यस एयरलाइन्सले आफ्ना यात्रुहरूको सहजता, सुरक्षा र सन्तुष्टिलाई ध्यानमा राख्दै यो व्यवस्था ल्याएको जनाएको छ ।
काठमाडौँ — हिमालय एयरलाइन्सले हालको प्रतिकूल मौसमका कारण यात्रामा असर परेका यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा लाग्ने शुल्क नलिने घोषणा गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै सडक सञ्जालको अवरोधका कारण काठमाडौंबाहिर रहेका, बेलैमा काठमाडौं आउन नसकेका यात्रुका लागि विशेष छूट नीति घोषणा गरिएको हिमालयले जनाएको छ।
यस एयरलाइन्सले आफ्ना यात्रुहरूको सहजता, सुरक्षा र सन्तुष्टिलाई ध्यानमा राख्दै यो व्यवस्था ल्याएको जनाएको छ ।
यो नीतिअन्तर्गत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) बाट हिमालय एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई एक पटक निःशुल्क मिति परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ । यात्रुहरूले यसका लागि कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।
यस सुविधा अन्तर्गतका लागि योग्य यात्रुहरू ती हुन्, जसले हिमालय एयरलाइन्सको टिकट लिएर २०८२ असोज १८ देखि असोज २१ (अक्टोबर ४ देखि ७, २०२५) बीच यात्रा गर्न तय गरेका थिए ।
प्रभावित यात्रुहरूले आफ्नो नयाँ यात्रा मिति २०८२ कार्तिक ८ (अक्टोबर २५, २०२५) सम्मका लागि पुनः निर्धारण गर्न सक्नेछन् ।
एयरलाइन्सले प्रभावित यात्रुहरूलाई आवश्यक छुट कोड ईमेलबाट मार्फत पठाउने जनाएको छ । यसका लागि हिमालय एयरलाइन्स बिक्री कार्यालय गैरिधारा, काठमाडौंमा सम्पर्क गर्नुपर्ने छ ।
