पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारबाही, फागुन २१ मा घोषित चुनावको सुनिश्चितता, व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निष्कर्ष निकालेको छ ।
What you should know
पोखरा — पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनका त्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्ने र दण्डहीनताको अन्त्य गरी अपराधमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ ।
अपराधमा संलग्नलाई छुट दिँदा सुरक्षाको प्रत्याभूति हुन नसक्ने निजी क्षेत्रले बताएको हो ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी/व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकारले कानुनविहीन राज्य निर्माण गर्न खोजेको हो कि भन्ने प्रश्नसमेत उठाएका छन् ।
कार्यक्रमका प्रमुख वक्ता पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अपराध गर्नेहरुलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध दृढतापूर्वक आवाज उठाउनुपर्ने बताए । ‘हामीले आगजनी, लुटपाट र अपराध गर्नेहरुलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध आवाज उठाउनै पर्छ । के सरकारले कानुनविहीन राज्य निर्माण गर्न खोजेको हो भन्ने प्रश्न हामीले नै गर्ने हो,’ उनले भने, ‘हामीलाई सुरक्षा दिने जिम्मेवारी सरकारकै हो । अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन ।’
मुल्मीले जेन–जी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको जिकिर गर्दै देशमा कठिन दिन आउनसक्ने चिन्ता जाहेर पनि गरे । ‘एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ । यो अवस्थाको अन्त्य गरिनुपर्छ,’ उनले भने, ‘जसरी राजनीतिक दलहरुलाई निषेध गरिएको छ र म कुनै राजनीतिक दलमा छैन भन्नेलाई च्यापिएको छ, यसले द्वन्द्व निम्त्याएको छ ।’
उनले जेन–जी आन्दोलनपछि उत्पादन र वितरण प्रणालीको कडी टुटेकाले अर्थतन्त्र यही अवस्थामा रहन्छ कि रहँदैन भन्ने अवस्था रहेको बताए । ‘अहिले जलाइएका संरचना ठड्याइए पनि के हिजोकोजस्तै आगजनी, तोडफोड र लुटपाट दोहोरिन्छ कि दोहोरिँदैन भन्ने प्रश्न पनि हाम्रोसामु रहेको छ,’ उनले भने ।
फागुन २१ का लागि घोषित चुनाव सफल बनाउन अहिलेको जेन–जी पुस्तासहित राजनीतिक दलहरुलाई दबाब दिनुपर्ने धारणा पनि कार्यक्रममा राखिएको थियो । ‘अहिलेको समस्याबाट मुक्ति भनेको फागुन २१ मा हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु नै हो । यो सबैभन्दा राम्रो बाटो हो,’ मुल्मीले भने, ‘चुनाव नहुनु भनेको अराजकता बढ्नु हो । चुनाव देशलाई लोकतन्त्रकै बाटोमा हिँडाउने उत्तम उपाय हो ।’
संघका अध्यक्ष गोकर्ण कार्कीले अपराध कर्ममा संलग्नलाई कडाभन्दा कडा कारबाही गरी क्षति भोगेका व्यवसायीलाई राहत प्रदान गर्न सरकारसँग माग गरे । ‘अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन र अपराध कर्ममा संलग्नहरु क्रान्ति नायक हुन सक्दैनन् । अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि हुँदैन,’ उनले भने, ‘समाजमा थिति बस्दैन, प्रगति पनि हुँदैन ।’
आन्दोलनको नाममा देशैभर निजी क्षेत्रका संरचनामाथि भएको आगजनी, लुटपाट र तोडफोडलाई अपराधको संज्ञा दिँदै उनले परिवर्तनका खातिर सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गरे । आन्दोलनको क्रममा जनधनको क्षति ब्यहोरेका उद्योगी व्यवसायीसँग मन कमजोर नबनाउन उनले आग्रह गरे ।
उनले जेन-जी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकाहरुलाई दोषी करार गर्ने काम भएको बताए । ‘धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’ उनले भने, ‘के रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना एवं राज्यलाई कर तिर्नु अपराध हो ?’
उनले एक जिम्मेवार नागरिकको रुपमा सुशासन, झन्झटरहित व्यावसायिक वातावरण र युवालाई जिम्मेवारी हस्तान्तरणका विषयमा निजी क्षेत्र सहमत भएको बताए । ‘सुशासन कायम हुँदा लगानीको वातावरण स्वतः निर्माण हुन्छ भन्ने हाम्रो ठम्याइ रहँदै आएको छ,’ उनले भने ।
जेन–जी आन्दोलनको क्रममा जलाइएको पोखराको होटल सरोवरका सञ्चालक प्रतिकराज पहारीले अराजकता गर्ने दोषीले सजाय पाएमात्र नयाँ व्यवस्था स्थापित हुने बताए । उनले आफ्नो परिवारले ऋण गरेर बनाएको होटलमा सुनियोजित तवरले आगजनी र लुटपाट गरिएको बताउँदै अपराधीमाथि कारबाही हुनुपर्ने दृढतापूर्वक माग गरे । ‘भदौ २४ मा जेन–जीको नाममा केही आपराधिक र अराजक समूह आएर होटललाई तोडफोड, लुटपाट अनि आगजनी गरे । उनीहरू नियोजित ढंगले आएका थिए र उनीहरूका हातमा हतियार पनि थिए,’ उनले सुनाए ।
भवन जल्नुको पीडा र डरभन्दा पनि व्यवसायीमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्नेमा बढी डर लागेको उनले बताए । ‘के हामीले विदेशी लगानीकर्तालाई भित्र्याउनुपर्छ भनिरहँदा स्वदेशी लगानीकर्तालाई नै निरुत्साहित गर्दै त छैनौं ? यो कुरा सबैले बुझ्न आवश्यक छ,’ उनले भने ।
देश कुनै ‘सुपरम्यान’ आएर नबनाउने बताउँदै उनले भने, ‘मान्छेलाई कसरी उद्यमी बनाउने र सकारात्मक कार्यमा लगाउने भन्ने सामूहिक आवाज अहिलेको आवश्यकता हो ।’
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उनको भनाइ थियो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आत्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधमा संलग्नमाथि कारबाहीको माग गरे ।
पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले आफ्नै सम्पत्ति जल्दा पनि हेर्नबाहेक केही गर्न नसकेको पीडा पोख्दै आउँदा दिनमा यस्तो अराजकता नहोस् भन्ने कामना गरे ।
अगुवा महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेन–जी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुन:र्स्थापनाका कार्य छिटो हुनुपर्नेमा जोड दिइन् । माओवादी केन्द्रका कास्की अध्यक्ष विश्वप्रकाश लामिछानेले चुनाव सम्पन्न गर्नतर्फ निजी क्षेत्रले खबरदारी गर्नुपर्ने भनाइ व्यक्त गरे ।
२३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट पोखराका ४२ वटाभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा ३ अर्बको हाराहारीमा क्षति पुगेको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा निजी क्षेत्रले व्यापक आत्मसमीक्षा गर्नुपर्ने, राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने र शान्ति–सुव्यवस्थाको सुनिश्चितता गर्नुपर्ने धारणा पनि राखिएको थियो ।
