दो छ । बेरुवा औँठीको माग छ,’ उनले भने, ‘भारतीय मिडियाबाट धेरै हल्ला हुँदा २/४ तोला ढिक्का किन्न खोज्ने धेरै छन् । अहिलेको अवस्थामा दुई नम्बरको कारोबार फस्टाउने आशंका छ ।’ विज्ञ शाक्यका अनुसार बैंकहरुले दसैं अगाडिदेखिकै सुन आयात गरिदिएको छैन । बैंकले अभाव गराएर बिचौलियालाई चलखेल गर्न बाटो खोलिदिएको उनको आरोप छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ । 

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully