राजनीतिक परिस्थितिले नेपालको आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकको प्रक्षेपण, यस वर्ष २.१ प्रतिशत मात्र

विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछि ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो, चालु आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

The World Bank forecast that Nepal's economic growth will slow down due to the political situation, only 2.1 percent this year

What you should know

काठमाडौँ — राजनीतिक परिस्थितिका कारण नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण विश्व बैंकले गरेको छ । चालु आर्थिक वर्ष (२०२६) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट : रोजगार, एआई र व्यापार’ प्रतिवेदनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछि ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो । 

‘नेपालले सेप्टेम्बरमा दशकौंयताकै सबैभन्दा ठूलो अशान्ति (आन्दोलन) अनुभव गर्‍यो । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा भएको प्रदर्शन देशव्यापी अशान्तिमा परिणत भयो, जसले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍यायो,’ विश्व बैंकले भनेको छ, ‘आन्दोलनका क्रममा सार्वजनिक र निजी पूर्वाधारमा भएको क्षतिको मूल्यांकन हालसम्म जारी छ । सेप्टेम्बरमै नयाँ कार्यवाहक प्रधानमन्त्री नियुक्त गरियो, जसको उद्देश्य मार्च २०२६ मा निर्वाचनको तयारी गर्नु हो ।’

खासगरी सरकारी सेवामा ढिलासुस्ती र भ्रष्टाचारका कारण युवामा शासनप्रति असन्तुष्टि बढेकाले गत सेप्टेम्बरमा आन्दोलन भएको विश्व बैंकले जनाएको छ । युवामा आर्थिक अवसरको अभाव, विकासमा सुस्तता, मौलाउँदो भ्रष्टाचारलाई आन्दोलनले प्रतिविम्बित गरेको प्रतिवेदनमा जनाइएको छ । युवा असन्तुष्टिका मुख्य कारणमा निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न नसकेको, मुलुकमा लगानीको वातावरण बन्न नसकेको, व्यावसायिक अनिश्चितता बढ्दै गएको, यातायात र व्यापार लागत बढेको र पूर्वाधार अपर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

यी कारणले नेपालको आर्थिक वृद्धि अन्य देशको तुलनामा सुस्त रहेको विश्व बैंकले जनाएको छ । ‘आर्थिक वर्ष २०१२ देखि २०२४ सम्म नेपालको आर्थिक वृद्धिदर औसत ४.३ प्रतिशत मात्र छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘रोजगारी सिर्जना पनि सीमित रह्यो । आर्थिक वर्ष २०२३ मा बेरोजगारी दर झन्डै २२.७ प्रतिशत पुग्यो, जुन दक्षिण एसियामा सबैभन्दा उच्च दरमध्ये एक हो ।’

रोजगारी अभावले श्रम आप्रवासन प्रमुख जीविकोपार्जन रणनीति बनेको पनि प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढिरहेकाले रेमिट्यान्स आप्रवाहमा पनि बढोत्तरी आइरहेको छ, जसअनुसार नेपाल भित्रिने रेमिट्यान्स कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब एक चौथाइ हिस्सा बराबर पुगेको जनाइएको छ । रेमिट्यान्सले नै नेपालीको आधारभूत उपभोगलाई धानिरहेको प्रतिवेदनमा उल्लेख छ । 

गत वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको थियो । यो अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत थियो । त्यतिबेला आर्थिक वृद्धिलाई जलविद्युत् उत्पादनमा भएको व्यापक प्रगति, औद्योगिक उत्पादनमा पुनरुत्थान र कृषिमा सुधारले टेवा दिएको विश्व बैंकले जनाएको छ । गत वर्ष र यस वर्ष आएको बाढीका कारण धेरै जलविद्युत् आयोजनामा क्षति पुगेको, पूर्वाधार नष्ट भएकाले यस वर्ष आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने सकारात्मक चरहरू अभाव हुने जानकार बताउँछन् । 

यस वर्ष विश्व बैंकले प्रक्षेपण गरेको नेपालको आर्थिक वृद्धिदर अन्य दक्षिण एसियाली मुलुकको तुलनामा कम हो । चालु आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण छ । यो पनि यसअघिको प्रक्षेपणभन्दा कम हो । यस्तै, भुटानको आर्थिक वृद्धिदर ७.३ प्रतिशत, भारतको ६.५ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, माल्दिभ्सको ३.९ प्रतिशत र श्रीलंकाको ३.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । 

यस्तै, सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४.७ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ । दक्षिण एसियाका अन्य मुलुकसँग तुलना गर्दा नेपालको स्थिति कमजोर देखिएको छ । सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

विश्लेषकका अनुसार कमजोर निजी लगानी, राजस्व संकलनको कमजोरी तथा राजनीतिक अनिश्चितताले नेपालमा दीर्घकालीन विकास लक्ष्य प्रभावित हुन सक्ने देखिन्छ । यस्तै, २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर औसत ६.६ प्रतिशत रहने अनुमान गरिएको छ । तर आउँदा महिनामा आर्थिक गतिविधिमा सुस्ती देखिने चिन्ता पनि विश्व बैंकले गरेको छ । यद्यपि, व्यापारिक खुलापन र प्रविधिको उपयोगलाई प्रवर्द्धन गर्ने सुधारहरूले रोजगारी सिर्जना गर्न र आर्थिक वृद्धिलाई गति दिन सहयोग पुर्‍याउने विश्व बैंकको भनाइ छ ।

प्रतिवेदनका अनुसार २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धि ५.८ प्रतिशतमा झर्ने देखिएको छ । जुन यस वर्ष अप्रिलमा गरिएको पूर्वानुमानभन्दा ०.६ प्रतिशत बिन्दुले कम हो । विश्वव्यापी आर्थिक सुस्तीबाट उत्पन्न असर, व्यापार नीतिसम्बन्धी अनिश्चितता, क्षेत्रीय सामाजिक–राजनीतिक अस्थिरता र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिबाट रोजगारीमा देखिने अवरोध यस क्षेत्रका प्रमुख जोखिम रहेको विश्व बैंकको ठम्याइ छ ।

‘दक्षिण एसियामा ठूलो आर्थिक सम्भावना छ र यो अझै पनि विश्वकै सबैभन्दा द्रुतगामी रूपमा बढिरहेको क्षेत्र हो । तर देशहरूले वृद्धिलाई असर पार्ने जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्नुपर्छ,’ विश्व बैंकका दक्षिण एसिया विभागका उपाध्यक्ष जोहान्स जट्टले भने, ‘देशहरूले एआईको फाइदा अधिकतम रूपमा उपयोग गर्दै र विशेषगरी मध्यवर्ती वस्तुहरूमा व्यापारिक अवरोध घटाएर उत्पादकता बढाउन, निजी लगानीलाई प्रोत्साहन दिन र तीव्र गतिमा बढिरहेको श्रमशक्तिका लागि रोजगारी सिर्जना गर्न सक्छन् ।’ प्रतिवेदनले एआईको उपयोग गरेर उत्पादकता र आम्दानी वृद्धि गर्न पनि सिफारिस गरेको छ ।

कान्तिपुर

Link copied successfully