एक सातामा ७१ प्रतिशतसम्मले बढ्यो मूल्य
काठमाडौँ — पहिरोले राजमार्ग अवरुद्धसँगै हरियो तरकारीको मूल्य बढ्न थालेको छ । उपत्यका भित्रिने मुख्य नाका नागढुंगा– नारायणगढ सडकअर्न्तगत धादिङको जवाङखोला, चितवन तुइन खोलामा पहिरोले उपत्यकामा पर्याप्त तरकारी नभित्रिँदा मूल्य बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिलेको सिजनमा औसत दैनिक ७ सय टनसम्म तरकारी भित्रिनुपर्छ । तर आगमन न्यून छ ।
उपत्यकाको माग अनुसार भित्रिएको छैन । जसले गर्दा तरकारीको मूल्य होलसेलमै बढेको छ ।
‘पछिल्लो समय मूल्य बढ्नुको कारण आपूर्तिमा कठिनाइ नै हो । तरकारी अन्य नाकाबाट भित्रिए पनि मुख्य नाका अवरुद्ध भएको छ । सहजरुपमा तरकारी भित्रिन सकेको छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘सोही कारण मूल्य बढेको छ ।’
समितिको मूल्य विश्लेषण तथ्यांक अनुसार एक सातायता सबैभन्दा धेरै काक्रो (हाइब्रिड)को मूल्य ७१.२० प्रतिशतले बढेको छ । असोज ४ गते प्रतिकिलो २४ रुपैयाँ(होलसेल मूल्य)मा बिक्री भएको काक्रो बढेर ४३ रुपैयाँ पुगेको छ । काँक्रोसँगै गोलभेँडा,आलु, सुकेको प्याज, बन्दा, काउली, बोडी, घिउ सिमी, मटरकोशा, तिते करेला,लौका, हरियो फर्सी, भिण्डी लगायत सबैजसो हरियो तरकारीको मूल्य बढेको छ ।
समितिका अनुसार असोज ४ मा फर्सी हरियो (लाम्चो)को मूल्य ३५ रुपैयाँ थियो । बिहीबार (असोज ९ मा) मूल्य ५९ प्रतिशतले बढेर ५६ रुपैयाँ पुगेको छ । प्रतिकिलो ७५ रुपैयाँ पर्ने भिण्डीको मूल्य बढेर ८४ रुपैयाँ, किलोको ७५ रुपैयाँ पर्ने रायोको सागको मूल्य बढेर १ सय ८ रुपैयाँ, किलोको ९० रुपैयाँ पर्ने पालुङ्गो साग बढेर १ सय २२ रुपैयाँ पुगेको छ ।
‘तरकारी आगमनको कुरा गर्दा बिहीबार बिहान ७ बजेसम्म हरियो तरकारी १ सय ८४ टन आयो । तरकारी, फलफूल, माछा लगायत सबै गरेर ३ सय ६३ टन आयो । बुधबार पनि ताजा तरकारी २ सय २३ टन मात्रै आयो, सबै गरेर ४८९ टन मात्रै भित्रियो,’ श्रेष्ठले भने, ‘मगलबारको आगमन हेर्दा पनि पर्याप्त छैन । तरकारी, फलफूल, माछा लगायत सबै गरेर ६ सय १७ टन मात्रै आयो ।’ सोमबार भने तरकारी मात्रै ८ सय १० टन भित्रिएको थियो । फलफूल माछा सहित ९ सय ३९ टन भित्रिएको थियो । तर शनिबार तरकारी, फलफूल माछा गरेर जम्मा ५ सय १८ टन मात्रै भित्रिएको थियो । जसले गर्दा बजार मूल्यमा केही बढेको जनाएको छ ।
समितिका अनुसार च्याउ (कन्य)को मूल्य १० प्रतिशतले बढेर किलोको १ सय ८४ रुपैयाँ पुगेको छ । ब्रोकाउली २१ प्रतिशतले बढेर १ सय ८२ रुपैयाँ, लोकल गोलभेँडा ५ प्रतिशतले बढेर किलोको ४३ रुपैयाँ, टनेल गोलभेँडा ९ प्रतिशतले बढेर किलोको ५५ रुपैयाँ पुगेको छ ।
उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि तरकारी आयात हुन्छ । तराई र भारतबाट आउने मुख्य नाकामा समस्या हुँदा पर्याप्त तरकारी भित्रिन नसकेको समितिले जनाएको छ । रातो आलुको मूल्य १४ प्रतिशतले बढेर ३६ रुपैयाँ, प्याज सुकेको (भारतीय) मूल्य १७ प्रतिशतले बढेर प्रतिकिलो ४२.२५ रुपैयाँ पुगेको छ ।
एक साताअघि किलोको ४४ रुपैयाँ पर्ने बन्दाको मूल्य बढेर ४८ रुपैयाँ, तने बोडी १ सय ११ रुपैयाँबाट बढेर १ सय ३८ रुपैयाँ पुगेको छ । त्यस्तै, किलोको ९५ रुपैयाँ पर्ने घिउ सिमीको मूल्य बढेर १ सय ३० रुपैयाँ, किलोको ८५ रुपैयाँ पर्ने मटर कोसाको मूल्य बढेर १ सय २ रुपैयाँ पुगेको छ ।
होलसेलमै मूल्य बढ्दा खुद्रा मूल्य पनि अचाक्ली रूपमा बढेको छ । खुद्रामा पसलैपिच्छे मूल्य फरक पाइन्छ । जानकारका अनुसार तरकारी एक थरी बिचौलियाले किसानबाट सकलन गर्ने, अर्कोले थोक बजारसम्म ल्याइदिने र खुद्रा पसल पनि आफै होलसेल नगई गाडी मार्फत ल्याउने प्रचलन छ । यसरी विभिन्न तह हुँदा मूल्य मुल्यपनि आफूखुसी निर्धारण हुन्छ ।
व्यवसायीको सटर भाडामा पनि एकरूपता छैन । जसले गर्दा उपभोक्ताबाट चर्को शुल्क असुल्छन् । तर सरकारले बजार अनुगमन गरेको छैन । पछिल्लो समय अनुगमन सुधार गर्न निर्देशन मात्रै दिने गरेको छ । जसले गर्दा बजारमा लुट मच्चिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।
‘चाडबाडको मुखमा सर्बसाधरण ठगिने धेरै सम्भावना हुन्छ । यही बेला अनुगमनको खाँचो पनि हो, तर पछिल्लो समय अनुगमन सुस्त छ, ठगी गर्नेलाई पनि निर्देशन मात्रै दिएर उन्मुक्ति दिइएको छ,’ उनले भने, ‘ठगी गर्नेलाई छुट हुँदा बदमास गर्ने व्यापारीको मनोबल झन् बढेको छ ।’
कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीले उपत्यकाको करिब ७० देखी ७५ प्रतिशत माग धान्छ । बाकी, बल्खु, बालाजु, टुकुचा, कोटेश्वर, चाबहिल लगायत तरकारी बजारले धान्दै आएको छ ।
