नेपालमा क्याथे प्यासिफिकको पुनरागमन, पर्यटन क्षेत्र उत्साहित

क्याथे प्यासिफिक एयरवेजले हङकङ-काठमाडौं उडान पुन: सुरु गरेको छ ।

आश्विन २२, २०८२

सुरज कुँवर

Return of Cathay Pacific in Nepal, tourism sector excited

What you should know

काठमाडौँ — काठमाडौं जेन-जीको आन्दोलनपछि अचानक नेपाल उडान बन्द गर्ने निर्णय गर्दै हङकङ फर्किएको क्याथे प्यासिफिक एयरवेजले हङकङ-काठमाडौं उडान पुन: सुरु गरेको छ । अक्टोबर १ (असोज २२) नवमीका दिनदेखि क्याथेले ३ सय १० हाराहारी यात्रु क्षमता भएको वाइडबडी विमानमार्फत दैनिक नेपाल उडानलाई पुन: सञ्चालन गर्ने निर्णय गरेको हो । 

क्याथेले १५ दिन नेपाल उडान स्थगन गर्दा झन्डै ९ हजार टिकट लिइसकेका अमेरिका, अस्ट्रेलिया, जापानलगायत तेस्रो गन्तव्यका नेपाली तथा पर्यटकहरू प्रभावित भएका थिए । क्याथेको उडान रद्द हुँदा ती यात्रुहरूले थप आर्थिक भार खेप्नु परेको थियो । नेपालमा होटल बुकिङ गरिसकेका कतिपय पर्यटकले यो सिजनको यात्रा नै रद्द गरेका थिए ।  

काठमाडौं विमानस्थलस्थित उच्च स्रोतका अनुसार, जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते ह्यात होटलमा आराम गरिरहेका क्याथे प्यासिफिक एयरवेजका चालकदलका सदस्यलाई प्रदर्शनकारीले कोठामै पुगेर दुर्व्यवहार गरेपछि क्याथेले भदौ ३० गते (सेप्टेम्बर १५) देखि १५ दिनका लागि नेपाल उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपालमा पर्यटन सिजनको सुरुवातमै भएको जेन-जी आन्दोलनका क्रममा अत्याधिक बुकिङ भएकाले क्याथे ५ दिन जहाजमै जगेडा पाइलट तथा क्याबिन क्रू सेट ल्याएर उडान गरेको थियो ।

कारागारबाट निस्कीएका कैदी/बन्दी प्रर्दशनमा उत्रिएको र प्रहरीका सयौं थान हतियार लुटीएको अवस्थामा क्याथेको मुख्यालयले नेपालका होटलमा आफ्ना कर्मचारीलाई ‘सुरक्षा थ्रेट’ मानेर नराखी जहाजमै जगेडा सेट ल्याउने र अर्को सेटलाई जहाजमै राखेर उतै लैजाने निर्णय गरेको थियो ।

काठमाडौं विमानस्थलमा रहेको क्याथेको कार्यालयका एयरपोर्ट अपरेशन म्यानेजर अबित श्रेष्ठले ‘त्यसताका विकास भएको घटनाक्रमका आधारमा तत्कालका लागि उडान रोक्नु परेको’ पत्र विमानस्थललाई बुझाएका थिए । यो घटनापछि नेपालमा रहेका पर्यटन व्यवसायीहरूका छाता संगठनहरूले ‘मुख्य सिजनको सुरुवातमै पर्यटक ल्याउने एयरलायन्सले नेपाल उडान बन्द गर्नु ज्यादै दु:खद’ घटना भएको जनाउँदै सरकारलाई पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायको सुरक्षाका लागि दबाब बढाएका थिए ।

‘क्याथेले नेपाल उडान पुन: सुरु गर्ने निर्णय धेरै सकारात्मक छ,’ नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले कान्तिपुरसँग भने,‘जेन-जीको आन्दोलनका बेला दुई दिन विमानस्थल बन्द भयो । ४० प्रतिशतले पर्यटक आवागमनमा असर पर्‍यो । क्याथेले नेपाल उडान स्थगन गर्दा नेपालको पर्यटन बजारमा निराशा पैदा गरायो । अब हाम्रो पर्यटन बजार पुरानै लयमा फर्किंदै छ । अक्टोबरको २–३ दिनको पर्यटक आवागमन अघिल्लो वर्षकै हाराहारीमा सकारात्मक देखिएको छ ।’

पर्यटन व्यवसायीहरुले क्याथेले नेपाल उडान सुरु गरेकोमा ट्राभल तथा टिकट व्यवसायसँग जोडिएको निजी क्षेत्रले खुसी व्यक्त गरेको छ । ‘क्याथेले नेपाल उडान पुन: सुरु गर्नु यात्रुहरूका लागि धेरै खुसीको खबर हो,’ ओशो वर्ल्ड ट्राभल नेपालका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भने,‘नेपालको उड्डयन क्षेत्रमा एउटा वायुसेवा थपिँदा टिकट बजारमा सस्तो दरका टिकटको उपलब्धता बढ्छ । प्यासेन्जरलाई च्वाइस पाइन्छ । विमानस्थल, ग्राउन्ड ह्यान्डलिङ कम्पनी, सरकारले  जहाज उडान/अवतरण गराउँदा विभिन्न करलगायतका आम्दानी आर्जन गर्छन् ।’

नेपालमा हाल क्याथेसहित २७ वटा विदेशी वायुसेवाले अन्तर्राष्टिय उडान गर्छन् । यीबाहेक नेपालका तीनवटा वायुसेवा कम्पनीहरु नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स र बुद्ध एयरले पनि अन्तर्राष्टिय उडान गर्दै आएका छन् । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully