राष्ट्र बैंकले ७८ करोड मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद २२ गतेसम्म

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ७८ करोड रुपैयाँ एक वर्षका लागि तीन प्रकारका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न प्रक्रिया अघि बढाएको छ।

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

78 crores in fixed deposit by Rastra Bank, offer deadline till 22nd

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ७८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार ६२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकमा, ११ करोड ७० लाख रुपैयाँ विकास बैंकमा र ३ करोड ९० लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही असोज २२ गते (बुधबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।

यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ । जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा–निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।

कान्तिपुर

Link copied successfully