बाढीपहिरोले पूर्वाधारमा क्षति भए पनि मानवीय क्षति कम भयो : कुलमान घिसिङ

भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Even though the infrastructure was damaged by the flood, human losses were reduced: Kulman Ghising

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण यसपटक बाढीपहिरोले पूर्वाधारमा क्षति पुगे पनि मानवीय क्षति कम भएको बताए ।

पर्याप्त मात्रामा सूचना जारी गर्दा र पूर्व तयारी गर्दा क्षति कम भएको उनको भनाइ छ । वर्षा कम भएसँगै अवरुद्ध भएका सडकलाई सुचारू गर्न काम थालिएकोसमेत घिसिङले बताए । 

‘सडक पूर्वाधारको आर्थिक क्षति यकिन गर्न बाँकि छ,’ उनले भने, ‘अहिले त बाटो खुलाउन लागि पर्छौं ।’

भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ ।

‘प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी छ र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हिजोदेखि नै मेशिन र जनाशाक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम–मुग्लिन हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन सञ्चालन हुनसक्ने बनाइसकिएको छ ।’

अवरुद्ध बिपी राजमार्ग (भकुन्डेबेसी-नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम सुरु भइसकेको सडक विभागका महानिर्देशक विजय जैशीले जानकारी दिए ।

मन्त्रालयले देशभरीका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग समन्वय गरी सडक विभागमार्फत सडक खोल्ने तथा मर्मत कार्यलाई गति दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully