२३ अर्ब चार करोड लागत अनुमान रहेको विद्युत् उत्पादनमा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् ।
What you should know
ताप्लेजुङ — तमोर नदी र मेवाखोलाबाट १ सय २५ मेगावाट विद्युत् उत्पादनका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
सिद्धार्थ बैंकले नेतृत्व र माछापुच्छ्रे बैंकले सहनेतृत्व गर्ने लगानीका लागि कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, ज्योति विकास बैंक, आईसीएसी फाइनान्स, नेपाल फाइनान्स र गुडविल फाइनान्सले लगानी गर्ने भएका हुन् ।
असोज २३ गते भएको वित्तीय व्यवस्थापन सम्झौतामा उत्पादक कम्पनी स्पार्क हाइड्रो पावरको तर्फबाट कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र बैँक तथा वित्तीय संस्थाको तर्फबाट सिद्धार्थ बैंक कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् । २३ अर्ब चार करोड लागत अनुमान रहेको विद्युत् उत्पादनमा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् । २५ प्रतिशत लगानी प्रवर्द्धकहरू जुटाइने संस्थापक अध्यक्ष भानेन्द्र लिम्बूले जानकारी दिए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा संस्थापक अध्यक्ष लिम्बूसहित प्रबन्ध सञ्चालक सुदीप कुमार चौधरी, कम्पनी सञ्चालकहरुको उपस्थिति रहेको थियो । यो कम्पनीले २०७७ आश्विन २५ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गरिसकेको छ भने २०७५ असार ३१ गते वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मुल्यांकन प्रतिवदन स्वीकृत गराएको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच २०८० आश्विन २४ गते विद्युत् खरिद बिक्री सम्झौता समेत भइसकेको छ । २०८५ आश्विन २५ गतेसम्ममा उत्पादन गरिसक्ने विद्युत् आयोजनाका लागि हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको संस्थापक अध्यक्ष लिम्बूले जानकारी दिए ।
वित्तीय व्यवस्थापन सुनिश्चित भएकाले अब कामले गति पाउने र निर्धारित समयमै सम्पन्न हुने उनले बताएका छन् । यहाँ उत्पादित विद्युत् मेवाखोला गाउँपालिकाको ढुंगेसाँघु सबस्टेसनमा जडान गरिने छ ।
