दसैं बिदाका बेला पनि कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूल भित्रिएकै थियो। तर एकै दिन मात्र राजमार्गमा भएको अवरोधले बजारभाउ छोइनसक्नु भएको छ।
What you should know
काठमाडौँ — मनसुनी वर्षाका कारण एक दिन मात्र काठमाडौं छिर्ने नाका बन्द भएको मौका छोपी व्यवसायीले तरकारी तथा फलफूलको मूल्यमा मनलागी गरेका छन् । भारी वर्षाले शनिबार विभिन्न राजर्माग अवरुद्ध भएका बेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब ६ टन तरकारी तथा फलफूल भित्रियो ।
शनिबार एक दिन आयातमा सामान्य अवरोध भए पनि शुक्रबार (असोज १८) ३ सय १२ टन, बिहीबार (असोज १७) २ सय १६ टन फलफूल तथा तरकारी भित्रिसकेको थियो । दसैंको सार्वजनिक बिदा भए पनि तरकारी तथा फलफूलको आयात बन्द भएको थिएन ।
एक सातामा १ हजार ९ सय ७३ टन तरकारी तथा फलफूल भित्रिएको समितिको तथ्यांक छ । दसैंमा प्रायः सर्वसाधारण उपत्यका छाडेर जिल्ला जाने हुँदा आयातित परिमाणले बजारमा मूल्य नबढ्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । कालीमाटी होलसेल बजारमा मूल्य वृद्धि पनि नभएको उनको दाबी छ । तर बजारमा उनले भने जसरी तरकारी तथा फलफूलको मूल्य नियन्त्रणमा भने छैन ।
सामान्य दिनमा कालीमाटी बजारमा औसत दिनको ७ सय टनसम्म तरकारी भित्रिनुपर्छ । चाडबाडमा लाखौं सर्वसाधारण जिल्ला जाने हुँदा २/३ सय टन तरकारी तथा फलफूल भित्रिँदा अभाव हुँदैन । यसले मूल्य पनि नबढ्नुपर्ने हो । तर शनिबार राजमार्ग बन्द हुँदा खुद्रा बजारमा तरकारी तथा फलफूलको मूल्य छोइनसक्नु भयो । एक दिन राजमार्गमा भएको अवरोधले हरियो तरकारीको भाउ अचाक्ली बढ्यो ।
‘जुनसुकै तरकारी किने पनि किलोको १ सय रुपैयाँभन्दा बढी नै छ । राजमार्ग बन्द भएर तरकारी नआउँदा मूल्यवृद्धि गर्नुपरेको खुद्रा व्यापारीको दाबी छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यसमा कुनै तुक छैन । किनकि दसैंअघि अर्थात् मनसुनी विपदघि नै आएको तरकारीको मूल्य बढाइएको छ । तर यही बेला मूल्य नियन्त्रणमा सरकारको उपस्थिति देखिएन ।’
उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर र तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि तरकारी आयात हुन्छ । शनिबार यिनै जिल्लाबाट आउने तरकारीमा केही अवरोध भएको हो । तर व्यवसायीले यही मौका छोपेर मूल्य छोइनसक्नु बनाइदिए ।
‘विपद्को समयमा बिचौलियाले मूल्य बढाउने बहाना पाए । सरकार रमिता हेरेर बस्यो,’ तिमिल्सिनाले भने, ‘बजार मूल्य नियन्त्रण र अनुगमन गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय तहको हो । यी दुवै निकाय गैरजिम्मेवार बन्दा उपभोक्ता नराम्ररी ठगिए ।’ वाणिज्य विभागले बजार तह तोक्न सके धेरै हदसम्म मूल्य नियन्त्रण हुने उनले जनाए ।
समितिका सूचना अधिकारी श्रेष्ठले पनि खुद्रामा मूल्य बढ्नुपर्ने अवस्था नरहेको जनाए । ‘शनिबार राजमार्ग बन्दले पर्याप्त तरकारी आउने अवस्था पनि थिएन । तर बजारमा गएर तरकारी किन्ने अवस्था पनि थिएन । व्यापारीको सामान पनि खासै बिक्री भएको थिएन,’ श्रेष्ठले भने, ‘राजमार्ग बन्द भए पनि आसपासबाट छिटपुट आएकै थियो । होलसेल मूल्यमा कुनै फरक छैन ।’
कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीले उपत्यकाको करिब ७५ प्रतिशत माग धान्छ । बाँकी, बल्खु, बालाजु, टुकुचा, कोटेश्वर, चाबहिललगायत तरकारी बजारले धान्दै आएका छन् । दसैंमा खपत पनि कम हुने भएकाले तुलनात्मक रूपमा आयात पनि कम नै हुने गरेको उनले जनाए । तर होलसेलमा मूल्य नबढेको उनको दाबी छ ।
‘बल्खु तरकारी बजार डुबानमा परे पनि कालीमाटी तरकारी बजार सकुशल छ । बल्खुमा स्टकका सामान पनि थियो, त्यसकारण तत्काल मूल्य बढ्ने सम्भावना छैन,’ श्रेष्ठले भने, ‘खुद्रा बजारमा मूल्य अत्यधिक बढ्नु गलत हो । खुद्रामा निगरानी आवश्यक छ । टोलछिमेकमा दोब्बर–तेब्बरले बढेको छ । थोकमा नबढ्ने, खुद्रामा बढ्ने कसरी हुन्छ ?’
यसअघि वाणिज्य विभागले गरेको अनुगमनमा खुद्रामा पसलैपिच्छे मूल्य फरक पाइने गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । एक थरी बिचौलियाले किसानबाट संकलन गर्ने, अर्कोले थोक बजारसम्म ल्याइदिने र खुद्रा पसल पनि आफैं होलसेल नगई गाडीमार्फत ल्याउने प्रचलन छ । यसरी विभिन्न तह हुँदा मूल्य पनि आफूखुसी निर्धारण हुन्छ ।
व्यवसायीको सटर भाडामा पनि एकरूपता छैन । जसले गर्दा उनीहरूले उपभोक्ताबाट चर्को मूल्य असुल्छन् । विपद्को समयमा झन् मौका छोपेर तरकारी तथा फलफूलको मूल्य बढाउने गरेका छन् । बजारमा महँगी बढिरहँदा नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक र सूचना अधिकारीले मोबाइल स्विच्ड अफ गरेका छन् ।
बजार अनुगमन छैन । जसले गर्दा बिचौलिया र व्यवसायीको मनोबल बढ्दै गएको जानकार बताउँछन् । यता गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले भने चाडपर्व र विपद्का बेला मूल्यवृद्धि, कालोबजारी एवं खाद्यवस्तुमा मिसावट रोक्न भन्दै सबै प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइएको जनाए ।
