विपत्ति र अस्थिरताबीच पनि नेपालमा ७१ देशका आरोही, ४२ हिमालमा नयाँ चहलपहल

राजस्व अघिल्लो वर्षको तुलनामा १ सय ५० प्रतिशतले वृद्धि

आश्विन २३, २०८२

सुरज कुँवर

Even in the midst of calamity and instability, climbers from 71 countries and 42 mountains are climbing new activities in Nepal

What you should know

काठमाडौँ — राजनीतिक अस्थिरता, आन्दोलन र प्राकृतिक विपत्तिबीच पनि नेपालको हिमालयले विश्वका आरोहीहरूलाई फेरि आकर्षित गरेको छ । यस वर्षको शरद ऋतु पर्वतारोहण सिजनमा नेपालबाहेक ७१ देशका ८०२ आरोही सगरमाथासहित ४२ वटा हिमाल आरोहणका लागि नेपाल आएका छन् ।

नेपालको हिमालयमा विदेशीहरूको यो आकर्षणले सरकारको राजस्वमा उल्लेखनीय वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा १ सय ५० प्रतिशतले वृद्धि भएको छ ।

जेन-जी आन्दोलन, राजनीतिक अस्थिरता र मनसुनजन्य प्राकृतिक विपत्तिका कारण देश आन्तरिक तनावमा रहे पनि यहीबीच विदेशी आरोहीहरू नेपालतर्फ आकर्षित हुनु पर्यटन व्यवसायीका लागि सकारात्मक संकेत बनेको छ ।

कतिपय देशले भिसा प्रक्रिया कडा बनाइरहेका बेला पनि अमेरिका, बेलायत, चीन, फ्रान्स, जापान, अस्ट्रेलिया, रुसलगायतका नागरिक नेपालका हिमालमा पुगेका छन् ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार असोज २२ गतेसम्म जारी अनुमतिअनुसार ७१ देशका आरोहीलाई ४२ वटा शिखर आरोहणका लागि अनुमति दिइएको छ । तीमध्ये ६१३ पुरुष र १८९ महिला आरोही छन् ।

सबैभन्दा धेरै अनुमति चीनका १०० आरोहीले लिएका छन् । त्यसपछि फ्रान्स (६२), अमेरिका (५४), बेलायत (५१), रुस (५९), जापान (२६) र अस्ट्रेलिया (२३) आरोही छन् । नेपालका आफ्नै ३१ आरोहीले पनि अनुमति लिएका छन् ।

‘यो तथ्याङ्कले फेरि देखाएको छ कि नेपाल विश्वका पर्वतारोहण प्रेमीहरूको प्रमुख आकर्षण केन्द्र बन्दै गएको छ,’ निर्देशक गौतमले भने ।

यस शरद सिजनमा पर्यटन विभागले १९ करोड १३ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष सोही अवधिमा जम्मा ७ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो । यसरी १ सय ५० प्रतिशत राजस्व वृद्धिले नेपालको साहसिक पर्यटन पुनः सशक्त बन्दै गएको संकेत दिएको छ ।

‘अझै ५०–६० वटा आरोहण अनुमति जारी हुन बाँकी छन्,’ निर्देशक गौतमले भने, ‘यदि अहिलेको दरमा अनुमति जारी रह्यो भने यो सिजनको राजस्व २० करोड नाघ्नेछ ।’

विभागका तथ्याङ्कअनुसार यस सिजनमा सबैभन्दा धेरै आरोही मनासलु (८१६३ मिटर) तर्फ गएका छन् । त्यहाँ ३७४ जना आरोहीसहितका दल पुगेका छन् । यस हिमालबाट मात्रै १५ करोड ७६ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसपछि अन्नपूर्ण (१ करोड १३ लाख), धौलागिरि (७६ लाख) र सगरमाथा (४२ लाख) क्रमशः लोकप्रिय छन् ।

यस सिजनमा कुल १८९ महिला आरोही सहभागी भएका छन्, जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । मनासलु शिखरमा मात्रै ९५ महिला आरोही पुगेका छन् । यस सिजनकै सबैभन्दा ठूलो महिला सहभागिता यही हो ।

नेपाल पर्वतारोहण संघले यसलाई लैङ्गिक समावेशिताको सकारात्मक संकेत मानेको छ । संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाका अनुसार पहिलेको तुलनामा अहिले महिला आरोहीहरू प्राविधिक रूपमा सक्षम र आत्मविश्वासी बनेका छन् । जसले नेपालको पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा भरेको छ ।

नेपालप्रतिको विश्वास बलियो हुँदै गएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले भने, ‘शरद ऋतुमा आरोहण अनुमति र राजस्व दुवैमा देखिएको वृद्धि नेपालको साहसिक पर्यटन पुनः सशक्त बन्दै गएको प्रमाण हो । फ्रान्स, चीन, जापानजस्ता हिमाली देशका युवासमेत अहिले नेपालका हिमालप्रति आकर्षित छन्, किनभने विश्वका सबैभन्दा ठूला र चुनौतीपूर्ण हिमचुचुरा यहीँ छन् ।’

उनका अनुसार अहिले विश्वका युवाहरू साहसिक खेलमा बढी आकर्षित छन् । समुन्द्री खेलकुद र पर्वतारोहणमध्ये नेपालको हिमालयले उनीहरूलाई ‘जीवनमा एक पटक गर्नैपर्ने अनुभव’को रूपमा तानेको छ ।

अघिल्ला वर्षहरूमा मनासलु, अमादब्लम र हिमलुङजस्ता प्रसिद्ध शिखरमै आरोही केन्द्रित हुने गर्थे । तर, यस सिजनमा केही नयाँ ‘भर्जिन’ हिमालहरूमा पनि आरोही पुगेका छन् ।

विभागले तीमध्ये केहीमा पहिलो सफल आरोहण भएको जानकारी प्राप्त भएको बताएको छ ।

निर्देशक गौतमका अनुसार, यी नयाँ प्रयासहरूले नेपालमा आरोहणको सम्भावना अझ विस्तार भइरहेको संकेत दिएका छन् । यो केवल पर्यटन नभई विश्वसामु नेपालको हिमालयको शक्ति र आकर्षण प्रस्तुत गर्ने माध्यम पनि हो ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully