करिब ४३ वर्षअघि निर्माण गरिएको कुलेखानी प्रथम र दोस्रो आयोजना पुरानो मोडेलको भएकाले तिनमा अटोमेसिन जडानको काम भइरहेको छ ।
हेटौंडा — कुलेखानी जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिटमा 'अटोमेसिन' जडान गर्नका लागि शनिबारदेखि आयोजना सञ्चालन बन्द गरिएको छ ।
आयोजना ‘सटडाउन’ गरेर कुलेखानी प्रथम र दोस्रोमा अटोमेसिन जडान गर्न लागिएको हो । वर्षाको समयमा कुलेखानीबाट विद्युत् उत्पादन गर्नु नपर्ने भएकाले यही समयमा ‘सटडाउन’ लिएर मर्मत सम्भारलागयत अटोमेसिनको जडान कार्य गर्न लागेको आयोजनाका प्रमुख तारादत्त भट्टले बताए ।
‘करिब ४३ वर्षअघि निर्माण गरिएको कुलेखानी प्रथम र दोस्रो आयोजना पुरानो मोडेलको भएकाले यसमा अटोमेसिन जडान गर्न लागेका हौं,' उनले भने ‘अटोमेसिन जडान गरेपछि विद्युत् उत्पादन र बन्द गर्ने काम कम्प्युटरबाटै हुन्छ, अहिले म्यानुअलबाट भइरहेको छ ।’
चार वर्षअघि मात्र निर्माण गरिएको कुलेखानी तेस्रोमा भने अटोमेसिन जडान गरिएको छ ।
नेपाली प्राविधिकहरुले नै अटोमेसिन जडान कार्य गरिरहेका छन् । उक्त कार्यका लागि कालीगण्डकी, मध्यमर्स्याङदी र देवीघाटबाट सम्बन्धित प्राविधिक ल्याइएको छ । जडानको काम सक्न करिब एक महिना लाग्ने प्राविधिकहरुको भनाइ छ ।
कुलेखानी प्रथम र दोस्रोमा अटोमेसिन जडान गरिरहेको समयमा कुलेखानी तेस्रोले मर्मत सम्भारको कार्य गरिरहेको जनाएको छ । कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा नआएपछि तेस्रो पनि सञ्चालन हुँदैन । दोस्रोकै पानी ल्याएर तेस्रोमा विद्युत् उत्पादन गर्ने हो ।
कुलेखानीका तीन वटै आयोजना अहिले बन्द छन् । नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी सुक्खायाममा सञ्चालनमा ल्याउने गरिएको छ । उक्त समयमा विद्युत् खपतका आधारमा आयोजना सञ्चालन गरिन्छ । इन्द्रसरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो, दोस्रो र तेस्रो निर्माण गरेको हो ।
कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । २०३९ सालमा इन्द्रसरोवर तालको निर्माण एक करोड २० लाख अमेरिकन डलरमा गरिएको थियो ।
