बढ्न सकेन नेप्से, परिसूचक र कारोबार रकम दुवै घटे

बिहीबार ३७ हजार ५ सय ६२ पटकको कारोबारमा ७९ लाख ५३ हजार ७ सय ४० कित्ता सेयर किनबेच भए ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

NEPSE did not increase, both the index and turnover decreased

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । बुधबार करिब २८ अंकले घटेर २ हजार ६ सय ५४.३५ अंकमा बन्द भएको नेप्से बिहीबार २.३५ अंकले घटेको हो ।

अघिल्लो दिनको तुलनामा ०.०८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ५२ अंकमा ओर्लेर बन्द भएको छ । सो दिन कारोबारमा आएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीका घटेको छ । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से सामान्य अंकले घटेको हो ।

बिहीबार ३७ हजार ५ सय ६२ पटकको कारोबारमा ७९ लाख ५३ हजार ७ सय ४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, लगानी, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक सामान्य बढे । बाँकी सबैको परिसूचक घटे ।

कान्तिपुर

Link copied successfully