सेयर कर्जामा २५ करोडको सीमा हट्यो, बैंकलाई सेयर कारोबारमा लचिलो

यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड थियो ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

The limit of 25 crores in share loans has been removed, banks are flexible in share transactions

काठमाडौँ — व्यक्तिगत सेयर कर्जामा अधिकतम २५ करोडको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार परिपत्रमार्फत उक्त सीमा हटाएको हो । यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड थियो ।

सरकारले गठन गरेको पुँजीबजारका लागि सुझाव दिन गठित समितिले उक्त सीमा हटाउन सिफारिस गरेको थियो । अर्थ मन्त्रालयले उक्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न बुधबार नै निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम राष्ट्र बैंकले सेयर कर्जा सीमा हटाएको हो । सेयर कारोबारसम्बन्धी अरु व्यवस्थामा पनि लचिलो नीति अंगीकार गरेको छ ।

अब बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि पनि सेयरमा लगानी गर्न सक्नेछन् । यसअघि एक सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजार (नेप्से) मा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो । त्यो एक वर्षको अवधि घटाएर ६ महिना बनाइएको हो ।

यसरी किनेको एक वर्ष व्यतित भएका लगानीमध्ये एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले खारेज गरेको छ । यी व्यवस्थाका कारण सेयर बजार बढ्न नसकेको निष्कर्षका आधारमा राष्ट्र बैंकले उल्लिखित व्यवस्था गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully