भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनको क्रममा क्षति पुगेका निजी क्षेत्रको उद्योग, व्यवसाय, व्यावसायिक प्रतिष्ठानलगायतले पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा भन्सार तथा अन्तशुल्क ५० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौँ — भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनको क्रममा क्षति पुगेका निजी क्षेत्रको उद्योग, व्यवसाय, व्यावसायिक प्रतिष्ठानलगायतले पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा भन्सार तथा अन्तशुल्क ५० प्रतिशत छुट पाउने भएका छन् । सोमबारको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।
‘जेनजी आन्दोलनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा भएको आगजनी वा तोडफोडबाट भवन, भर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बिमा सर्भेयरको प्रतिवेदनबाट एकिन भएको मालबस्तुको विवरणको आधारमा सोको पुन:स्थापना तथा सञ्चालनका लागि त्यस्तो माल बस्तु आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्तशुल्कमा आर्थिक ऐनको दफा १८को उपदफा १ बमोजिम ५० प्रतिशत छुट दिने,’ अर्थ मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
