४६औँ विश्व पर्यटन दिवसका अवसरमा नेपाललाई सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गरिएको छ ।
काठमाडौँ — ४६औँ विश्व पर्यटन दिवसका अवसरमा नेपाललाई सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार बोर्डको सभा हलमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपालको पर्यटन पछिल्लो जेन-जी आन्दोलनपछि संकट पार गरेर पुनः उर्ध्वमुखी चरणमा पुगेको बताएका छन् । साथै, पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
‘पर्यटन र दिगो रूपान्तरण’ भन्ने नारासहित मनाइएको दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना सन्देश वाचन गरिएको थियो । सन्देशमा नेपाल अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृतिको धनी तथा विश्वप्रसिद्ध हिमालका कारण आकर्षक पर्यटन गन्तव्य भएको उल्लेख थियो । प्रधानमन्त्रीले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यकतामा जोड दिँदै नयाँ गन्तव्यको पहिचान, प्रवर्द्धन र संवर्द्धन अपरिहार्य रहेको बताएकी थिइन् ।
उनले जेन-जी आन्दोलनका कारण पर्यटन प्रभावित भए पनि तत्काल रिकभरी सुरु भइसकेको उल्लेख गर्दै यस वर्षको दिवसले पर्यटनलाई दिगो विकास, आपसी समझदारी र अन्तर्राष्ट्रिय मित्रताको आधारका रूपमा प्रवर्द्धन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् । साथै, नेपाल सरकार पर्यटन पूर्वाधार विस्तार र सेवा गुणस्तर सुधारमार्फत यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध रहेको स्पष्ट गरिन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सक्रियताबिना पर्यटन विकास सम्भव नहुने बताउँदै मन्त्रालय सधैं नीति तथा कानुनी सहजताका लागि तयार रहने उल्लेख गरे । सहसचिव इन्दु घिमिरेले पनि छोटो अवधिमै पर्यटन रिकभरीमा पुगेको र दिगो रूपान्तरणका लागि सरकार निजी क्षेत्रसँगै उभिएको बताइन् ।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउँदै आएको जानकारी दिँदै जेनजी आन्दोलनपछि पर्यटक आगमन पुनः बढ्न थालेको तथ्य प्रस्तुत गरे । उनका अनुसार आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक नेपाल आउँथे भने आन्दोलनताका यो संख्या १६ सयमा झरेको थियो । दोस्रो सातामा २२ सय पुगेको आगमन हाल २९ सय हाराहारीमा पुगेको उनले जानकारी दिए ।
कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरू र व्यक्तिहरूलाई सम्मान गरिएको थियो । दार्चुलाको अपि हिमाल गाउँपालिका, आरोहण गाइडका रूपमा ५० वर्षभन्दा बढी समय योगदान पुर्याएका सोलुखुम्बुका छिरिङ टेण्डी शेर्पा, उद्धार कार्यमा आङ नोर्बु शेर्पा, सगरमाथा ११ पटक र मनास्लु ६ पटक आरोहण गरेका सिद्धिबहादुर तामाङलगायत १९ जना व्यक्तिहरू र संस्थाहरू सम्मानित भए ।
यस्तै, कार्यक्रममा 'गाउँ पर्यटन र पहिचान' नामक पुस्तक विमोचन गरिएको थियो । दिवसकै अवसरमा नेपाल अवतरण गर्ने पहिलो पर्यटक अमेरिकी नागरिक जर्ज कोर्डेल ब्रानुन र चिलीका नागरिक हर्जोग अमुनातेगुइलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।
