कर्मचारीलाई तलब खुवाउन सस्तो ब्याजमा ऋण, सरकारबाट २ प्रतिशत ब्याज अनुदान पाइने

प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न भन्दै राष्ट्र बैंकले रोजगारदाता संस्था/प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Loans at low interest rates to pay salaries to employees, 2 percent interest subsidy from the government

काठमाडौँ — जेन-जी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानले कर्मचारीलाई तलब खुवाउनका लागि सस्तो ब्याजमा ऋण पाउने भएका छन् । 

प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न भन्दै राष्ट्र बैंकले रोजगारदाता संस्था/प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । ‘जेन-जी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न रोजगारदाता संस्था/प्रतिष्ठानले पेरोल प्रोटेक्सन स्किम ल्याई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउन कर्जा माग गरेमा बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्नेछ ।

यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्मका लागि २ (दुई) प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुनेछ । अनुदान नेपाल सरकारबाट प्राप्त भएपश्चात् ऋणीलाई उपलब्ध गराउनु पर्नेछ ।

यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिनु पर्ने व्यवस्था राष्ट बैंकले गरेको छ ।

यस्तै, कम्तीमा १०० जना महिलालाई रोजगारी प्रदान गरी न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगले पनि सस्तो ब्याजमा कर्जा पाउने भएका छन् । यस्तो कर्जाका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा बढीमा १ प्रतिशत विन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न राष्ट्र बैंकले भनेको छ ।

कान्तिपुर

Link copied successfully