तातोपानी नाका पुन: ठप्प, नेपाल भित्रने सामान चीनमै रोकिए

चिनियाँ सहरबाट नेपालका लागि खरिद गरिएका सामग्री ल्हासा, सिगात्से, मिम्बु, न्यालम र खासामा रोकिएका छन्  ।

आश्विन २०, २०८२

अनिश तिवारी

Tatopani border is closed again, goods entering Nepal are stopped in China

What you should know

काठमाडौँ — कोदारी राजमार्गका केही स्थानमा पहिरो खसेपछि तातोपानी नाका  पुन: ठप्प बनेको छ । दिनहुँ भइरहेको वर्षाले चीन जोड्ने कोदारी राजमार्ग (२६ किलोमिटर) को डाक्लाङमा पहिरो जाँदा शनिबारयता सवारीसाधन आउजाउ पूर्ण रुपमा बन्द भएको हो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुुसार चीनले कम कन्टेनर छोडिरहेका बेला सडक अवरुद्ध भएपछि व्यवसायी थप तनावग्रस्त अवस्थामा पुगेका छन् । 'इकोमा ठिकै छ । हिन्दी र डाक्लाङमा पहिरोले सडक ठप्प छ । अरुतिर खोलिए पनि डाक्लाङमा सडक अवरुद्ध छ, त्यसले गर्दा तातोपानी पुन: ठप्प बनेको छ,' उनले भने ।

नेपालतर्फको कमजोर भूगोल र चिनियाँ पक्षले कडाइ गर्दा दसैँ, तिहार र जाडो मौसमका लागि आवश्यक रेडिमेड, इलेक्ट्रोनिक्स र फलफूलजन्य सामग्री ब‍ोकेका कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएको बस्नेतले बताए ।

उता, चरिकोट सडक डिभिजन कार्यालयका नारायण भण्डारीले कोदारी सडकको अवरुद्ध सबै खण्ड खोलिए पनि डाक्लाङमा ठूलो पहिरो भएकाले खोल्न केही दिन लाग्ने जानकारी दिए । 'त्यहाँ पहिरोले एक घर जोखिममा परेकाले बाटो खोल्न घरको जिम्मेवारी लिनुपर्ने स्थानीयले माग राखेका छन्, जुन पूरा गरेर काम अघि बढाएका छौं,' उनले भने ।

चाडबाड लक्षित सामग्री आयात बढाउन चिनियाँ पक्षसँग कुरा भएर दैनिक २० कन्टेनर तातोपानी आइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारले जनाएको छ । 

Tatopani border is closed again, goods entering Nepal are stopped in China

२४ असारदेखि रसुवा नाका बन्द भने तातोपानी नाका पनि साउन पहिलो साताबाट पहिरोले करिब दुई महिना अवरुद्ध हुँदा चाडपर्वलक्षित सामग्री आयात हुन सकेको छैन । यसअघि पहिरो पन्छाउँदै भित्रिएका केही कन्टेनर रेडिमेड सामग्री राजधानी ल्याइएको थियोे । 'अनुमानित ७० देखि ७५  प्रतिशत कन्टेनर चीनमै रोकिएका छन्, १० प्रतिशत फलफूल कन्टेनरभित्र कुहिएकाले मिल्काइएको छ,' नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य व्यवसायी शारदाप्रसाद पराजुलीले भने । तीन सय चिनियाँ कन्टेनर फलफूल खरिद गरेर ल्याइएकामा जम्मा ३० कन्टेनर नेपाल भित्रिएको  उनको भनाइ छ ।

खासाबाट कम गाडी छाडेकाले फलफूलमध्ये आँप सबैजसो कुहिएको उनले दुखेसो गरे । दसैँका लागि ल्याइएका कपडा र जुत्ताचप्पलजन्य रेडिमेड, तिहारमा प्रयोग हुने इलेक्ट्रोनिक्स र जाडो मौसमका लागि खरिद गरिएा जाकेट, कम्बल र ब्ल्याङ्केट बोकेका एक हजार कन्टेनर चिनियाँ क्षेत्रमै थन्किएका छन् । 'दुवै उत्तरी नाकाको भूगोल उस्तै छ, त्यसमाथि चिनियाँ क्षेत्रमा भन्सारले गरेको ढिलाइ र मनमौजी व्यवहारले नाकाका व्यवसायी निरुत्साहित हुँदै गएका छन्,' व्यवसायी दोर्जे लामाले भने । 

Tatopani border is closed again, goods entering Nepal are stopped in China

अक्टोबर एक तारिखबाट लागू हुनेगरी चिनियाँ कस्टमले नेपाल निर्यात हुने सामग्रीमा दुई प्रतिशत कर लिन सुरु गरेकाले पनि ट्रान्सपोर्ट कम्पनी सामग्री ढुवानी गर्ने कि नगर्ने अन्योलमा छन् ।

करको भार कसले बेहोर्ने भन्ने विषयमा व्यापारी र ट्रान्सपोर्ट कम्पनीबीच समझदारी नबनेको व्यवसायी साङ्बो शेर्पाले बताए । 'चिनियाँ पक्षले मौखिक दुई प्रतिशत र कागजी रूपमा २५ प्रतिशत कर बढाएको भनेर भन्सार डकुमेन्टमा लेखेकाले ट्रान्सपोर्ट कम्पनीहरु अलमलमा छन्,' उनलेे भने । चिनियाँ सहरबाट नेपालका लागि खरिद गरिएका सामग्री ल्हासा, सिगात्से, मिम्बु, न्यालम र खासामा रोकिएका छन्  ।  

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully