यो वर्ष नभरिने भो कुलेखानी !

जलाधार क्षेत्रमा आरीघोप्टे वर्षा भए मात्र जलाशय भरिने आयोजनाले जनाएको छ ।

आश्विन १०, २०८२

प्रताप विष्ट

Kulekhani will not be filled this year!

हेटौंडा — यो वर्ष कुलेखानी जलाशय भरिने सम्भावना न्यून हुँदै गएको छ । मनसुनको समय सकिन लागिसक्दा पनि जलाशयमा करिब १८ मिटर मात्र पानीको सतह बढेको छ । 

सुक्खायाममा कुलेखानी जलाशयको पानीको सतह १ हजार ४ सय ८५ मिटरसम्म झरेको थियो । वर्षायाम सुरु भएपछि कुलेखानी जलाशय इन्द्रसरोवरमा बिहीबार अपराह्नसम्म १ हजार ५ सय ३ दशमलब ८२ सेन्टिमिटर मात्र पानी संकलन भएको छ । 

कुलेखानी भरिन करिब २७ मिटर बाँकी छ । कुलेखानी जलाशय एक हजार ५ सय ३० मिटर पानी अट्ने क्षमतामा छ । गत वर्ष असोज ८ गते जलाशयको सतह १ हजार ५ सय २६ मिटर पुगेको थियो । ‘अहिलेको वर्षायाममा जलाधार क्षेत्रमा पानी नै परेको छैन,’ कुलेखानी  जलविद्युत आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘असोज पहिलो साता बितिसक्यो, मौसमको छाँटकाट हेर्दा यो वर्ष जलाशय भरिन मुस्किलै छ, नर्मल पानी परेर हुँदैन, जलाधार क्षेत्रमा आरीघोप्टे वर्षा भए मात्र जलाशय भरिन्छ ।’ 

आयोजनाका अनुसार गत वर्ष साउन, भदौ र असोजमा जलाशयमा दैनिक ५० देखि ७५ सेन्टिमिटरसम्म पानीको सतह बढथ्यो, अहिले मुस्किलले २० सेन्टिमिटर पनि बढ्दैन । अहिले कुलेखानी जलविद्युत आयोजना ‘सटडाउन’गरिएको छ । पानीको सतह नबढेकाले सुक्खायाममा विद्युत् उत्पादनमा समस्या आउने मात्र होइन, मार्खु र चित्लाङमा आएका आन्तरिक एवं बाह्य पर्यटक पनि निराश भएर फर्कने गरेका छन् । 

'गत वर्ष असोज १० देखि १२ सम्म जसरी जलाधार क्षेत्रमा वर्षा भएको थियो, त्यसरी वर्षा भए मात्र जलशाय भरिन सक्छ नत्र अहिले परेको पानीले जलाशय भरिँदैन,' आयोजनाका एक वरिष्ठ प्राविधिकले भने । गत वर्ष असोज १० देखि १२ सम्म परेको पानीले जलाशय एक्कासि भरिएर कुलेखानीको ढोका खोल्दा तल्लो तटीय क्षेत्र सिस्नेरीको सडक, पुल र बस्तीमा क्षति पुगेको थियो  । 

नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय भरिएन भने प्राधिकरणलाई सुक्खायाममा विद्युत् उत्पादन र वितरणमा समस्या हुनेछ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, वज्रवाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । उक्त क्षेत्रमा अहिलेसम्म वर्षा राम्रोसँग भएको छैन । जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत उत्पादनमा प्रयोग गर्न सकिन्छ । 

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । जलाशय ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully