मंगलबारको वृद्धि अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २ हजार ६ सय ८२.२५ विन्दुमा उक्लेको छ । आइतबार १११ अंकले बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
गत बिहीबार नेप्से हालसम्मकै उच्च १६० अंक घटेको थियो । मंगलबारको वृद्धि अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो । सो दिन कारोबारमा आएकामध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ ।
६७ हजार ३ सय ८२ पटकको कारोबारमा १ करोड १३ लाख ५३ हजार १ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम घटेको हो ।
गत आइतबार ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से ५८ अंकले बढेको हो ।
