दसैँका लागि खाद्यले छुटका खसीबोका र च्याङ्ग्रा नबेच्ने

विगतका वर्षझैँ यस पटक पनि विभिन्न जिल्लाबाट १५ सय खसीबोका र मुस्ताङबाट करिब ३ सय च्याङ्ग्रा ल्याएर बजार भाउभन्दा सस्तोमा बिक्री गर्ने योजना थियो ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Don't sell discounted khasiboka and changra for Dasain

काठमाडौँ — सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक सहुलियत खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ। जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थासँगै मुख्य सडक अवरुद्ध भएकाले यस पटक छुटको खसीबोका बिक्री नगर्ने निर्णयमा पुगेको खाद्यले जनाएको छ।

'विगतका वर्षझैँ यस पटक पनि विभिन्न जिल्लाबाट १५ सय खसीबोका र मुस्ताङबाट करिब ३ सय च्याङ्ग्रा ल्याएर बजार भाउभन्दा सस्तोमा बिक्री गर्ने योजना थियो। यी चौपाया वस्तुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भइसकेको थियो,' खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री विभाग प्रमुख भिमबहादुर थापाले भने।

'तर पछिल्लो राजनीतिक घटनाक्रमले गाउँपालिकासँग सम्पर्क टुटेको छ। बाटोको अवस्था पनि ठिक छैन, त्यही कारण यस पटकको दसैँमा छुटका खसीबोका बिक्री नगर्ने निर्णयमा पुगेका छौँ,' उनले थपे।

खाद्यले यस पटक खसीबोका र च्याङ्ग्रा बिक्री गर्न अग्रिम अनलाइन बुकिङ समेत खुला गरेको थियो। तर सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि जेन-जी आन्दोलनले स्थानीय तहसँगको सम्पर्क टुटेको खाद्यको भनाइ छ।

'खसीबोका संकलनदेखि ढुवानीसम्ममा स्थानीय तहकै सहकार्य चाहिन्छ, तर पछिल्लो समय सम्पर्क टुटेकाले यस वर्ष सहुलियत खसीबोका बिक्री गर्न सक्ने अवस्था रहेन,' थापाले भने, 'अग्रिम अनलाइन बुकिङ खुला गर्दा ४० जनाले बुकिङ गरेका थिए, अहिले रकम फिर्ता गर्दै छौँ।'

बजारमा सरकारी हस्तक्षेप नहुँदा व्यवसायीहरूले मनोमानी मूल्यमा खसीबोका बिक्री गर्दै आएका छन्। त्यसलाई निरुत्साहित गर्न खाद्यले छुटमा बिक्री गर्दै आएको थियो। यस पटक भने खाद्यले खसीबोका ल्याउन र बिक्री गर्न नसक्ने जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully