धानबाली, पशुको क्षति संकलन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सातै प्रदेशबाट क्षतिको विवरण संकलन गरिँदै
What you should know
काठमाडौँ — यस वर्ष ढिलो गरी भएको धान रोपाइँमा पछिल्लो पटक बाढीको प्रहार परेको छ । असोज १७ र १८ मा आएको अविरल वर्षाले विभिन्न क्षेत्रमा तटबन्ध मात्र करिब १५ सय मिटर कटान गरेको पाइएको छ । यसले करिब १० करोडभन्दा बढी क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रारम्भिक अध्ययनले देखाएको छ ।
नदी कटान, डुबान तथा बाढीले धान खेत, पशुलगायतमा पनि प्रत्यक्ष असर पारेको छ । मन्त्रालयले तयार पारेको प्रारम्भिक अध्ययनअनुसार कन्काई नदीले गौरीगन्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २ सय मिटर तटबन्ध कटान गरी होकलबारी गाउँको करिब ११४ घरबारी डुबानमा पारेको उल्लेख छ ।
‘डुबानले ५ सय हेक्टर धान खेतमा क्षति पुगेको छ । झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २ सय मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति पुगेको छ,’ अध्ययनमा भनिएको छ, ‘यीबाहेक लालबकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका–१ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाएर करिब एक सय हेक्टर धान खेतमा क्षति पुगेको छ ।’
बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २ सय हेक्टर धान खेतमा क्षति र २ सय वटा घरगोठ डुबानमा परेको अध्ययनमा उल्लेख छ । ‘सुनसरी, मोरङ, बागमती र नारायणी सिँचाइ आयोजनाको सिञ्चित क्षेत्रभित्र रहेका खोला–खोल्साले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन छ,’ अध्ययनमा भनिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि क्षतिको विवरण संकलन सुरु गरेको छ । कृषिले ७ वटै प्रदेश सरकार, प्रदेशस्थित बाली विकास निर्देशनालय र मन्त्रालयअन्तर्गतका विभागमा पत्र पठाएर क्षतिको तथ्यांक संकलन सुरु गरेको हो ।
‘अविरल वर्षापछिको बाढीपहिरोले धान बाली, पशु, कृषि पूर्वाधारमा क्षति पुगेको छ । क्षतिको यकिन गर्न एउटा फर्म्याट बनाएर प्रदेश सरकार, बाली विकास निर्देशनालय र विभागहरूलाई पत्र पठाएका छौं,’ कृषि मन्त्रालयका प्रवक्ता जानुका पण्डितले भनिन्, ‘जिल्ला, पालिका र निकायबाट विवरण संकलन गर्न करिब एक साता लाग्छ ।’
पण्डितका अनुसार धान बाली, पशु, कृषि पूर्वाधारमा बिमा गरे–नगरेको छुट्टिने गरी विवरण संकलन गरिनेछ । सोही आधारमा राहत वितरणमा केही सहजता हुने मन्त्रालयले जनाएको छ । ‘बिमा गरेका किसानले बिमाबाट क्षतिपूर्ति पाउँछन्, बिमा नगरेको हकमा कसरी अगाडि बढ्ने छलफल हुन्छ । बिमा गरे–नगरेको छुट्टिए राहत वितरण गर्दा पनि दोहोरोपना हुँदैन,’ उनले भनिन् । कृषि मन्त्रालयकै तथ्यांकअनुसार वर्षको तुलनामा यस पटक धान रोपाइँ कम भएको थियो । त्यसमा पनि बाढीपहिरोले क्षति पुग्दा उत्पादन स्वाभाविक रूपमा घट्ने देखिन्छ । यसले धान–चामल आयात बढ्न सक्ने जानकार बताउँछन् ।
मुलुकभर १३ लाख ७६ हजार ४ सय ६६ हेक्टरमा धान रोपाइँ हुन्छ । यस वर्ष १३ लाख ६ हजार २ सय ९३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष भदौ ७ सम्म ९८.५४ प्रतिशत धान रोपाइँ भएको कृषि मन्त्रालयको तथ्यांक छ । यस पटक २०८२ भदौ ८ सम्म ९४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
सबैभन्दा धेरै धान फल्ने मधेश प्रदेशमै रोपाइँ कम भएको छ । ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष मधेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा ३ लाख १९ हजार ६ सय २६ हेक्टरमा धान रोपाइँ भएको छ ।
लामो समय खडेरीका कारण यस पटक मधेशमा पर्याप्त रोपाइँ हुन सकेन । मधेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । मधेशबाहेक कोशीमा पनि ९७.२४ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष कोशीमा शतप्रतिशत रोपाइँ भएको थियो । गण्डकीमा गत वर्ष ९८ प्रतिशत धान भएकामा यस पटक ९६.६३ प्रतिशत मात्रै भएको छ । अन्य प्रदेशको अवस्था पनि उस्तै छ । गत वर्षको तुलनामा कम रोपाइँ भएको छ । त्यसमा पनि बाढीपहिरोले धान बालीमा क्षति पुर्याएको छ ।
यता बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटाले भने बाढीका कारण धान उत्पादनमा समस्या नआउने बताए ।
