२२ अर्बको बिमा दाबी, सबैभन्दा बढी क्षति बागमतीमा

क्षतिको बिमा दाबी आउने क्रम जारी, रकम अझै बढ्ने अनुमान, भुक्तानी छिटपुट मात्र 

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

22 billion in insurance claims, the highest loss in Bagmati

काठमाडौँ — यही २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको देखिएको छ । सम्पत्तिधनीले क्षतिबापत गरेको बिमा दाबीको तथ्यांकले यस्तो देखाएको हो । आइतबारसम्म बिमा कम्पनीहरूमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । यस अवधिमा कुल २ हजार ४ सय ४८ दाबी परेका छन् । तीमध्ये ५४ प्रतिशत अथवा १ हजार ३ सय ४३ वटा दाबी बागमतीबाट छन् । 

दोस्रोमा धेरै ३ सय २२ वटा दाबी कोशीमा परेका छन् । तेस्रोमा मधेशमा २ सय ४६ वटा दाबी परेका छन् । लुम्बिनीमा २ सय २, गण्डकीमा १ सय ८४, सुदूरपश्चिममा १ सय ५९ र कर्णालीमा २२ वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । रकमका आधारमा पनि करिब ८१ प्रतिशत क्षति बागमतीमा परेको तथ्यांकमा देख्न सकिन्छ । गत आइतबारसम्म परेको सवा २२ अर्ब रुपैयाँ दाबीमध्ये सबैभन्दा धेरै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बागमतीकै छ । यो कुल दाबी रकमको ८०.७७ प्रतिशत हो । यसरी बिमा दाबीका लागि परेका उल्लिखित तथ्यांकका आधारमा संख्याका हिसाब आधाभन्दा बढी र रकमका हिसाबले ८१ प्रतिशत क्षति बागमतीमा परेको विश्लेषण गरिएको हो । 

यद्यपि क्षति भएको सबै संरचनाको बिमा गरिएको हुँदैन, केही अवस्थामा थोरै रकमको बिमा भएकोमा क्षति धेरै भएको हुन सक्छ । नेपालमा अपवादबाहेक सरकारी संरचनाको बिमा गरिएको छैन । यसको अर्थ परेको बिमा दाबीमा सरकारी संरचनाको क्षति पनि समावेश छैन । यसकारण बिमा दाबीकै आधारमा क्षतिको यकिन विवरण निकाल्न गाह्रो छ । 

आइतबारसम्म परेको दाबीमध्ये सबैभन्दा धेरै १ हजार ७ सय ७८ वटा मोटर बिमाका छन् । यस्तै, सम्पत्ति बिमा ५ सय ३८, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १ सय ३२, पारवहन बिमामा ११ र अन्यमा १९ वटा दाबी परेका छन् । यद्यपि यो सुरुको दाबी भएकाले धेरै रकमको आउने र परेकामध्ये सबै नै वास्तविक भुक्तानी नहुने बिमा कम्पनीहरूले जनाएका छन् ।

प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी आउने क्रम जारी नै रहेकाले अझै बढ्ने अनुमान छ । बिमा कम्पनीहरूले करिब ३५ देखि ४० अर्ब रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरेका छन् । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले आन्दोलनमा मुलुकभर निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रबीच भएको छलफलमा अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रारम्भिक रूपमा करिब ८० अर्ब बराबरको निजी सम्पत्तिमा क्षति पुगेको र यथार्थ मूल्यांकन भइरहेको महासंघका ढकालले बताए । 

22 billion in insurance claims, the highest loss in Bagmati‘महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन रहेको छ,’ उनले भने । विशेषगरी ठूलो क्षति भएका उद्योग र साना एवं राजधानीबाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको छ । महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको पनि उनले जनाए । 

आइतबारसम्म करिब सवा २२ अर्बको दाबी परे पनि कम्पनीहरूले निकै थोरै रकमको मात्र भुक्तानी गरेका छन् । अधिकांश सम्पत्तिमा ठूलो क्षति पुगेकाले तिनको मूल्यांकन (सर्भेयरको काम) गर्ने काम चलिरहेकाले धेरै भुक्तानी नभएको बिमा प्राधिकरणको भनाइ छ ।  बिमितलाई छिटो बिमा दाबी गर्न र बिमा कम्पनीले छिटो भुक्तानी गर्न बिमक संघले आग्रह गरेको छ । ‘असहज परिस्थितिका कारण सिर्जित क्षतिको जानकारी गर्न सम्पूर्ण बिमित तथा ग्राहकलाई सम्बन्धित बिमा कम्पनीमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगजनी तथा तोडफोडमा धेरै कार्यालयमा पूर्ण क्षति पुगेको छ । केहीमा आंशिक छ । एकै पटक धेरै क्षति भएकाले बिमा कम्पनीले सबै दाबी भुक्तानी गर्न सक्छन/सक्दैनन् भन्ने चासो सबैतिर छ । यही चासोलाई ध्यानमा राखेर हालसम्म परेको बिमा दाबी, भुक्तानी प्रक्रिया, फर्छ्योटलगायत विषय छिटो र सहज तरिकाले टुंग्याउन बिमक संघको आग्रह छ । क्षतिको अवस्था हेर्दा धेरै बिमा दाबी आउने देखिन्छ । तर धेरै सरकारी संरचनाको बिमा भएको छैन । 

निजीलगायत अन्य क्षेत्रको बिमा भएकाले धेरै दाबी आउन सक्ने अनुमान छ । सवारी साधनको हकमा तेस्रो पक्ष बिमा गरेको रहेछ भने उसले भुक्तानी पाउँदैन ।अहिले बिमा पाउन सवारी साधनको पूर्ण बिमा भएको हुनुपर्छ । घर, कार्यालय र सम्पत्तिको हकमा भने बिमा पाइन्छ । हाम्रोमा सबै सम्पत्ति बिमा गर्ने प्रचलन निकै कम छ । यसकारण भएको सबै क्षतिको बिमा दाबी आउने भन्ने हुँदैन । कति रकमको बिमा भएको र त्यसमा कति क्षति भएको छ, त्यसका आधारमा बिमा पाइन्छ ।

बिमा कम्पनीले आफूले गरेको बिमाको पुनर्बिमा कम्पनीमा बिमा गरेका हुन्छन् । बिमितलाई बिमा कम्पनीले भुक्तानी दिए पनि त्यो रकम उसले पुनर्बिमा कम्पनीबाट भुक्तानी पाउँछन् । पुनर्बिमा कम्पनीले पनि अरू पुनर्बिमा कम्पनीसँग बिमा गरेका हुन्छन् । बिमा भनेको जोखिम स्थानान्तरण गर्ने व्यवसाय पनि हो । यसकारण जति धेरै दाबी भुक्तानी आए पनि बिमा कम्पनीले तिर्न सक्ने बिमा कम्पनीहरूको दाबी छ ।

बिमा प्राधिकरणले गत साता निर्देशन जारी गरेर परेका दाबी छिटो फर्छ्योट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई यसअघि नै निर्देशन दिएको छ । ‘२३ भदौदेखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully