नेपाल विद्युत् प्राधिकरणले विद्युतीय संरचनामा क्षति हुन नदिन र विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा सञ्चालन प्रतिबद्ध रहेको जनाएको छ ।
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विद्युत् अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगे तुरुन्तै सम्बन्धित वितरण केन्द्र, प्राधिकरणको हटलाइन नम्बर ११५० वा स्थानीय ‘नो–लाइट’ नम्बरमा सम्पर्क गरी जानकारी दिन आग्रह गरेको छ ।
प्राधिकरणले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युतीय संरचनामा क्षति हुन नदिन र विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।
‘सम्भावित प्रतिकूल अवस्थालाई मध्यनजर गरी विद्युतीय संरचनामा क्षति हुन नदिन र विद्युत् सेवा अवरुद्ध भएमा यथाशिघ्र मर्मतसम्भार गरी सेवा सुचारु गर्नका लागि प्राधिकरण प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सोअनुसार सम्बन्धित कार्यालयका कर्मचारी तयारी अवस्थामा राखिएको जानकारी गराउँछौं ।’
प्राधिकरणले प्रतिकूल मौसमले ल्याउन सक्ने सम्भावित जोखिमको आकलन गरी सुरक्षित स्थानमै रहन, आकस्मिक अवस्थाबाहेक आवतजावत नगर्न र सावधानीपूर्वक विद्युतीय उपकरण प्रयोग गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै, विद्युत् अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगे तुरुन्तै सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा, प्राधिकरणको हटलाइन नम्बर ११५० मा वा स्थानीय ‘नो–लाइट’ नम्बरमा सम्पर्क गरी जानकारी दिन समेत आग्रह गरिएको छ। ‘नो–लाइट’ नम्बरका लागि लिंकमार्फत जानकारी लिन सकिने प्राधिकरणले जनाएको छ।
