चाडपर्व नजिकिएसँगै लामो समयदेखि थन्किएका जिप, कार, भ्यानजस्ता सवारीसाधन जाँचपास भई छुट्ने गरेका छन् ।
पर्सा — चाडपर्व नजिकिएसँगै वीरगन्ज भन्सार नाकाबाट नयाँ सवारीसाधन जाँचपास हुने क्रम पनि बढेको छ । विशेषगरी दसैं र तिहारमा नयाँ सवारी साधन खरिद बिक्री बढी हुने गरेकाले चाडपर्व नजिकिएसँगै बर्सेनि वीरगन्ज भन्सार परिसरमा लामो समयदेखि थन्किएका जिप,कार,भ्यान तथा बस ट्रकका चेसिस जस्ता सवारी साधन जाँचपास भई छुट्ने गरेका छन् । यसले भन्सारको राजश्व असुलीमा पनि उत्साहजनक वृद्धि गर्छ ।
यस वर्ष भने इन्धनले चल्ने सवारी भन्दा विद्युतीय सवारीसाधन बढी जाँचपास भइरहेको छ । वीरगन्ज भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार सिर्सिया सुक्खा बन्दरगाह परिसरमा रहेका १ सय ४ को संख्यामा रहेका तेस्रो मुलुकबाट आयातित जिप, कार, भ्यान समूहका सवारी धमाधम जाँचपाच भई बाहिरिँदै छन् ।
‘सुक्खा बन्दरगाहमा रहेको अधिकांश विद्युतीय सवारीसाधन जाँचपास भई दैनिक छुट्दै छन्, थप २० वटा विद्युतीय सवारी एकदुई दिनभित्रै छुट्दै छन्, आयातकर्ता छुटाउन आइसके,’ उनले भने, ‘बाँकी ७५ को संख्यामा रहेका विद्युतीय सवारीसाधन पनि जाँचपास भई जाने प्रक्रियामा छन् ।’
विद्युतीय सवारीमा चिनियाँ डिपल कम्पनीका बढी छन् । इन्धनले चल्ने सवारीमा टोयोटा कम्पनीका केही कार पनि जाँचपास भएको उनले बताए । तेस्रो मुलुकबाट आयातित ल्यान्डरोभर कम्पनीका सवारी पनि बन्दरगाह परिसरमा छन् । तर ती महँगा भएकाले तत्काल जाँचपास हुने सम्भावना छैन । बन्दरगाह परिसरमा रहेका अधिकांश सवारी दसैँअघि नै जाँचपास भई छुट्ने सम्भावना रहेको उनले बताए ।
यता एकीकृत सुरक्षा जाँच चौकी परिसरमा पनि ४५ को हाराहारीमा भारत तथा तेस्रो मुलुकबाट आयातित जिप, कार, भ्यान रहेका छन् । इन्धनले चल्ने ती सवारीमध्ये केही सवारी जाँचपास भएर जाने प्रक्रियामा छन् ।
वीरगन्ज भन्सारले संकलन गर्ने कुल राजस्वमा नयाँ सवारीसाधनको आयातबाट संकलन हुने राजस्वको पनि प्रमुख भूमिका रहने गरेको छ ।
