आयातसँगै निर्यात पनि बढ्यो

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात, व्यापार घाटा ८.५९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड पुग्यो

आश्विन ८, २०८२

राजु चौधरी

Exports also increased along with imports

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा २ खर्ब ६२ अर्बर् ५४ करोडको आयात भएको थियो । 

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयात बढेको हो । आसन्न चाडबाडले लत्तकपडालगायत वस्तुको पनि आयात बढेको छ । जसले गर्दा आयात र निर्यातको खाडल बढेको छ । गत साउन र भदौमा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.५७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा २५ अर्ब ९ करोड रुपैयाँको निर्यात भएको थियो । यस वर्ष भने आयातसँगै निर्यात रकम पनि बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ४३ अर्ब ४ करोडको वस्तु आयात भएको थियो । २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । भदौसम्म आइपुग्दा आयात सामान्य बढेको छ । निर्यातको हकमा भने उस्तै छ । विभागका अनुसार आयात हुने वस्तुमा पहिलो नम्बरमा सोयाबिन कच्चा पदार्थ छ । दुई महिनामा २१ अर्ब ६४ करोड ७७ लाख रुपैयाँको सोयाबिन कच्चा पदार्थ आयात भएको छ । 

तेस्रो मुलुकबाट आयात हुने सोयाबिन कच्चा पदार्थ नेपालमा प्रशोधन भएर भारत निर्यात गरिन्छ । निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायीहरू सोयाबिन तेल स्वदेशमा बिक्रीभन्दा भारतमै निर्यात गर्छन् । सोयाबिनको कच्चा पदार्थ र तेलले समग्र आयातनिर्यातको व्यापार बढाएको छ । 

दोस्रोमा भने १४ अर्ब ९१ करोड रुपैयाँको डिजेल आयात भएको छ । १० अर्ब ५८ करोडको पेट्रोल, ९ अर्ब ४३ करोडको एलपी ग्यास, ८ अर्ब ८७ करोडको आइरन, ३ अर्ब १२ करोडको सुन, २ अर्ब ८५ करोडको हवाई इन्धन आयात भएको छ । स्वदेशमै उत्पादन हुन सक्ने २ अर्ब ७१ करोड रुपैयाँको मकै, २ अर्ब २३ करोड रुपैयाँको सनफ्लावर कच्चा पदार्थ, २ अर्ब १४ करोडको धान, २ अर्ब ३ करोड रुपैयाँको स्याउलगायत वस्तु आयात भएको छ । 

निर्यात हुने वस्तुमा सोयाबिन तेल नै अगाडि छ । चालु आर्थिक वर्षको दुई महिनामा २० अर्ब ४२ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । दोस्रोमा १ अर्ब ५८ करोडको कार्पेट, १ अर्ब ३८ करोडको सनफ्वार तेल, १ अर्ब ३१ करोडको पाम तेल, ८८ करोडको यार्न, ८५ करोडको अलैंची, ७७ करोडको जुसलगायत वस्तु निर्यात भएको छ । 

विभागका अनुसार सबैभन्दा धेरै वीरगन्ज भन्सार नाकाबाट १ खर्ब ४६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । दोस्रोमा भैरहवा भन्सार नाकाबाट ४८ अर्ब २२ करोड, विराटनगर नाकाबाट ४१ अर्ब ४९ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट ३१ अर्ब ६३ करोड, नेपालगन्ज नाकाबाट ११ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

 निर्यातमा पनि सबैभन्दा धेरै वीरगन्ज भन्सार नाकाबाट १६ अर्ब ७८ करोड, विराटनगरबाट १४ अर्ब २४ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट ६ अर्ब २२ करोड र भैरहवाबाट ४ अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । 

आयात निर्यातसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा ८.५९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । जबकि गत आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ थियो । वस्तुको आयात बढिरहँदा सरकारले ७७ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully