सरकारले विराटनगर भन्सार कार्यालयबाट बहुप्रतिक्षित मूल्यांकन डेटाबेस प्रणालीको सफल परीक्षण गरेको छ।
What you should know
काठमाडौँ — सरकारले विराटनगर भन्सार कार्यालयबाट बहुप्रतिक्षित मूल्यांकन डेटाबेस प्रणालीको सफल परीक्षण गरेको छ। प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गर्दै विश्व व्यापार संगठनअन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित तथा अधिकांश मुलुकमा प्रचलित यो मूल्यांकन विधि नेपालमा पहिलोपटक सुरु भएको हो।
यही असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन गरिएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाबारे व्यवसायीले गर्दै आएका गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ।
यस विधिअन्तर्गत भन्सार जाँचपास भएका सबै वस्तुको मूल्य विवरण सङ्कलन गरिनेछ। सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न सकिने डिजिटल स्रोत हो, जसले कारोबार मूल्य पहिचानमा सहयोग पुग्नेछ।
व्यवसायीहरूले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मूल्यांकन डेटाबेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रिया हो। नेपाल उद्योग वाणिज्य महासंघले ग्याट भ्यालुएसन अनुसार अनलाइन मूल्यांकन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएको थियो।
मूल्य निर्धारण डब्ल्यूटीओ/ग्याट भ्यालुएसन आर्टिकल ७ मा उल्लेखित विधिहरूको पूर्ण पालना गरी सोअनुरूप कारोबार मूल्य निर्धारण गर्नुपर्ने माग महासंघको छ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल पाइलट परियोजनाका रूपमा विराटनगरबाट सुरु भएको मूल्यांकन प्रक्रियाको प्रभावकारी उपयोग गर्न उद्यमी व्यवसायीलाई आग्रह गरे। उनले मुलुकका सबै भन्सार नाकामा उक्त सेवा विस्तार गर्न सरकारसँग माग गरे ।
अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्यूनबीजकीकरण गरी बढी पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
