दसैं, तिहार र छठ पर्व अवधिभरका लागि नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने दैनिक सीमा बढाइदिएको छ । हाल दिनमा १० पटक मात्रै क्यास लोड गर्न मिल्नेमा अब दिनको ४० पटकसम्म गर्न सकिने भएको हो ।
काठमाडौँ — भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार हालसम्म प्रयोगकर्ताले आफ्नो वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न पाउने व्यवस्था थियो । अब भने छठसम्मका लागि दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिनेछ ।
पर्वका बेला बढ्ने कारोबारलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो अस्थायी व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार दशैको अवसरमा २०८२ असोज १३ गतेदेखि असोज २१ गतेसम्म र तिहार तथा छठको अवसरमा २०८२ कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म प्रयोगकर्ताले आफ्ना वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन् ।
उक्त अवधिमा भएका कारोबारको संख्या र कारोबारको कुल रकमको विवरण भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई आग्रह पनि गरेको छ ।
