निजी तथा सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको छ।
काठमाडौँ — भदौ २४ को प्रदर्शनका क्रममा मुलुकभर भौतिक संरचनामा भएको क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ५ प्रतिशतसम्म पुगेको नेपाल उद्योग परिसंघको प्रारम्भिक अनुमान छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार, निजी क्षेत्रको मात्रै एक खर्बभन्दा बढी मूल्यको भौतिक संरचना क्षतिग्रस्त भएको छ। करिब सवा २२ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परिसकेको छ।
सरकारी संरचना र बिमा नभएका निजी संरचनामा प्रत्यक्ष क्षति तथा तिनसँग सम्बन्धित व्यापार, व्यवसाय, रोजगार लगायतका अप्रत्यक्ष क्षति हेर्दा जीडीपीमा करिब ५ प्रतिशतको असर पुगेको पाण्डेले बताए।
उनका अनुसार, निजी तथा सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको छ। अहिलेको परिस्थितिमा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त जरुरी छ र त्यसका लागि सरकारको थप जिम्मेवारी रहेको छ।
पाण्डेले भने, 'अर्थतन्त्रलाई फेरी माथि उठाउनका लागि वित्त नीति र मौद्रिक नीतिमार्फत सुविधा प्याकेज ल्याउन आवश्यक छ। सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्छ। ठूला उद्योगका लागि निश्चित समय सीमा सहितको सहुलियत प्याकेज ल्याउनुपर्छ।'
